‘नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न बंगलादेश तयार’

    1106

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि बंगलादेशी राजदूत मस्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा ऊर्जामन्त्री पुनले ऊर्जा क्षेत्रमा बंगलादेशसँग नेपाल सहकार्य गर्न तयार रहेको बताए ।

    मन्त्री पुनले सार्क फ्रेमवर्कभित्र रहेर काम गर्न नेपाल इच्छुक रहेको बताए । ‘भेटमा ऊर्जा क्षेत्रमा लगानी गर्ने उपयुक्त वातावरण रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ,’ मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले भने ।

    भेटमा राजदूत साम्सले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न बंगलादेश तयार रहेको र त्यसका लागि नेपालले आयोजना छनोट गरेर दिनुपर्ने बताइन् । ‘सरकार मात्र होइन, हाम्रो निजी क्षेत्रसमेत नेपालको जलविद्युत्मा लगानी गर्न तयार छ, तर तपाईंहरूले हामीलाई राम्रो परियोजना दिनुपर्ने हुन्छ,’ उनले भनिन् ।

    मन्त्री पुनले ठूला आयोजना छनोट गरेर मन्त्रालयको च्यानलबाट जानकारी दिने भन्दै आफ्ना समकक्षी बंगलादेशी ऊर्जामन्त्रीको नेपाल भ्रमणमा त्यसबारेमा टुंगो लगाउने गरी अघि बढ्ने प्रस्ताव राखे । साम्सले बंगलादेश नेपालको पावर सेक्टरमा सहकार्य गर्न तयार रहेको भन्दै त्यसका लागि बंगलादेशी ऊर्जामन्त्री नेपाल भ्रमणमा आउन इच्छुक रहेको बताइन् । जवाफमा मन्त्री पुनले बंगलादेशी ऊर्जामन्त्रीलाई छिटोभन्दा छिटो नेपाल भ्रमणमा आमन्त्रण गर्ने जानकारी दिए ।

    स्रोत:नयाँपत्रीका