तीन चिनी उद्योगसँग २१ मेगावाट विद्युतकाे पिपिए साताभित्रै

    1145

    ०७६ को हिउँदमा धेरैजसो चिनी उद्योगका विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने

    नेपाल विद्युत् प्राधिकरणले ३ चिनी उद्योगसँग २१ मेगावाट विद्युत् खरिदबिक्री सम्झौता(पिपिए) यही साता गर्ने अन्तिम तयारी गरेको छ । प्राधिकरणले बाराको रिलायन्स सुगर मिल, सर्लाहीको इन्दुशंकर सुगर मिल र महोत्तरीको एभरेस्ट सुगर मिलसँग पिपिए गर्ने तयारी गरेको हो ।

    रिलायन्स र इन्दुशंकरले तीन–तीन मेगावाट र एभरेस्टले १५ मेगावाट गरी कुल २१ मेगावाट विद्युत् प्राधिकरणलाई बेच्ने तयारी गरेका छन् । यी उद्योगसँग साताभित्रै पिपिए हुने सम्भावना रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

    ‘रिलायन्सका अधिकारी बुधबार नै सम्झौता गर्न तयार थिए,’ उनले भने, ‘तर, केही प्रारम्भिक प्रक्रिया बाँकी रहेकाले बुधबार सम्भव नभए पनि सो उद्योगसहित तीन उद्योगसँग साताभित्रै पिपिए हुन सक्छ ।’

    राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकाससम्बन्धी अवधारणापत्र २०७२ ले सह–उत्पादन(बाइ–प्रडक्ट)का रूपमा चिनी मिलबाट उत्पादन हुने बिजुली खरिद गरी राष्ट्रिय प्रसारणमा जोड्ने नीति लिएको छ । सोहीअनुसार प्राधिकरणले चिनी उद्योगको विद्युत् खरिद गर्न आवश्यक सबै विधान, कार्यविधि तयार पारिसकेको छ । त्यस्तो विद्युत् किनबेचका लागि आवश्यक खरिद–बिक्री सम्झौता(पिपिए) को मस्यौदासमेत तयार गरी स्वीकृत गराइसकेको छ । मिश्रित ऊर्जा प्रणालीको विकासमा चिनी उद्योगको बिजुलीले सघाउनेसमेत प्राधिकरणको अपेक्षा छ ।

    चिनी उद्योगको बिजुलीलाई जलविद्युत्कै दर, पेनाल्टी नलाग्ने
    जलविद्युत्लाई दिएकै दरमा प्राधिकरणले चिनी उद्योगको विद्युत् किन्न लागेको हो । वर्षाका ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदका ६ महिना ८ रुपैयाँ ४० पैसाको दरमा विद्युत् किन्ने तयारी प्राधिकरणको छ । चिनी मिलको विद्युत् खरिद गर्न प्राधिकरणले तयार गरेको पिपिए मस्यौदाअनुसार एकपटकको सम्झौता २५ वर्षका लागि वैध हुनेछ । त्यस्तै, सम्झौतामा विद्युत् उपलब्ध गराउन नसके वा प्राधिकरणले किन्न नसके पेनाल्टी नलाग्ने व्यवस्था छ ।

    तर, जलविद्युत्को हकमा भने सम्झौताअनुसारको विद्युत् उपलब्ध गराउन वा किन्न नसके पेनाल्टी लाग्ने व्यवस्था छ । उद्योगीले प्राधिकरणलाई विद्युत् बेच्न प्रतिकिलोवाट ६ सय रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ । राष्ट्रिय प्रसारणमा विद्युत् जोड्न आवश्यक प्रसारण लाइन उद्योग आफैँले बनाउनुपर्ने व्यवस्था गरिएको छ ।

    बिजुलीबाट प्राप्त ५ प्रतिशत रकम उखु किसानलाई
    प्राधिकरणले चिनी उद्योगीसँग खरिद गरेको विद्युत्बापत भुक्तानी गर्नुपर्ने कुल रकममध्ये ५ प्रतिशत रकम काटेर मात्र उद्योगीलाई भुक्तानी दिनुपर्ने व्यवस्था पिपिए मस्यौदाले गरेको छ । सो ५ प्रतिशत रकम प्राधिकरणले ऊर्जा मन्त्रालयलाई पठाउने र ऊर्जाले सम्बन्धित मन्त्रालय वा निकायमार्फत उखु किसानलाई कुनै रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

    हिउँदमा बिजुली जोड्ने लक्ष्य, अन्योलमा प्रसारण लाइन
    इन्दुशंकर चिनी उद्योगले यही हिउँदमा राष्ट्रिय प्रसारणमा विद्युत् जोड्ने लक्ष्य राखेको छ । तर, चिनी उत्पादनको समय(हिउँद) सुरु हुन तीन महिना मात्र बाँकी छ । आफूलाई पायक पर्ने पावरहाउससम्म पु¥याएर विद्युत् जोड्ने जिम्मा उद्योगी स्वयंको हुने पिपिए मस्यौदामा व्यवस्था गरिएको छ ।

    तर, इन्दुशंकर चिनी उद्योगका अध्यक्ष तथा नेपाल चिनी उद्योग संघका महासचिव राजेश केडियाले प्रसारण लाइन उद्योगीले बनाउन नसक्ने बताए । ‘पैसा हामी लगानी गर्छौं, तर प्रसारण लाइन भने प्राधिकरणले नै बनाइदिनुपर्छ,’ उनले भने, ‘यो विषयमा भने अझै ठोस निर्णय भइसकेको छैन ।’ तर, अन्य उद्योगले भने यो हिउँदमा राष्ट्रिय प्रसारणमा विद्युत् जोड्न नसक्ने प्रवक्ता अधिकारी बताउँछन् ।

    ‘ब्वायलरलगायत आवश्यक उपकरण परिमार्जन गर्नुपर्ने भएकाले २०७६ को हिउँदमा मात्र धेरैजसो चिनी उद्योगले राष्ट्रिय प्रसारणमा विद्युत् दिन सक्छन्,’ उनले भने, ‘यो उद्योगले परीक्षणका रूपमा तत्काल ३ मेगावाटको पिपिए गर्न लागेको भए पनि अर्को वर्षबाट १५ मेगावाट उपलब्ध गराउन सक्छ ।’

    चिनी उद्योगले ८० मेगावाट ग्रिडमा दिन सक्ने
    देशभर १३ वटा चिनी उद्योग रहेकोमा हाल १२ वटा सञ्चालनमा रहेको संघको तथ्यांक छ । यी उद्योगले प्रतिउद्योग तीनदेखि १५ मेगावाटसम्म विद्युत् उत्पादन गर्दा तत्कालकै अवस्थामा करिब ८० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिने संघका महासचिव केडियाले बताए ।

    कसरी हुन्छ चिनी मिलबाट विद्युत् उत्पादन ?
    चिनी उद्योगहरूले उखुलाई पेलेर रस संकलन गर्छन् । र, उखु भने खोइला(बगास)का रूपमा बाहिर निस्किन्छ । रसविहीन त्यही खोइलालाई बालेर उखुको रस उमाली प्रक्रियागत रूपमा चिनी उत्पादन गरिन्छ । चिनी बनाउने प्रक्रियामा ठूला–ठूला ब्वायलर (उमाल्ने उपकरण)मा ठूलो परिमाणमा बाफ उत्पन्न हुन्छ ।

    त्यही बाफबाट टर्बाइन घुमाएर विद्युत् उत्पादन गरिन्छ । यसरी उत्पादन गरिने विद्युत्को केही प्रतिशत चिनी उद्योग आफैँले उद्योग सञ्चालनमा प्रयोग गर्छन् । बाँकी रहेको तथा व्यावसायिक रूपमा उत्पादन गरेको विद्युत् भने उनीहरूले बेच्न सक्छन् । भारतमा करिब २ सय ५० चिनी उद्योगले झन्डै ३ हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा बिक्री गरिरहेका छन् ।

    स्रोत:नयाँपत्रीका