‘सुपर सिक्स’ आयोजना पीपीएको पर्खाइमै ३ वर्ष

    3158

    साउन ९, काठमाडौं ।

    NEA_Bulding ‘सुपर सिक्स’को नामबाट परिचित ६ जलविद्युत् आयोजना विगत ३ वर्षदेखि विद्युत् खरीद सम्झौता (पीपीए) को पर्खाइमा रहेका छन् । सरकारी उदासीनताका कारण ती आयोजनाहरूको पीपीए हुन नसकेको एक प्रवद्र्धकले अभियानलाई बताए । उनले भने, ‘आयोजनाबाट विद्युत् उत्पादन गर्ने निर्धारित समय नजीक आइसक्दा पनि पीपीए हुन सकेको छैन । ’ती आयोजनाहरूबाट कुल २ सय १० दशमलव ५ मेगावाट विद्युत् २०७१ सालको अन्त्य वा २०७२ सालको शुरूसम्ममा उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।

    तर, पीपीए नभएकै कारण ती आयोजनाको भौतिक निर्माण कार्य अघि बढ्न नसकेको सम्बद्ध आयोजनाहरूको भनाइ छ । ‘आयोजना निर्माण गरिसक्न निर्धारण गरिएको समय अत्यन्त नजीक आइसक्दा पनि पीपीए हुन सकिरहेको छैन, ’सिगटी हाइड्रो इनर्जी कम्पनीका सञ्चालक विश्वनाथ कँडेलले भने । आफूसँगै निर्माण–प्रक्रिया थालेका आयोजनाले विद्युत् उत्पादन गर्न थाले पनि सिगटी भने अझै पीपीएकै प्रतीक्षामा रहेको उनले बताए ।

    ऊर्जा मन्त्रालयको कार्यभारसमेत सम्हालेका तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुपर सिक्स आयोजनाहरूसँग पीपीए गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका थिए । साथै, तत्कालीन मन्त्रिपरिषद्ले समेत २१ दिनभित्र पीपीए गर्न निर्देशन दिएको थियो । तर, प्राधिकरणले मन्त्रिपरिषद्को निर्णयलाई समेत बेवास्ता गर्दै आएको छ । ‘पीपीएको अझै अत्तोपत्तो छैन, ’कँडेलले भने ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को टोलीले गत असार ४ गते ऊर्जासचिव विश्वप्रकाश पण्डितलाई भेटी सुपर सिक्सका आयोजनाको पीपीए तुरुन्त गर्न ध्यानाकर्षण गराएको थियो । टोलीले सचिवलाई छिटो पीपीए गर्न प्राधिकरणलाई निर्देशन दिन माग गरेको थियो । पण्डितले प्रवर्द्धकहरूसमक्ष उनीहरूलाई अन्याय भएको स्वीकार गरेका थिए । उनले पीपीए गर्न आफ्नोतर्फबाट कुनै कसर नराख्ने प्रतिबद्धता व्यक्त गरे पनि अझैसम्म ती आयोजनाहरूको पीपीए हुन सकेको छैन । नाम नबताउने शर्तमा एक उच्च पदाधिकारीले भने, ‘सुपर सिक्समध्येका दुई आयोजनाले डलरमा पीपीए गर्न माग गरेकाले पीपीए हुन नसकेको हो ।’

    ५० मेगावाटको मेवा, १४ दशमलव ९ मेगावाटको माया, २३ दशमलव ५ मेगावाटको सोलु, ८२ मेगावाटको तल्लो सोलु, १६ मेगावाटको सिगटी र २४ दशमलव १ मेगावाटको खारे सुपर सिक्सका नामबाट चिनिन्छन् । एक प्रवर्द्धकले सुपर सिक्स आयोजनाका लागि पीपीए आकाशको फलजस्तै भएको बताए । उनले पीडामिश्रित स्वरमा भने, ‘जलविद्युत् आयोजना निर्माण गर्दा हामीले भोग्नुपरेको पीडा अरूले भोग्न नपरोस् । ’जलविद्युत् आयोजनामा लगानी गरेर प्रवर्द्धकहरूले समय र रकम दुवै गुमाएको उनको भनाइ छ ।

     

    तीन आयोजनालाई उत्पादन अनुमति 

    साउन ९, काठमाडौं (अस) । ऊर्जा मन्त्रालयले तीन जलविद्युत् आयोजनालाई उत्पादन अनुमति दिएको छ । उत्पादन अनुमति पाउनेहरूमा २५ मेगावाटको कावेली बी–१, ६ दशमलव ८ मेगावाटको अपर खोराङ खोला र १८ मेगावाटको अपर सोलु खोला जलविद्युत् आयोजना भएको विद्युत् विकास विभागका सिनियर डिभिजनल इञ्जिनीयर गोकर्णराज पन्थले अभियानलाई बताए । तीन आयोजनाबाट गरी कुल ४९ दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुनेछ । यी तीन आयोजनामध्ये कावेलीको प्रवद्र्धक अरुण भ्याली हाइड्रोपावर कम्पनी, अपर सोलुको बेनी हाइड्रोपावर कम्पनी र अपर खोराङको तेह्रथुम पावर कम्पनी हुन् ।

    Source : Abhiyan