भेरी–बबई डाइभर्सन आयोजना : ५ महीनामा ३५ सय मिटर सुरुङ निर्माण

    1845

    वीरेन्द्रनगर । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम तीव्र रूपले भइरहेको छ । नेपालमा पहिलोपटक प्रयोगस्वरूप भित्र्याइएको टनेल बोरिङ मेशिन (टीबीएम)मार्फत आयोजनाको काम भइरहेको छ । ५ महीनाको अवधिमा ३ हजार ५ सय मिटर सुरुङ खनिएको छ ।

    सामान्य मेशिनरी समस्याबाहेक टीबीएम मेशिनमा कुनै समस्या नभएकाले सुरुङ खन्ने काम तीव्र रूपमा भइरहेको आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर रुक्माङ्गद खनालले जानकारी दिए । सन् २०२० मार्चसम्म सम्पन्न गरिसक्नुपर्ने आयोजनाको सुरुङ निर्माण २ वर्षसम्म सकिनेछ । ‘टीबीएममार्फत दैनिक औसतमा २५ मिटर सुरुङ खन्ने काम भइरहेको छ,’ उनले भने, ‘२ वर्षमा आयोजनाको १२ किलोमिटर सुरुङ खन्ने लक्ष्य छ ।’

    आयोजनाले सुरुङका साथै भेरीको मुहानतर्फ डाइभर्सन हेडवर्क, सुरुङ वारपार ब्यारेज र बबई नदीतर्फ पावरहाउस निर्माणका आगामी आर्थिक वर्ष २०७५/७६ गर्ने गरी डिजाइन अद्यावधिक भइरहेको उनले जानकारी दिए । आयोजनाको सबै काम ५ वर्षभित्र सकिनेछ । कुल १० अर्ब ५६ करोड रुपैयाँ लागतमा सञ्चालित सुरुङ निर्माण कार्यमा केही महीनाअघि बजेट अभाव भएको थियो । तर, सरकारले राष्ट्रिय गौरवको आयोजनाका लागि थप बजेट विनियोजन गरेपछि हाललाई कुनै अवरोध नभएको खनाल बताउँछन् । सिँचाइ मन्त्रालयमार्फत निर्णय गरी अर्थ मन्त्रालयले अपुग रुकम ३ अर्ब ९६ करोड निकासा दिएको थियो ।

    आयोजना निर्माणको सम्झौता चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रूप कोभेकसँग भएको हो । आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाको ५१ हजार कृषि क्षेत्र सिञ्चित हुनेछ भने ४८ मेगावाट जलविद्युत् उत्पादन गरिनेछ । टीबीएमको सफलतासँगै आधुनिक प्रविधिको प्रयोगले नेपालका निर्माणाधीन अन्य आयोजना निर्माणमा समेत सजिलो हुने अपेक्षा सरकारको छ ।

    स्रोत:अभियान