लगानीकर्तालाई निश्चित अवधि सम्म कर नलगाउने – कर्णाली प्रदेशका मूख्यमन्त्री

    1059

     कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीकर्तालाई निश्चित अवधि सम्म कर नलगाउने बताउनुभएको छ ।
    लगानीकर्ताको लगानी नउठुन्जेल सम्म कर नलगाउने गरी प्रदेश सरकारले नीति बनाउने उहाँको भनाई छ ।
    स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाले आज सुर्खेतको वीरेन्द्रनगरमा गरेको कर्णाली प्रदेशको समृद्धिका लागि जलविद्युत विषयक कार्यक्रमको उद्घाटन गर्दै मूख्यमन्त्री शाहीले लगानी कर्तालाई ढुक्कसंग लगानी गर्न आग्रह पनि गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘लगानीको सुरक्षा र नाफाको ग्यारेण्टी प्रदेश सरकारले दिन्छ, तपाईहरुले ढुक्कले लगानी गर्नुहोस ।’ठूलो स्तरको लगानी विना विकास असम्भव भएको भन्दै उहाँले लगानी मैत्री वातावरण बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    कर्णाली प्रदेश जलविद्युत विकासको हिसावले सवै भन्दा राम्रो सम्भावना वोकेको क्षेत्र भएको उल्लेख गर्दै उहाँले जलविद्युत क्षेत्रमा सामुहिक ढंगले ठूलो स्तरको लगानी आवश्यक रहेकोमा जोड दिनुभयो । विकासका लागि नीजि लगानी मैत्री वातावरण सृजना नगरीकन देश नवन्ने शाहीको भनाई थियो ।
    लगानीका लागि प्रदेश सरकारले राष्ट्रिय लगानीकर्ताहरुलाई प्राथमिकता दिने बताउदै मुख्यमन्त्री शाहीले विदेशी लगानीलाई राष्ट्रिय लगानीकर्तासंगको सहकार्यमा स्वीकार गर्ने नीति बनाईने स्पष्ट पार्नुभयो ।
    माथीबाट आउँछ भनेर पर्खने प्रवृतिले विकास नहुने भन्दै उहाँले अव त्यसको लागि आफै जुट्नुपर्नेमा जोड दिनुभयो । अरुको मुख ताक्ने प्रवृतिले गरिव हुनुपरेको भन्दै अव त्यस्तो वानीलाई त्याग्नु पर्ने उहाँले बताउनुभयो ।
    संविधानले अहिले दिएको अधिकारले कर्णालीको विकास नहुने भन्दै उहाँले कर्णालीलाई स्वायत्त प्रदेश हुनुपर्ने माग गर्नुभयो । कर्णालीको समस्या विशिष्ट प्रकृतिको रहेको भन्दै मुख्यमन्त्री शाहीले अहिलेको अधिकार विकासका लागि अप्रयाप्त छ, कर्णाली प्रदेश विशेष अधिकार दिईनुपर्ने बताउनुभयो ।
    अव वन्ने संघिय कानुनमा कर्णाली प्रदेशको लागि छुट्टै व्यवस्था हुनुपर्ने भन्दै उहाँले कर्णाली प्रदेशको लागि आवश्यक पुँजी जुटाउन प्रदेशलाई नै अधिकार दिनुपर्ने बताउनुभयो ।
    आवश्यक प्रारम्भीक पूँजी जुटाउन अधिकार मात्रै पाउने हो भने पनि ५ वर्षभित्र केन्द्रलाई पैंसा फिर्ता गर्ने सामथ्र्य राख्ने दावी गर्नुभयो ।
    अहिले लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक नभएको भन्दै मूख्यमन्त्री शाहीले नेपालमा उत्पादित सामानलाई प्राथमिकता दिएर खपत गर्नुपर्ने वताउनुभयो । नेपाली उत्पादनलाई नेपाल सरकारले नै हतोत्साहित गरेको भन्दै यसमा हुने चलखेललाई अन्त गर्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कुशकुमार जोशीले अन्य प्रदेशभन्दा कर्णाली प्रदेशमा लगानी गर्न नीजि क्षेत्रलाई लगानी गर्न सहज हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो । नाम र राजधानी तोक्न पहिलो हुनुले पनि कर्णाली प्रदेशमा लगानीका लागि राजनैतिक वातावरण अनुकुल रहेको पुष्टी हुने उहाँको भनाई छ ।

    -जागरण