‘भारतले बिजुली किन्न चाहँदैन’

    915

    फाल्गुन ५, २०७३- भारतले आफूलाई नेपाली जलविद्युत् खरिदकर्ताभन्दा पनि नेपाललाई ऊर्जा बिक्री गर्ने बजारको रूपमा मात्र हेरिरहेको ऊर्जा क्षेत्रका विज्ञहरूले बताएका छन् ।

    राजधानीमा बुधबार आयोजित ‘जल तथा ऊर्जा सहयोगमा पुनर्विचार’ विषयक कार्यक्रममा बोल्दै उनीहरूले भारतले नेपालको जलविद्युत् किन्ने मनसाय अहिलेसम्म नदेखिएको बताएका हुन् । साउथ Sएसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारोन्मेन्ट (सावती) र इन्स्टिच्युट फर सोसियल एन्ड इन्भारोन्मेन्टल ट्रान्जिसन (आइसेट) ले गरेको कार्यक्रममा बोल्दै उनीहरूले भारतले नेपालबाट विद्युत् किन्ने खालको प्रणाली विकास गर्नै नचाहेको बताएका हुन् ।

    नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक शेरसिंह भाटले भारतले बेलायती उपनिवेशकालीन नीतिलाई नै नेपालसँगको जलस्रोत नीतिका रूपमा पछ्याइरहेको देखिएको बताए । उनले भारतले नेपाललाई बजारको रूपमा मात्र हेरिरहेकाले हामीले बिजुली बेचेर धनी हुन्छौं भन्ने अवस्था नरहेको दाबी गरे ।

    ‘भारतले सीमा क्षेत्रमा बाँधहरू बनाउने र त्यहाँ रहेको पानीको मात्रा पनि नघट्ने खालको सम्झौतामा जोड दिइरहेको छ,’ उनले भने, ‘यो बेलायत भारतमा हुँदैदेखिको नीति हो, त्यसमा हामी सम्झौता गर्दै गइरहेका छौं ।’

    सीमा क्षेत्रमा पूर्वाधार बनाउने, त्यसका लागि नेपालको भूगोल प्रयोग गर्ने र त्यहाँ आउने पानीलाई आधार मानेर त्यसमा कमी गर्न नमिल्ने सम्झौता गरेपछि नेपालले माथिल्लो भागमा समेत सिँचाइलगायत पानी प्रयोग गर्न सक्ने अवस्था नरहेको भाटले बताए । ‘भारतले पानी चाहे पनि बिजुली चाहेको छैन भन्ने नै विभिन्न सम्झौताका क्रममा भएका छलफलमा देखिन्छ,’ उनले भने, ‘उनीहरूले अन्य माध्यमबाट निकालेको बिजुली नेपाललाई बेच्न भने चाहेका छन् र बेचिरहेका पनि छन्, हामी भारतमै निर्भर हुँदै गएका छौं ।’

    भाटले नेपालले अन्तर निकाय समन्वय नगरी जलविद्युत्का लागि अनुमतिपत्र दिँदा भविष्यमा ठूलो समस्या आउन सक्ने देखिएको बताए । ‘मेलम्चीको पानीले काठमाडौंका लागि खानेपानी पुग्दैन, भविष्यमा नजिकको स्रोत भनेको त्रिशूली हो तर हामीले वेत्रावतीदेखि तल ६ वटा जलविद्युत् लाइसेन्स दिइसक्यौं, भविष्यमा खानेपानी ल्याउनुपर्‍यो भने कसरी ल्याउने ?’

    कार्यक्रममा बोल्दै आइसेटका कार्यकारी निर्देशक अजय दीक्षितले नेपालले ठूला नदीका बारे कुरा गरे पनि साना नदीलाई बेवास्ता गरेको बताए । ‘हामी जहिले पनि हिमालय क्षेत्रबाट उत्पत्ति भएका नदीको मात्र चर्चा गर्छौं,’ उनले भने, ‘महाभारत र चुरेबाट उत्पत्ति भएका नदीबारे चासो नहुँदा धेरै समस्या उजागर हुन सकेका छैनन् ।’ नेपालले बिजुली बेचेर मात्र कामाउने सपनाको साटो समग्रमा पानीको व्यवस्थापनतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

    सावतीका अध्यक्ष पोषराज पाण्डेले जलविद्युत् र ऊर्जाका विषयमा नेपाल हुनुपर्ने जति संवेदनशील बन्न नसकेको बताए । उनले भारतबाट विद्युत् आयात बढाएर व्यापार घाटा अझै चुलिने भएकाले नेपालले जलविद्युत् विकासमा लाग्नुपर्नेमा जोड दिए ।

    स्रोत:कान्तिपुर