लोडसेडिङ ७ घण्टामा सीमित गर्ने महत्त्वाकांक्षी योजना

    1160
    • आगामी हिउँदमा १२ देखि १५ घण्टासम्म लोडसेडिङ : विद्युत् प्राधिकरण

    ऊर्जा मन्त्रालयले आगामी हिउँदमा लोडसेडिङ ७ घन्टामा मात्र सीमित गर्ने महत्त्वाकांक्षी कार्ययोजना अघि सारेको छ ।

    मन्त्रालयले भारतबाट थप ३ सय ३५ मेगावाट बिजुली आयात गरेर हिउँदमा लोडसेडिङ ७ घण्टामा सीमित गर्ने कार्ययोजना तयार गरी यसै साता प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रस्तुत गरेको छ । मन्त्रालयले स्वदेशमै विभिन्न विद्युत् आयोजना सम्पन्न भई आगामी मंसिरभित्र १ सय मेगावाट र असारभित्र ७५ मेगावाट बिजुली थपिने कार्ययोजनामा उल्लेख छ । वर्षायाममा समेत दैनिक ६ घण्टा लोडसेडिङ गर्दै आएको मन्त्रालयको कार्ययोजना पूरा हुनेमा विद्युत् प्राधिकरणकै अधिकारीहरूले आशंका व्यक्त गरेका छन् ।

    ती अधिकारीले आगामी हिउँदमा लोडसेडिङ घटाएर ७ घण्टामा सीमित गर्ने मन्त्रालयको कार्ययोजना पूरा नहुने दाबी गरे । भारतीय नाका प्रसारण लाइनको स्तरोन्नति र अन्तरदेशीय प्रसारण लाइनको सबस्टेसनको निर्माण र विस्तारको काम लक्ष्यित समयमा नसकिने भएकाले भारतबाट आगामी हिउँद सम्ममा थप ३ सय ३५ मेगावाट बिजुली आयात गर्न नसकिने दाबी ती अधिकारीको छ ।

    ती अधिकारीका अनुसार हिउँदसम्म भारतबाट जम्मा १३५ मेगावाट मात्र थप बिजुली आयात गर्न सकिन्छ भने भोटेकोसीमा आएको बाढीले क्षतिग्रस्त ४५ मेगावाटको माथिल्लो भोटेकोसी पुनर्निर्माण हुन अझै दुई वर्ष लाग्ने स्थिति छ । त्यसैले आगामी हिउँदमा कम्तीमा दैनिक १२ देखि १५ घण्टासम्म लोडसेडिङ हुने छ । विद्युत् प्राधिकरणले अघिल्लो वर्ष हिउँदमा सरदर दैनिक १२ देखि १५ घण्टासम्म लोडसेडिङ गरेको थियो ।

    प्राधिकरणकै अधिकारीको आशंकाप्रति जिज्ञासा राख्दा ऊर्जाका उच्च पदस्थ अधिकारीले भने कार्ययोजनाअनुसार काम हुनेमा मन्त्रालय पूर्ण विश्वस्त रहेकाले आगामी हिउँदमा लोडसेडिङ ७ घण्टामा सीमित गर्न सकिने दाबी गरे । ‘आगामी चैतसम्ममा भारतबाट आयात ३ सयबाट बढाएर ६ सय मेगावाट पुर्‍याउने छौं र आन्तरिक उत्पादन हिउँदमा ४ सय मेगावाटसम्म पुग्ने छ ।

    आगामी हिउँदमा माग १४ सय मेगावाट पुग्ने र बिजुलीको आपूर्ति एक हजार मेगावाट हुने भएकाले लोडसेडिङ ७ घण्टामा सीमित गर्न सकिन्छ,’ ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्ण पन्तले कार्ययोजनाबारे जानकारी दिँदै कान्तिपुरसित भने ।

    उनका अनुसार अघिल्लो वर्ष हिउँदमा स्वदेशी उत्पादन ३ सय मेगावाट र भारतबाट आयातित ३ सय गरी ६ सय मेगावाट बिजुलीको आपूर्ति थियो । त्यतिबेला कुल माग १३ सय मेगावाटको हाराहारीमा भएकाले लोडसेडिङ दैनिक १२ देखि १५ घण्टासम्म पुगेको हो । कार्ययोजनामा ऊर्जा मन्त्रालयले स्वदेशी विभिन्न विद्युत् आयोजनाबाट आगामी मंसिरसम्ममा १ सय र असारसम्ममा ७५ मेगावाट बिजुली थपिने उल्लेख गरेको छ ।

    कार्ययोजनाअनुसार निजी क्षेत्रबाट निर्माण भइरहेका ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए, २५ मेगावाटको अपर मादी र अरू साना आयोजना सम्पन्न भई आगामी मंसिर सम्ममा एक सय मेगावाट थपिने छ । आगामी असारसम्म निजी क्षेत्रबाट प्रवद्र्धित विभिन्न साना आयोजना र प्राधिकरणबाट निर्माणाधीन ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रोसहित थप ७५ मेगावाट बिजुली उत्पादन सुरु हुने छ ।
    हाल प्राधिकरणले विद्युत् लोडसेडिङ घटाउन भारतबाट ३ सयदेखि ३ सय ३५ मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । प्राधिकरणले भारतसितका विभिन्न विद्युत् नाकाको प्रसारण लाइनको स्तरोन्नति र सबस्टेसनको निर्माण गरी आगामी हिउँदसम्ममा थप ३ सय ३५ सय मेगावाट बिजुली आयात गर्ने कार्ययोजनामा उल्लेख छ । तीन वटा विद्युत् नाका र ढल्केबर–मुजफ्फरपुर नेपाल–भारत प्रसारण लाइन हुँदै प्राधिकरणले भारतबाट आगामी हिउँदसम्ममा थप ३ सय ३५ मेगावाट आयात गर्ने छ ।

    कार्ययोजनाअनुसार कटैया–कुसैया र रक्सौल–परवानीपुर प्रसारण नाकाको स्तरोन्नति गरी मंसिरदेखि १ सय मेगावाट, टनकपुर–महेन्द्रनगर प्रसारण प्रणाली सुदृढीकरण गरी आगामी फागुनसम्ममा ३० मेगावाट, ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फ २२०/१३२ केभी र २ह्१६० एमभीए क्षमताको सबस्टेसन विस्तार कार्य सम्पन्न गरी चैत महिनासम्ममा थप ३ सय ३५ मेगावाट बिजुली भारतबाट आयात गरिने छ ।

    ऊर्जा मन्त्रालयले अबको १२ महिनाभित्र सौर्यसहित वैकल्पिक ऊर्जाबाट विद्युत् उत्पादन गरी थप ५० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसमेत अघि सारेको छ । प्राधिकरण र अन्य प्रवद्र्धकले उक्त परिमाणमा वैकल्पिक ऊर्जाबाट बिजुली उत्पादन गर्ने लक्ष्य कार्ययोजनामा राखिएको छ । कुन–कुन आयोजनाबाट ५० मेगावाट वैकल्पिक ऊर्जा उत्पादन गर्ने भन्ने कुरा कार्ययोजनामा प्रस्ट छैन । ‘१२ महिनामा वैकल्पिक ऊर्जाबाट ५० मेगावाट बिजुली उत्पादन गर्ने कार्ययोजनाको लक्ष्य हावादारीबाहेक केही होइन,’ ऊर्जा मन्त्रालयकै एक अधिकारीले भने ।

    विश्व बैंकको सहयोगमा नुवाकोटको त्रिशूली किनारामा २५ मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापना गर्ने गृहकार्य अघि बढे पनि त्यसबाट १२ महिनाभित्रै बिजुली उत्पादन सम्भव छैन । वैकल्पिक ऊर्जाबाट ५० मेगावाट बिजुली उत्पादन गर्ने थप कुनै तयारी भएको छैन ।
    स्रोत : कान्तिपुर