मिदिमखोला जलविद्युत् आयोजनाको निर्माण ७० % पूरा

    2683

    मिदिम करिडोरमा निर्माणाधीन ३ मेगावाट क्षमताको मिदिमखोला (करापु) जलविद्युत् आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको छ । प्रवद्र्धक कम्पनी युनियन हाइड्रोपावरले ३ मेगावाट विद्युत् उत्पादन गर्ने गरी पश्चिम लमजुङको करापु र नाल्मा गाउँको सिमानामा आयोजना सञ्चालनमा ल्याएको हो ।

    भूकम्प र नाकाबन्दीले काम प्रभावित भए पनि आयोजनाले १६ महिनाको अवधिमा ७० प्रतिशत निर्माण कार्य सकेको आयोजनाका जनसम्पर्क अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिए । “भूकम्प र नाकाबन्दीका कारण आयोजना निर्माणको कार्य निकै कष्टपूर्ण रह्यो ।” आयोजनाका जनसम्पर्क अधिकृत अधिकारीले भने, “जेनतेन भूकम्प गएका बेला पनि काम ग¥यौं तर नाकाबन्दीले निर्माण सामग्री र इन्धन अभाव हुँदा निर्माण अवधि ७ महिना लम्बिएको छ ।”

    यसअघि प्रवद्र्धक कम्पनी युनियनले छिटोमा २०७३ वैशाख १ गते र ढिलोमा ०७३ असार १ गतेसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको थियो । तर इन्धन र मजदुर अभाव भएपछि आयोजना निर्माणमा ढिलाइ भएको प्रवद्र्धक कम्पनी युनियनको दाबी छ ।

    जनसम्पर्क अधिकृत अधिकारीका अनुसार अहिलेसम्म आयोजनामा कुल ११२१.२४ मिटर भूमिगत सुरुङमध्ये ९०६.२४ मिटर सुरुङको निर्माण कार्य सकिएको छ । यस्तै बाँध क्षेत्रको ६० प्रतिशत काम सकिएको उनले बताए ।

    निर्धारित समयमै आयोजनाको निर्माण कार्य सक्ने लक्ष्यका साथ अघि बढेको प्रवद्र्धक कम्पनी युनियनले नाकाबन्दी र भुकम्पको प्रभावका कारण आयोजनाको लागत र समय समेत बढ्ने संकेत देखिएको प्रवद्र्धक कम्पनीका सञ्चालक तथा कार्यकारी अध्यक्ष किरण मल्लले बताए ।

    “आयोजनाको सुरुको लागत ५४ करोड रहे पनि समय बढ्ने निश्चित भएपछि लागत बढेर ६० करोड पुग्ने आंकलन गरेका छौं ।” अध्यक्ष मल्ल भन्छन्, “कुनै विपद् नआए आगामी माघ अन्तिम सातासम्म आयोजना निमाणको कार्य सक्नेछौं ।”

    आयोजना प्रवद्र्धक कम्पनी युनियन र विद्युत् प्राधिकरण बीच २०६७ माघ ४ गते विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो । साविकको करापु र नाल्मा गाविसको सिमानामा पर्ने लाङ्दी फेदीमा आयोजनाको बाँध बाँधी ११२१.२४ मिटर लामो भूमिगत सुरुङ ३४३.५ मिटर पेनस्टक पाइप र १५५.६ मिटर लामो कल्भर्टमार्फत ल्याइएको पानीलाई आयोजनाको विद्युत्गृह रहने स्थान करापु ९ पत्तरीमा पु¥याई विद्युत् उत्पादन गरिने कम्पनीले जनाएको छ ।

    आयोजनाको मुख्य प्रभावित क्षेत्र नेटा, करापु, नाल्मा, ईशानेश्वर, भोर्लेटार, बाँग्रे र सिन्दुरेलगायतका स्थानमा सचेतनामूलक कार्यक्रम तथा सडक मर्मतलगायतका कामहरू भइरहेको जनसम्पर्क अधिकृत अधिकारीको भनाइ छ । प्रवद्र्धकले स्थानीयको जनसहभागिता बढाउन प्रभावित गाविसका लागि १० प्रतिशत सेयरसमेत वितरण गरेको छ ।

    पानीको बहावमा आधारित स्वदेशी लगानीको यो आयोजना र विद्युत् प्राधिकरणबीच सुख्खायाममा ८ रुपंैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरी पीपीए सम्झौता भएको हो ।

    स्रोत : कारोबार