४५ मेगावाट विद्युत् उत्पादन गर्न प्रवद्र्धकलाई लाइसेन्स

    4155

    काठमाडौं, २२ असोज –

    Ministry of Energyऊर्जा मन्त्रालयले २ आयोजनाबाट ४५ मेगावाट विद्युत् उत्पादन गर्न ४ प्रवद्र्धकलाई विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ ।लाइसेन्स पाउने प्रवद्र्धकमा नेपाल विद्युत् प्राधिकरण, माथिल्लो त्रिशूली–३ बी नुवाकोट (३७ मेगावाट), रारा हाइड्रोपावरको पराजुली खोला–१ दैलेख (२ मेगावाट) छ्यान्डी हाइड्रोपावर कम्पनीको छन्दीखोला लमजुङ (१.७ मेगावाट) र लोहरे हाइड्रोपावरलाई लोहरेखोला दैलेख (२.४ मेगावाट) छन् ।

    यीमध्ये रारा, छ्यान्डी र लोहरेले विद्युत् प्राधिकरणसित विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका छन् । त्रिशूली–३ बी विद्युत् प्राधिकरण आफैंले बनाउन लागेकाले यसको पीपीए आवश्यक नपर्ने विद्युत् विकास विभागका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थले बताए । ऊर्जाले आगामी १ वर्षभित्र आयोजना निर्माणका लागि लागनी जुटाउने सर्तमा विद्युत् उत्पादन लाइसेन्स दिएको उनले जानकारी दिए ।
    त्रिशूली–३ बी आयोजनाको अनुमानित लागत ५ अर्ब रुपैयाँ लाग्ने प्राधिकरणकोे अध्ययनले देखाएको छ । यो आयोजना निर्माण सुरु भएको ३ वर्षमा सम्पन्न हुनेछ । त्रिशूली–३ ए जलविद्युत् गृहको पानी सीधै टेलेरेसबाट लगेर विद्युत् उत्पादन गरिने योजना छ ।
    यस्तै लोहरेखोलाको अनुमानित लागत ६६ करोड रुपैयाँ छ । यो आयोजना काम सुरु भएको २ वर्षमा सक्ने लक्ष्य प्रवद्र्धकले लिएको छ । यस्तै पराजुली खोला बनाउन ३५ करोड रुपैयाँ लाग्नेछ । यो आयोजना बनाउन २ वर्ष लाग्नेछ । छ्यान्डीखोला बनाउन २९ करोड रुपैयाँ लगानी आवश्यक पर्नेछ ।
    यी आयोजनासमेत गरी ऊर्जाले हालसम्म ७५ आयोजनाबाट २ हजार ३१ मेगावाट विद्युत् उत्पादन गर्न प्रवद्र्धकहरूलाई लाइसेन्स दिएको छ । कतिपय आयोजनाका प्रवद्र्धकलाई विद्युत् जडान सम्झौताका आधारमा विद्युत् उत्पादन लाइसेन्स दिएको छ । पछिल्लो समयमा विद्युत् उत्पादन लाइसेन्स लिनेको संख्या बढेको छ ।

    प्रस्तुति: कारोबर