माथिल्लो तामाकोसीको सञ्चालक बन्न १२ जना प्रतिस्पर्धामा

1255

 असार ९, २०७६

४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडमा सर्वसाधारणका तर्फबाट सञ्चालक बन्न १२ जना प्रतिस्पर्धामा उत्रिएका छन् । ४ जना सञ्चालकका लागि १२ जनाले आवेदन दिएका हुन् ।

सर्वसाधारण सेयरधनी समूह (ख) बाट सञ्चालक बन्न मनोनयन दर्ता हुने समयसम्म उक्त आवेदन परेको हो । सञ्चालकका लागि ३ महिलासहित १३ जनाले नाम दर्ता गराए पनि एक जनाबारे उजुरी परेकाले १२ जनाको मात्र सूची प्रकाशन गरिएको सहायक निर्वाचन अधिकृत सञ्जिव लामाले बताए ।

असार ११ गते हुने वार्षिक साधारणसभाबाट ४ जना सञ्चालक छनोट हुनेछन् । कम्पनीमा ८ लाख १८ हजार सेयरधनी छन् । सेयरधनी सबैले सञ्चालक छनोट गर्न मतदान गर्न पाउनेछन् । देशैभर सञ्चालक रहेकाले अधिकांशले प्रोक्सी राखेर मतदान गर्ने बताइएको छ । शनिबारसम्म सबैले प्रोक्सी बुझाएका छन् ।

उम्मेदवारले बुझाएको प्रोक्सीको छानबिन भइरहेको कम्पनी सचिव रामसुन्दर श्रेष्ठले बताए । प्रोक्सी कति सदर भयो, कति बदर भयो भन्ने बारेमा असार १० गतेसम्म सबै उम्मेदवारलाई जानकारी दिने उनले बताए । अपर तामाकोसी सबैभन्दा धेरै सेयरधनी भएको कम्पनी हो ।

कम्पनीको सञ्चालक बन्नका लागि प्रकाश भुषाल, डा. प्रदिपकुमार मैनाली, अशोक बुढाथोकी, हरिप्रसाद भुर्तेल, गोसाइँ केसी, कल्याणी रिमाल, सिर्जना सुवेदी, प्रकाश तिवारी, विश्वनाथ शर्मा, लोकेन्द्रबहादुर साउद, सुशील पोखरेल र रामहरि शर्मा प्रतिस्पर्धामा छन् । मैनाली, केसी, रिमाल र पोखरेल दोलखाबासी हुन् । त्यसैगरी विश्वनाथ शर्मा र साउद नेपाल विद्युत् प्राधिकरणका कर्मचारी हुन् । प्रोक्सी गणनापछि जसको बढी हुन्छ उसले विजयी हासिल गर्छ । तर प्रोक्सी दिन छुटेका सेयरधनीले साधारणसभाकै दिन उपस्थित भएर पनि मतदान गर्न सक्ने व्यवस्था रहेको कम्पनी सचिव श्रेष्ठले बताए ।

 

दिलबहादुर केसी

स्रोत:कारोबार