यो वर्ष ६ आयोजना सम्पन्न, ९७ मेगावाट बिजुली थपिँदै

    3362

    काठमाडौं । चालु आर्थिक वर्ष सुरुभएयता निजी लगानीबाट ६ जलविद्युत आयोजना सम्पन्न भई प्रणालीमा ९७ मेगावाट बिजुली थप भएको छ ।

    यसमध्ये करिव ३३ मेगावाट विजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । अन्य आयोजना परीक्षण उत्पादनका क्रममा छन् । परीक्षण उत्पादन सकिएपछि मात्र राष्ट्रिय प्रणालीमा बिजुली जोडिनेछ ।

    चालु आवमा नेपाली र चिनियाँ संयुक्त लगानीमा ५० मेगावाटको माथिल्लो मर्स्याङदी, चिनियाँ संयुक्त लगानीका अर्को २५ मेगावाटको माथिल्लो मादी ए, १५ मेगावाटको हेवाखोला, ६ मेगावाटको दरौदी र १ मेगावाटको नियाखोला आयोजना सम्पन्न भएका छन् ।

    चीनको सिनो हाइड्रो कर्पोरेशन र नेपालको सगरमाथा पावर कम्पनीको संयुक्त लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङदीको २५ मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा आइसकेको छ । यस्तै अर्को युनिटबाट परीक्षण विद्युत उत्पादन भइरहेको छ ।
    यस्तै चाइना वाटर एन्ड इलेक्ट्रक कर्पोरेशन (सीडब्ल्यूई) र नेपालको गोरखा कन्ट्रक्सन कम्पनीको साझेदारमा निर्माण भएको मादीको परीक्षण उत्पादन सुरु भएको छ । १२ दिनपछि आयोजनाबाट औपचारिक रुपमा विद्युत उत्पादन हुनेछ ।

    यस्तै नेपालको पाँचथर पावर कम्पनीले हेवाखोला आयोजना निर्माण सम्पन्न गरिसकेको छ । फिदीममा सवस्टेश निर्माण सकिएकाले केही दिनभित्र आयोजनाबाट विद्युत उत्पादन हुने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनका अनुसार हेवाबाट अर्को सातादेखि विद्युत उत्पादन सुरु हुनेछ । कालीका दरौदी जलविद्युत कम्पनीको ६ मेगावाटको दरौदी ए र नियाखोलाबाट उत्पादन भइरेको उनले जानकारी दिए ।

    मादीको काम सकिएर परीक्षण उत्पादन भएको हो । आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार उद्घाटन गर्ने कार्यक्रम छ ।

    १५ दिन परीक्षण उत्पादन सफल भएपछि औपचारिक रुपमा विद्युत उत्पादन सुरु हुने छ । अधिकारीका अनुसार हाल मादीबाट १२ देखि १५ मेगावाटसम्म बिजुली उत्पादन भइरहेको छ ।

    आयोजना कास्कीको सिन्दुजुरे र नामार्जनमा छ । भूकम्प, नाकावन्दी र बाढीले केही संरचनामा क्षति पुर्याएपछि आयोजनाको लागत बढेको छ । सीडब्ल्युईका अनुासर आयोजनाको लागत बढेर ६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । भूकम्प र नाकावन्दीका अतिरिक्त बाढीले गर्दा आयोजनाको काम ६ महिना ढिलाइ हुन गई लागत पनि बढेको आयोजनाले जनाएको छ ।  सुरुमा ५ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।

    चालु आर्थिक वर्षमा सरकारले २ सय मेगावाट विद्युत उत्पादन लक्ष्य लिएको छ । जसअनुसार आधा लक्ष्य पुरा भइसकेको छ ।

    विद्युतको माग १२४५ मेगावट 

    हाल विद्युतको माग १ हजार २४५ मेगावाट छ । भारतबाट समेत गरी कुल ८५५ मेगावाट बिजुली आपूर्ति भइरहेको छ । प्रणालीमा अझै ३९० अपुग छ । जसअनुसार भारतबाट ३०४, स्वतन्त्र ऊर्जा उत्पादकबाट २ सय र विद्युत प्राधिकरणका आयोजनाबाट ३४५ मेगावाट बिजुली उत्पादन भइरहेको अधिकारीले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा माग ३१३ मेगावाट छ । हाल उपत्यका लोडसेडिङमुक्त भएको छ भने बाहिर औसत दैनिक २ घण्टा मात्र लोडसेडिङ भइरहेको छ ।

    यस्तै काठमाडौमा प्रसारण प्रणालीलाई सुध्रिढीकरण गर्नका लागि विद्युत प्राधिकरणले चपली सवस्टेशनमा ३० एमबीएको ट्रान्सफरम जडान गरिरहेको उनले जानकारी दिए । ट्रान्सफर्मर जडान काम यो साता सकिनेछ । ट्रान्सफर्मर जडानपछि महाराजगन्ज र बालाजु सवस्टेशनमा ओभरलोड समस्या समधान हुने अधिकारीले जानकारी दिए ।

    स्रोत:बाह्रखरी