माथिल्लो मर्स्याङ्गदी ‘ए’ को ५० मेगावाट थपियो

    1667

    पुस १९, २०७३- निर्माण सुरु गरेको चार वर्षमा माथिल्लो मर्स्याङ्गदी ‘ए’ जलविद्युत् आयोजनाले आइतबारबाट व्यावसायिक उत्पादन थालेको छ । आयोजनाको ५० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा थपिएको हो ।

    सिनोहाइड्रो–सगरमाथा पावर कम्पनी प्रालिले सन् २०१३ को जनवरीदेखि निर्माण सुरु गरेको आयोजनाले युनिट २ बाट व्यावसायिक उत्पादन सुरु गरेको हो । व्यावसायिक उत्पादन मिति तय गरेर नियमित उत्पादन थालिएको आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले बताए । उनका अनुसार युनिट २ बाट उत्पादन सुरु गरिएको ९ दिनमा प्राधिकरणको मिटरिङ युनिटमा विद्युत् चढेको छ । आयोजनाले प्राधिकरणलाई एक साता नि:शुल्क विद्युत् प्रदान गरेको हो । युनिट १ ले कात्तिक २३ देखि व्यावसायिक उत्पादन थालेको थियो । ‘हामीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् प्राधिकरणले लिएको छ,’ उनले भने । उनका अनुसार प्राधिकरणले आयोजनासँग वार्षिक ३ सय १७ गिगावाट विद्युत् किन्ने सम्झौता गरेको छ । आयोजनामा २५/२५ मेगावाटका दुई टर्बाइन छन् । यो आयोजना नेपालमा बनेकामध्ये कम समयमा सम्पन्नमध्येको एक हो ।

    रन अफ रिभर प्रकृतिको आयोजनाबाट अहिले ३० देखि ४० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । नदीमा पानीको बहाव कम भएकाले विद्युत् उत्पादन कम भएको अधिकारीले बताए । ‘आउँदो असार–साउनदेखि हामी पूरै क्षमता (५० मेवा) मा विद्युत् दिन सक्छौं,’ उनले भने । माथिल्लो मर्स्याङ्गदी ‘ए’ आयोजनाको गत असोज १० मा काठमाडौं र आयोजनास्थलमा उद्घाटन गरिएको थियो ।

    स्रोत:कान्तिपुर