सौर्य ऊर्जामा उपलब्धिमूलक २०१८, एकै वर्ष ५३ मेगावाट सोैर्य विद्युत्को पिपिए

1739

२०७५ पौष १८ बुधबार /काठमाडौं

नेपाल विद्युत् प्राधिकरणले सन् २०१८ मा ५३ दशमलव १४ मेगावाट सौर्य विद्युत्को खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ । प्राधिकरणले यसअघि दुई आयोजनासँग गरी १ दशमलव ६ मेगावाटको मात्र पिपिए गरेको थियो । तर, सन् २०१८ को एकै वर्षमा १० आयोजनासँग सो परिमाणको विद्युत् खरिदको सम्झौता गरेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘सन् २०१८ मा सौर्य ऊर्जाको क्षेत्र उपलब्धिमूलक वर्ष रह्यो,’ उनले भने, ‘एकै वर्ष यति ठूलो परिमाणमा अहिलेसम्म सौर्य विद्युत्को पिपिए भएकै थिएन ।’  प्राधिकरणले यसअघि ०७४ मा ९ सय ६० किलोवाट र ०६९ सालमा ६ सय ८० किलोवाट विद्युत्को पिपिए गरेको थियो । सबैगरी हालसम्म कुल ५३.१४ मेगावाट सौर्य विद्युत्को पिपिए भएको छ । अब झन्डै ३७ मेगावाटका निजी सौर्य आयोजनासँग पिपिएको तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।

एडिबीको ‘भियाबिलिटी ग्याप फन्डिङ’मा २४ मेगावाट
एसियाली विकास बैंकले ‘भियाबिलिटी ग्याप फन्डिङमा २४ मेगावाट विद्युत् खरिद गर्न ५ वटा कम्पनी छनोट गरेको छ । यी कम्पनीले प्राधिकरणलाई  सन् २०२२ जुलाई ३० सम्म प्रतियुनिट १६ रुपैयाँ ६० पैसामा विद्युत बिक्री गर्छन् । त्यसपछि भने प्रतियुनिट ६ रुपैयाँ ६० पैसा पाउनेछन् । यी बाहेक अन्य आयोजनासँग पनि सौर्य विद्युत्को पिपिए गर्ने तयारी भइरहेको प्रवक्ता अधिकारीले बताए ।

‘फ्लोटिङ सोलार’तर्फ प्राधिकरण अघि बढ्छ : प्रवक्ता अधिकारी
विश्वमा कतिपय यस्तो देश पनि छन्, जहाँ घाम लाग्दा बिदा दिइन्छ । तर, नेपाल सबैभन्दा बढी घाम लाग्ने देशमा पर्छ । त्यसो हुँदा नेपालमा सौर्य ऊर्जाको प्रशस्त सम्भावना छ । सौर्य ऊर्जाका लागि जग्गामा गरिने लगानी सबैभन्दा बढी छ । अर्कोतर्फ कृषि र अन्य प्रयोजनका लागि भूमि बचाइ राख्नुपर्ने आवश्यकता पनि छ । त्यसो हुँदा अब हामीले पानीका सतहलाई पनि सौर्य विद्युत्का लागि प्रयोग गर्न सक्छौँ । प्रयोगविहीन अवस्थामा रहेका ताल तलैयाका सतहमा ‘फ्लोटिङ सोलार प्लान्ट’ जडान गर्न सकिन्छ । जस्तोः कुलेखानीको इन्द्रसरोवरलाई हामीले सौर्य प्यानल राख्नका लागि प्रयोग गर्न सक्छौँ ।भारतलगायत विश्वका धेरै देशले अहिले फ्लोटिङ सोलर प्लान्ट सञ्चालनमा ल्याएका छन् । अब हामीले ऊर्जाका सबै सम्भाव्य स्रोतको वैज्ञानिक उपभोगमा जोड दिनुपर्ने आवश्यकता छ । यसले ऊर्जा मिश्रण र ऊर्जा सुरक्षामा हामीलाई सबल बनाउँदै लैजान्छ ।

इको पावरसँग १० मेगावाटको पिपिए
इको पावर डेभलपमेन्ट कम्पनी प्रालिसँग प्राधिकरणले सोमबार १० मेगावाट सौर्य विद्युत्को पिपिए गरेको छ । उक्त कम्पनीले ढल्केबरमा मिथिला सोलार पिभी आयोजना निर्माण गरी सो परिमाणको विद्युत् प्राधिकरणलाई बिक्री गर्ने जनाएको छ । आउँदो वैशाख १७ गतेभित्र राष्ट्रिय प्रसारणमा जोड्ने गरी प्रतियुनिट ७ रुपैयाँ ३० पैसाको दरले पिपिए भएको कम्पनीका अध्यक्ष नवीनकुमार सिंहले बताए । उनका अनुसार आयोजनामा ९६ करोड लगानी हुने छ । त्यसमध्ये २४ करोड रुपैयाँ स्वपुँजी र ७२ करोड रुपैयाँ ऋण रहनेछ ।

यस कम्पनीमा ५० प्रतिशत लगानी भारतीय लगानीकर्ता दिनेश राजपुतको नाममा रहेको छ । आयोजनाका लागि २६ बिघा जमिन साढे २७ वर्षका लागि लिजमा लिइएको हो । जमिनमा तल कृषि फार्मसमेत गर्न सकिने गरी माथिपट्टि सोलार प्यान राख्ने तयारी कम्पनीको छ । नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सब–स्टेसनबाट ४०० मिटर टाढा रहेको यो आयोजनाको विद्युत् ३३ केभी लाइनमार्फत उक्त सब–स्टेसनमा जोडिनेछ ।सम्झौतापत्रमा प्राधिकरणको व्यापार विभागका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र विद्युत् व्यापार विभागका प्रवक्ता प्रबल अधिकारीले हस्ताक्षर गरेका छन् । त्यस्तै, प्रवद्र्धकका तर्फबाट अध्यक्ष नवीनकुमार सिंह र निर्देशक दिनेश राजपुतले हस्ताक्षर गरेका छन् ।

 

 

स्रोत: नयाँपत्रीका