हेवा खोला ‘ए’ को विद्युतगृह उद्घाटन

    3005

    फाल्गुन ६, २०७३- नवनिर्मित १५ मेगावाट क्षमताको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाको विद्युत्गृह उद्घाटन भएको छ । पाँचथर पावर कम्पनीले बनाएको जलविद्युत् विद्युत्गृहको बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् ।

    कम्पनीले २ अर्ब ६० करोड रुपैयाँ लगानीमा उक्त जलविद्युत् निर्माण गर्न लागेको हो । ऊर्जामन्त्री जनार्दन शर्माले झापादेखि इलाम, पाँचथर हुँदै अमरपुरसम्म निर्माणाधीन १३२ केभी काबेली करिडोर आयोजना आगामी असारभित्र निर्माण पूरा गर्न ठेकेदार जग्वर एन्ड एस्तर कम्पनी र विद्युत् प्राधिकरण काबेली करिडोर आयोजनालाई निर्देशन दिएका छन् ।

    पाँचथरमा २१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजना, ३७ मेगावाटको काबेली ए जलविद्युत् आयोजना र २५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजना, १० मेगावाटको राइराङ हाइड्रोपावरलगायत १२० मेगावाटको विद्युत् आयोजना सञ्चालनमा रहेकाले काबेली करिडोर आयोजना पूरा गर्न सरकारले प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।

    ‘विद्युत् शक्ति नै हाम्रो समृद्धि’
    जलविद्युत् उद्घाटन गर्न आएका प्रधानमन्त्री दाहालले प्रकृतिले दिएको उपहार जलस्रोत नेपालको समृद्धिको माध्यम भएको बताएका छन् । उनले देशभर खेर गइरहेको जलस्रोतबाट विद्युत् उत्पादन गरेर मुलुकलाई ऊर्जा संकटमुक्त गर्ने सरकारको योजना रहेको जनाए । प्रधानमन्त्री दाहालले बगेर खेर गइरहेका नदी र सानाठूला खोलानालाबाट जलविद्युत् आयोजना सञ्चालन गरी युवाहरूलाई रोजगारी सिर्जना गर्ने रणनीति तयार गर्न लागेको बताए । ‘मुलुकको विकासको प्रमुख आधार नै विद्युत् शक्ति हो, सरकारले ऋण खोजेर भए पनि लगानी गर्छ,’ उनले भने, ‘सरकारले जलविद्युत् उत्पादनमा सर्वसाधारणलाई सेयर लगानी सुनिश्चित गर्छ ।’

    सरकारले ठूल्ठूला नदीहरूबाट जलाशययुक्त आयोजना सञ्चालन गर्न विस्तृत सर्वेक्षण, सम्भाव्यता अध्यायनलगायत कार्य सुरु गरिसकेको प्रधानमन्त्रीले बताए । पूर्वमा तमोर, अरुण, बुढीगण्डकी, कर्णालीलगायत ठूला नदीहरूबाट विद्युत् उत्पादन गर्न सर्वसाधारण नेपाली नागरिक र विभिन्न क्षेत्रबाट ऋण संकलन गरेर भए पनि आयोजनाहरू सञ्चालन गर्न लागेको उनले बताए । त्यसैगरी, उनले पाँचथर र तेह्रथुमको सिमाना तमोर नदीमा उच्च बाँध निर्माण गरी जलाशयुक्त जलविद्युत् आयोजना सञ्चालन गर्न ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिसकेको जानकारी दिए ।
    ऊर्जामन्त्री जनार्दन शर्माले नवनिर्मित आयोजनाले सरकारले सुरु गरेको उज्यालो नेपाल अभियानमा टेवा पुगेको बताए । उज्यालो नेपाल अभियान सफल पार्न ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा अघि सारेको जनाए ।

    सानिमा बैंकको नेतृत्वमा ११ वटा बैंकले १ अर्ब ८० करोड रुपैयाँ ऋण र उत्पादकको ८० करोड गरी २ अर्ब ६० करोड रुपैयाँ लगानी रहेको कम्पनीका प्रबन्ध निर्देशक पुष्पज्योति ढुंगानाले बताए । कम्पनीले मंसिर २२ मा विद्युत् प्राधिकरणलाई विद्युत् बिक्री गरी सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । काबेली करिडोर आयोजना पूरा नभए उत्पादित विद्युत् खेर जाने र विद्युत् प्राधिकरणले घाटा बेहोनुपर्नेछ । कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृत पाएपछि सर्वसाधारणका निम्ति २५ प्रतिशत सेयर खुलाउने तयारी भइरहेको अध्यक्ष उमेश श्रेष्ठले जनाए ।

    स्रोत: कान्तिपुर दैनिक