प्राधिकरणद्वारा विद्युत् आयोजना डिजाइन परिवर्तनको तयारी

    2462

    ” ‘क्यू ६५’ मा डिजाइन भएका आयोजनासँग मात्र पीपीए 

    NEA_Buldingकाठमाडौं, १३ चैत – नेपाल विद्युत् प्राधिकरणले ‘क्यू ६५’ मा डिजाइन हुने जलविद्युत् आयोजनाका लगानीकर्तासँग मात्र विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ ।
    प्राधिकरणको विद्युत् व्यापार विभागले जलविद्युत् आयोजना प्रारूपमा परिवर्तन गरी हाल क्यू ४० बाट क्यू ६५ कायम गर्न लागेको हो ।  २०६५ सालमा लगानीकर्ताको अनुरोधमा प्राधिकरणले क्यू ६५ बाट घटाएर क्यू ४० मा  डिजाइन भएका जलविद्युत् आयोजनाका लगानीकर्तासँग पीपीए गर्ने निर्णय गरेको थियो ।
    ‘क्यू ४०’ मा डिजाइन भएको आयोजना वर्षमा ३ सय ६५ दिनमा ४० प्रतिशत अर्थात् १ सय ४६ दिन मात्र पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने र बाँकी समय उत्पादन क्रमशः घटेर २५ प्रतिशतसम्म हुने गरेको छ । ‘क्यू ६५’ मा डिजाइन भएका आयोजनाले भने वर्षको साढे छ महिना अर्थात् २ सय ३७ दिन पूर्ण क्षमतामा सञ्चालन हुन्छ ।  यस अनुसार क्यू ४० मा डिजाइन भएका आयोजनाले वर्षादको चार महिना मात्र पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्छ भने क्यू ६५ ले झन्डै सात महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ ।
    यसका लागि प्राधिकरणले आन्तरिक गृहकार्य गरेको छ । विद्युत् व्यापार विभागले आयोजनाको डिजाइन परिवर्तन प्रतिवेन तयार गरी सञ्चालक समितिसँग सहमति मागेको प्राधिकरण स्रोतले बतायो । स्रोतका अनुसार सुख्खा र वर्षातमा हुने विद्युत् उत्पादनमा धेरै अन्तर आएपछि सुख्खायमलाई जोड दिन डिजाइनमा परिवर्तन गरी क्यू ६५ मा बन्ने आयोजनाका लगानीकर्तासँग पीपीए गर्न लागेको स्रोतको भनाइ छ ।
    आयोजनाको मोडल परिवर्तनको आन्तरिक तयारी भएको स्वीकार गर्दै विद्युत् प्राधिकरण प्रसारण तथा प्रणाली सञ्चालन विभागका महाप्रबन्धक राजेश्वरमान सुल्पियाले यस विषयमा निर्णय भने नभएको जानकारी दिए ।
    आगामी पाँच वर्षपछि सुख्खायाममा आयोजनाबाट विद्युत् उत्पादन धेरै घटेर लोडसेडिङ हुने  र वर्षामा अर्बौं रुपैयाँको बिजुली खेर जाने भएपछि यस्तै रणनीति तयार गरिएको स्रोतको भनाइ छ । स्रोतका अनुसार प्रणाली सञ्चालनलाई सन्तुलनमा ल्याउन आयोजनाको डिजाइन परिवर्तन अवश्यक भएको छ ।
    पाँच वर्षअघि प्राधिकरणले क्यू ४० सम्मको प्रारूपमा निर्माण हुने आयोजनाका लगानीकर्तासँग पीपीएको निर्णय गरेपछि धेरै आयोजना क्यू ४० डिजाइन भएका छन् । त्यही अनुसार विद्युत् प्राधिकरणले लगानीकर्तासँग पीपीए गर्दै आएको छ ।
    पीपीए भएका सबै विद्युत् आयोजना निर्माण सम्पन्न भए आगामी पाँच वर्षपछि वर्षाको चार महिनामा दैनिक २ करोड युनिट बिजुली खेर गई वार्षिक २० अर्ब रुपैयाँ आम्दानी गुमाउने र हिउँदमा लोडसेडिङ ज्यूँका त्यूँ रहने विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको छ ।
    हालसम्म विद्युत् प्राधिकरणले हालसम्म १ हजार ७ सय ९३ मेगावाट क्षमताका १ सय ३५ आयोजनाका लगानीकर्तासँग पीपीए गरेको छ । यसमा प्राधिकरण आफैंले बनाउने आयोजना समवेश गरिएको छैन । अझै केही ठूला र साना आयोजनाले पीपीएका लागि प्राधिकरणमा निवेदन दिएका छन् ।

    प्रस्तुति: कारोबार