३६ जलविद्युत् आयोजनालाई विभागले काट्यो चिट्ठी

    1060

    विभागको सूची त्रुटिपूर्ण : निजीक्षेत्र

    काठमाडौं । विद्युत् उत्पादन अनुमतिपत्र पाएका तर भौतिक प्रगति २१ प्रतिशतभन्दा कम भएको भन्दै ३६ जलविद्युत् आयोजनालाई प्रगति विवरण पेश गर्न विद्युत् विकास विभागले पत्र काटेको छ । २०७३ साउन ३० गतेभन्दा अघि अनुमतिपत्र पाएका उक्त आयोजनाहरूको प्रगति मूल्याङ्कन गर्ने उद्देश्यले विभागले पत्र काटेको हो ।

    विद्युत् नियमावली २०५० मा जलविद्युत् उत्पादन अनुमतिपत्र जारी भएको १ वर्षभित्र भौतिक रूपमा कार्य शुरू गरी सोको जानकारी विभागलाई दिनुपर्ने उल्लेख गरिएको छ । साथै निर्माण कार्य शुरू भएपछि सम्पन्न नभएसम्म प्रत्येक ६ महीनामा कार्य प्रगति विवरण बुझाउनुपर्ने पनि नियमावलीमा भनिएको छ ।

    विभागको सूचीमा परेका सबै आयोजनाको कार्यप्रगति उल्लेख गरिएअनुसारचाहिँ छैन । कतिपय आयोजनाको त्योभन्दा निकै प्रगति भइसकेको छ । तर, विभागले यस्ता आयोजनालाई पनि चिट्ठी काटेको छ । आपूmहरूले नियमित रूपमा अद्यावधिक गराउँदागराउँदै पनि चिट्ठी काटिएको सोलु हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक आशिष गर्ग बताउँछन् । कम्पनीले सोलुखुम्बुमा लोअर सोलु जलविद्युत् आयोजना (८२ मेवा) निर्माण गरिरहेको छ । विभागको विवरणमा १० प्रतिशत प्रगति देखिएको उक्त आयोजनाको हालको प्रगति करीब ६५ प्रतिशत रहेको छ । चिट्ठी काट्नमा विभागले त्रुटि गरेको गर्गको भनाइ छ ।

    ‘हाम्रो आयोजना निर्माणको अवस्था ६२ प्रतिशत रहेका बेला विभागबाट चिट्ठी आयो,’ उनले भने, नियमित रूपमा अद्यावधिक गराउँदा गराउँदै पनि किन चिट्ठी आयो फलोअप गरेर तत्कालीन प्रगति विवरण समेत बुझाइसकेका छौं ।’

    प्रशासनिक प्रक्रियामा नियमितता रहेका यस्ता अरू पनि केही कम्पनीका आयोजनाहरू विवरण माग गरिएको सूचीमा परेका छन् ।

    प्रगति विवरण मागपछि पनि विवरण प्राप्त नभएका आयोजनाका हकमा कारबाही अघि बढ्ने विभागकी प्रवक्ता निशा रिजालले जानकारी दिइन् ।

    स्रोत : अभियान