माथिल्लो कर्णालीले मुआब्जा दिन थाल्यो

    1312

    अछाम भैरवस्थानका ५ घरधुरीले २० कित्ता जग्गाको ४ करोड २६ लाख मुआब्जा पाए
    आश्विन २३, २०७४-माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण सुरु गरेको छ । आयोजनाले अछाम भैरवस्थानका ५ घरधुरीको २० कित्ता जग्गाको ४ करोड २६ लाख रुपैयाँ मुआब्जा वितरण गरेको हो ।

    विकासकर्ता कम्पनी जीएमआरका फिल्ड साइट कार्यालय प्रमुख केके शर्माले ४ करोड २६ लाख रुपैयाँ वितरण गरिसकेको जनाए । मुआब्जा पाएसँगै स्थानीयवासी आयोजनाको निर्माणप्रति आशावादी देखिएका छन् ।

    जीएमआरले पहिलो किस्तास्वरूप अछाम भैरवस्थानका ५ घरधुरीको २० कित्ता जग्गाको मुआब्जा वितरण गरेको जनाएको छ । ३ सय २२ हेक्टर क्षेत्रफल ओगट्ने आयोजनाले आवश्यक जग्गा अझैं नपाएको जनाएको छ । मुआब्जा वितरणसँगै निर्माणको काम अघि बढ्ने फिल्ड प्रमुख शर्माले बताए । लामो समयपछि मुआब्जा पाउँदा प्रभावित क्षेत्रका बासिन्दा खुसी भएका छन् ।

    मुआब्जा पाएपछि उनीहरूले आयोजना निर्माणका लागि सहयोग गर्ने जनाएका छन् । ‘आयोजनालाई सकारात्मक सहयोग गर्छौं,’ दैलेख रामघाटका जीवन थापाले भने । मुआब्जा रकम दुरुपयोग हुन नदिन माथिल्लो कर्णाली सरोकार समितिले मुआब्जाका लागि जग्गाधनी पति र पत्नीको संयुक्त खाता सञ्चालन गरेको छ । मुआब्जा रकमले तराई र सहरी क्षेत्रका जग्गामा लगानी गर्ने प्रभावित क्षेत्रका बासिन्दाको भनाइ छ । लामो समय निर्माण प्रक्रियामै विवाद भएकाले आयोजनाको काम छिटो अगाडि बढाउन स्थानीयले आग्रह गरेका छन् ।

    अछाम भैरवस्थानका बमबहादुर बीसीले जीएमआरको कार्य प्रगति निकै सुस्त हुँदा आशंका जन्मिएको बताए । ‘जीएमआरले हालसम्म लगानी जुटाउन नसकेको चर्चा छ,’ उनले भने, ‘मुआब्जा दिएको बहानामा ढिला गरेर हुँदैन । छिटो आयोजना निर्माणतर्फ लाग्नुपर्छ ।’

    विकासकर्ता कम्पनीले भने आयोजनाको कामलाई तीव्रता दिइने जनाएको छ । ‘आयोजनाप्रति अनावश्यक आशंका गरिएको छ । हामी होल्ड गर्ने मनसायले कर्णालीमा लगानी खेर फालेका छैनौं,’ शर्माले भने, ‘सरकारी पक्षबाट पनि ढिला भयो । अब एक वर्षभित्र लगानी जुटाएर आयोजना निर्माणको प्रक्रिया अगाडि बढाउँछौं ।’

    स्रोत:कान्तिपुर