बुढीगण्डकीको काम तत्काल अगाडि बढाउन माग

1425

सत्तारुढ नेकपाका सांसदहरुले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल अगाडि बढाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको सिंहदरबारमा मंगलबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सत्तारुढ दल नेकपाका सांसदहरुले यस्तो माग गरेका हुन् । सांसदहरुले बुढीगण्डकी जलविद्युत आयोजना निमार्णको काम चिनियाँ कम्पनीलाई जिम्मा दिने वा स्वदेशी पुँजीमा बनाउने भन्नेमा पहिले प्रष्ट हुनुपर्ने बताएका छन् । उनीहरुले राष्ट्रिय गौरबका आयोजनालाई चलखेलको विषय बनाईएका कारण निमार्णको काममा ढिलाई भएको भन्दै समितिमाफत् तत्काल अगाडि बढाउन निर्देशन दिनुपर्ने माग पनि गरेका छन् ।
सरकारले बुढीगण्डकी जलविद्युत आयोजना पुनः चिनियाँ कम्पनी सीजीजीसीलाई दिने निर्णय गरेको छ । देउवा नेतृत्वको सरकारले मंसिर ८ गते बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा नै बनाउने गरेको निर्णय उल्टाउदै केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः चिनियाँ कम्पनी सीजीजीसीलाई दिने निर्णय गरेको थियो । सरकारले यस्तो निर्णय गरेपनि बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी पुँजीमा नै बनाउनु पर्ने चौतर्फी माग आएको थियो । यसअघि, तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले समेत बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउन स्रोतको अभाव नहुने निष्कर्ष समेत निकालेको थियो । समितिले आयोजना निर्माण गर्न देशभित्र ३ खर्ब ६७ अर्ब रुपैयाँ स्रोत जुटाउन सकिने निष्कर्ष निकालेको थियो । आयोजना निमार्णको चर्चा झण्डै ३० बर्ष अघि सुरु भएको हो । तर, आयोजना चर्चाको विषय मात्रै बने पनि निमार्णको काम भने अझै सुनिश्चित हुन सकेको छैन ।

स्रोत : कारोबार