नौमुरे जलविद्युत आयोजना निर्माण अघि बढाइने

    3191

    अर्घाखाँची: दुई सय ५० मेगावाट क्षमताको नौमुरे जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाइने भएको छ ।

    भारतले सित्तैमा बनाइदिने भनेको लामो समय बितिसक्दा पनि निर्माण प्रक्रिया अघि नबढेपछि सरकार आफैँले यसको निर्माणमा चासो देखाएको हो ।

    पञ्चायती शासनकै बेला २०४४ सालमा सर्वेक्षण गरेर निर्माण थालेपछि अलपत्र परेको आयोजना अब छिट्टै सञ्चालनको तयारीमा सरकार जुटेको ऊर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले बताएका हुन् ।

    बिहीवार अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा नेपाल प्रेस सेन्टरको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले देशलाई लोडसेडिङमुक्त गर्न सरकार जुटिरहेकाले नौमुरेलाई पनि अघि बढाउने बताएका हुन् ।

    ‘नेपालकै नमुना आयोजनाकारुपमा रहने नौमुरे जलविद्युत् आयोजना छिट्टै सञ्चालन ल्याउने गरी काम अघि बढिसकेको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘पश्चिमको सेती, नरसिङघाट, सल्यानको शारदा, उत्तरगंगा, अरुण-तमोर र बुढिगण्डकी लगातका परियोजना पनि निर्माण अघि बढाउन सरकारले द्रुत गतिमा काम थालिसकेको छ ।’

    प्यूठान र अर्घाखाँचीको सिमानास्थित अर्घाखाँचीको जलुके-२ मा पर्ने यो परियोजना नेपालकै सबैभन्दा सस्तो हुनेछ ।

    नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारका बेला नौमुरे परियोजना प्रस्ताव गरिएको थियो । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पहिलो पटक प्रधानमन्त्री हुँदा भारतले यसलाई उपहारस्वरुप बनाइदिने आश्वासन दिएपनि अहिलेसम्म कुनै काम नभएपछि सरकारले निर्माण अघि बढाउने भएको हो ।

    फरक प्रसङ्गमा मन्त्री शर्माले स्थानीय चुनावको मिति तोक्न एमालेसँग सहमति भएरै संसदमा टेबुल गरिएको बताए । चुनावको मिति सबै दलको सहमतिमा तोकिने पनि उनले प्रस्ट पारे ।

    स्रोत:कारोबार