जिन्दल पावरको सेती चैनपुर आयोजना लाइसेन्स खारेज

    2223

    jindal power logoकाठमाडौं, १४ चैत – बढेको सर्वेक्षण शुल्क र अध्यययन प्रगति विवरण नबुझाएपछि भारतको जिन्दल पावर लिमिटेडको नाममा रहेको चैनपुरसेती (४ सय ५४ मेगावाट) जलविद्युत् आयोजनाको लाइसेन्स सरकारले खारेज गरेको छ ।
    विद्यत् विकास विभागले सर्वेक्षण नवीकरण दस्तुर बुझाउन र आयोजनाको प्रगति विवरण दिन पत्राचार गरेको लामो समय बितिसक्दा पनि सम्पर्कमा नआएपछि जिन्दलको लाइसेन्स खारेज गरेको विभागका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्तले बताए । उनका अनुसार आयोजना दुर्गम क्षेत्रमा रहेको र प्रसारणलाइनलगायत कारणले सम्भाव्य नदेखेपछि जिन्दल सम्पर्कमा आएको हुन सक्ने उनको अनुमान छ ।
    पछिल्लो समयमा सरकारले सर्वेक्षण लाइसेन्स शुल्कमा भारी वृद्धि गरेपछि धेरै आयोजनाले नवीकरण शुल्क बुझाउन नसकेर खारेज हुने अवस्थामा पुगेका छन् । हालसम्म विभागले १ हजार ९ सय २२ मेगावाट क्षमताका ८२ आयोजनाका लाइसेन्स खारेज गरी बास्केटमा राखेको छ । बास्केटमा राखिएका आयोजना सरकारले प्रतिश्पर्धा वा अन्य तरिकाले अन्य कम्पनीलाई उपलब्ध गराउने व्यवस्था छ ।
    ऊर्जाले गत असोजको दोस्रो साता विद्युत् नियमावली संशोधन गरी विद्युत् उत्पादन सर्वेक्षण लाइसेन्स तथा त्यसको नवीकरण दस्तुर २० प्रतिशतभन्दा बढीले वृद्धि गरेको छ ।
    सरकारले उत्पादन सर्वेक्षणका साथै प्रसारण, वितरण अनुमतिपत्रमा क्षमताअनुसार १० देखि ६० लाखसम्म वृद्धि गरेको छ । यसअघि २०६६ असार २३ मा तेस्रो पटक लाइसेन्स दस्तुर संशोधन गरिएको थियो ।
    समयमा प्रगति विवरण नबुझाउने, लाइसेन्स शुल्क तिर्न नसक्ने, समयमा आयोजनको अध्ययन प्रतिवेदन नबुझाउने, विद्युत् जडान सम्झौता, विद्युत् खरिद सम्झौता (पीपीए) र वित्तीय व्यवस्थापनको दरिलो प्रमाण पेस गर्न नसक्ने कम्पनीको लाइसेन्स खारेज हुने गरेको छ । विद्युत् ऐन २०४९ अनुसार सर्वेक्षण लाइसेन्स अवधि बढीमा पाँच वर्ष बहाल रहने व्यवस्था छ ।
    हालसम्म मन्त्रालयबाट साढे १६ हजार मेगावाट बढी विद्युत् उत्पादनका लागि सर्वेक्षण लाइसेन्स जारी भइसकेको छ । यसको १० प्रतिशतमात्र आयोजना बनेको भए पनि जडित क्षमता १ हजार ६ सय मेगावाट पुगी देश लोडसेडिङमुक्त हुन्थ्यो ।

    प्रस्तुति: कारोबार