विद्युत् प्राधिकरणले उद्योग प्रतिष्ठानबाट प्रस्ताव माग्ने

    2460

    काठमाडौं, १६ असोज-

    NEA_Buldingनेपाल विद्युत् प्राधिकरणले बढी महशुल लिएर डेडिकेटेड फिडरबाट २४ सै घण्टा नियमित रुपमा विद्युत् आपूर्ति गर्न उद्योग प्रतिष्ठानबाट प्रस्ताव माग्ने तयारी गरेको छ  । आगामी कार्तिक ७ गतेलाई प्रस्ताव पेश गर्ने अन्तिम समयसीमा दिएर प्रस्ताव आव्हनको तयारी प्राधिकरणले गरको छ । डेडिकेटेड फिडर राख्न टावर, तार र ट्रान्सफर्मरको व्यवस्था उद्योगले गर्नुपर्ने छ ।  विद्युत् आपूर्ति नियमित नहुँदा उत्पादनमा भारी गिरावट आएको भन्दै उद्योगीले विद्युत् आपूर्ति नियमित गर्न माग गरेपछि प्राधिकरणले बढी महशुल लिएर चौबिसै घण्टा विद्युत् आपुर्ति गर्ने तयारी गरेको हो । प्राधिकरणले औद्योगिक, व्यापारिक र गैरऔद्योगिक क्षेत्रलाई सर्वसाधारणले प्रयोग गर्ने भन्दा बेग्लै डेडिकेटेड फिडरबाट विद्युत् आपूर्ति गर्नेछ । केहि दिनभित्र प्रस्ताव आव्हन गर्ने प्राधिकरणले जनाएको छ ।

    बढी विद्युत् खपत गर्ने होटल, सिमेन्ट र डण्डीलगायतका अन्य औद्योगिक प्रतिष्ठानसित छलफल गर्दा उनीहरू सकरात्मक भएकाले डेडिकेटेड फिडरका लागि प्रस्ताव आव्हन गर्न लागेको प्राधिकरण योजना तथा अनुगमन विभागका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले बताए ।
    डेडिकेटेड फिडर दिएवापत उद्योग प्रतिष्ठनसित लिने महशुल आपसी समझदारीमा तय हुने बताउदै उनले भने, “ महशुलदर हालको भन्दा दोब्बर हुने छ ।” उद्योगले प्रतिष्ठानले प्रस्तावमा मागेको महशुलदर मध्ये बढी प्रस्तावलाई आधार मानेर दर निर्धारण गरिने उनले स्पष्टपारे ।
    प्राधिकरण र उद्योगीबीच महशुलमा सहमति भएपछि सो दर लिन विद्युत् महशुल निर्धारण आयोगले स्वीकृति दिने छ । डिजेल प्लान्टको भन्दा डेडिकेटेड फिडरको बिजुली सस्तो पर्ने भएकाले उद्योगीहरू सकरात्मक भएको उनको भनाई छ । “डिजेलप्लान्टबाट उत्पादन हुने बिजुलीको लागत प्रतियुनिट ३० रुपैयाँ भन्दा बढी पर्छ,” पाण्डेयले भने, “डेडिकेटेड फिडरबाट विद्युत् आपूर्ति गर्दा आधा सस्तो पर्छ त्यसैले उद्योगी सकरात्मक भएका हुन् ।”
    उनका अनुसार हाल प्राधिकरणले उद्योगसित प्रसारणलाइन क्षमता अनुसार ३ श्रेणीमा महशुल दर लिँदै आएको छ । जसअनुसार ६६ केभी वा सो भन्दा ठूलो प्रसारणलाइनबाट डेडिकेटेड फिडरमा विद्युत् आपूति गर्दा औसत महशुल प्रति युनिट ५ रुपैयाँ ८३ पैसा पर्ने गरेको छ । यसलाई दोब्बर गर्दा डेडिकेटेड फिडर राख्ने उद्योग प्रतिष्ठनले प्रति युनिट  १२ रुपैयाँ तिर्नुपर्छ ।
    हाल उद्योगहरूले प्राधिकरणलाई पिक आवरमा (बेलुका ५ देखि ११ बजेसम्म) प्रति युनिट ७ रुपैयाँ ७५ पैसा अफ पिक आवर (राती ११ देखि बिहान ५ बजेसम्म) प्रतियुनिट ३ रुपैयाँ ३० पैसा र सामान्य समय बिहान ५ देखि साँझ ५ बजेसम्म प्रतियुनिट ६ रुपैयाँ २५ पैसा महशुल लिदै आएको छ । डेडिकेटेड फिडरबाट विद्युत् आपूर्ति न्युनतम १ वर्षलाई तोकिएको छ । ३३ केभी र ११ केभीको महशुल दर भने फरक छ ।
    डेडिकेटेड फिडरबाट प्राधिकरणको आम्दानी बढ्न गई नोक्सान कम हुने उनको तर्क छ । महशुल बढी लिए पनि डिमान्ड शुल्क भने यथावत रहने भएको छ ।
    प्राधिकरणले प्रसारणलाइन क्षमताका आधारमा न्युनतम प्रतियुनिट १५ देखि २२ रुपैयाँ २० पैसासम्म महशुल प्रस्ताव गरेको छ । जसअनुसार ६६ केभी भन्दा माथिको प्रसारणलाइनबाट विद्युत् आपूर्ति हँुदा प्रतियुनिट १५ रुपैयाँ, ३३ केभी क्षमताबाट विद्युत् आपूर्ति भए औद्योगिकलाई प्रतियुनिट १६ रुपैयाँ ८० पैसा र व्यापारिकलाई २१ रुपैयाँ ६० पैसा तथा ११ केभीबाट विद्युत् आपूर्ति हुँदा औद्योगिकलाई प्रतियुनिट १७ रुपैयाँ ३० र व्यापारिकलाई प्रतियुनिट २२ रुपैयाँ २० पैसा प्रस्ताव गरेको छ । यो महशुल दरलाई प्राधिकरण सञ्चालक समितिले अनुमोदन गरिसकेको छ ।
    डेडिकेटरबाट बढी समय विद्युत् लिन चाहाने उद्योग प्रतिष्ठानलाई चालु आर्थिक वर्षमा ५६ मेगावाट विद्युत् आपूर्ति गर्ने प्राधिकरणले जनाएको छ । उसका अनुसार भारतबाट थप २६ मेगावाट आयात, हेटौडा र बिराटनगरको थर्मलप्लान्टबाट ३० गरी ५६ मेगावाट थप गरी उद्योगलाई विद्युत् आपूर्ति गर्नेछ ।
    यसका लागि सुनसरी–मोरङ करिडोरबाट १२ मेगावाट, सिमरा–बीरगञ्ज–हेटौडा–भरतपुर करिडोरबाट २५, जनकपुर–सगरमाथा करिडोरबाट ४, पोखरा क्षेत्रमा २.५, बुटबल करिडोरमा ७.५ र काठमाडौं क्षेत्रमा ५ मेगावाट विद्युत् आपूर्ति गर्ने योजना प्राधिकरणको छ ।
    उद्योग व्यापारिक प्रतिष्ठानले डेडिकेटेड फिडरबाट विद्युत् लिएमा हाल डिजेलको खपत घट्ने छ । लोडसेडिङ बढ्दै गएपछि गत वर्ष मात्रै १७ अर्ब रुपैयाँ थप डिजेल आयातमा विदेशिएको छ । यसबाहेक वार्षिक अर्बौ रुपैयाँ डिजेल जेनेरेटर आयात हुने गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याँक छ ।

    प्रस्तुति: कारोबर