निजी क्षेत्रबाट हालसम्मकै बढी जलविद्युत्

    1094

    काठमाडौः निजी क्षेत्रले यस वर्ष सबैभन्दा बढी जलविद्युत्् उत्पादन गरेको छ । विद्युत् ऐन २०४९ ले जलविद्युत् निर्माणमा निजी क्षेत्रलाई ढोका खुल्ला गरेपछि २०७३ मा हालसम्मकै सबैभन्दा बढी १ सय १५ मेगावाट विद्युत् उत्पादन भएको हो ।

    यस वर्षको साढे नौ महिनाभित्रै निजी क्षेत्रले उत्पादन गरेको विद्युत् विगतका वर्षहरूमा भन्दा हालसम्मकै सबैभन्दा बढी हो । विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले यो वर्ष हालसम्म १ सय १५ मेगावाट निजी क्षेत्रका प्रवद्र्धकहरूले जलविद्युत् उत्पादन गरेको र यो वार्षिक रुपमा हेर्दा सबैभन्दा बढी भएको बताए ।

    “निजी क्षेत्रले खिम्ती र भोटेकोसीपछि वर्षकै हिसाबले हेर्ने हो भने यो वर्षको उत्पादन सबैभन्दा बढी हो,” उनले भने, “चालू वर्षभित्र अझै थप ४५ मेगावाट थप विद्युत् उत्पादन हुनेछ ।” प्राधिकरणका अनुसार हालसम्म ४ सय ३० मेगावाट उत्पादन गरेको निजी क्षेत्रले यसअघि २०५७ मा १ सय ५ मेगावाट विद्युत् उत्पादन गरेको थियो ।

    विदेशी लगानीसमेत गरी वि.सं. २०५७ मा ६० मेगावाटको खिम्ती खोला र ४५ मेगावाटको भोटेकोसी निर्माण भएको थियो । त्यसपछि उल्लेखनीय विद्युत् उत्पादन गर्न नसकेको विद्युत् प्राधिकरणले यसवर्ष धेरै उत्पादन गर्न सफल भएको हो ।

    अघिल्लो वर्ष ३१ मेगावाट मात्र उत्पादन भएको थियो भने यो वर्ष १० आयोजनाको निर्माण पूरा भइसकेको छ । यो वर्ष ५० मेगावाटको अपर मस्र्याङ्दी ए, २५ मेगावाटको मादी लगायतका १० आयोजना निर्माण सम्पन्न भएका छन् ।

    विद्युत् प्राधिकरणले २०६५ पछि एउटा पनि आयोजना निर्माण सम्पन्न गरेको छैन । हाल प्राधिकरणले ३० मेगावाटको चमेलिया, ६० मेगावाटको त्रिशुली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलाशययुक्त आयोजना निर्माण गरिरहेको छ ।

    तीनवटै आयोजनाको लागत र समय दोब्बर हुन लागिसकेको छ । सरकारले सुरु गरेका आयोजनाहरू समयमै निर्माण सम्पन्न हुन नसकेको बेला कठिन परिस्थितिका अवस्थामा पनि निजी क्षेत्रले जलविद्युत् आयोजनाहरू निर्माण गरिरहेको स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईले बताए ।

    “विभिन्न बाधा ब्यवधानका अवस्थामा पनि निजी क्षेत्रले यो वर्ष उल्लेखनीय जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न गरेको छ,” उनले भने, “सरकारले घोषणा  र निर्णय गरेको सहुलियत मात्र दिने हो भने पनि धेरै उत्पादन थपिने अवस्था छ ।”

    उनका अनुसार आगामी वर्ष करिब दुई सय मेगावाट विद्युत् उत्पादन थप हुने अवस्था छ । हाल निजी क्षेत्रले विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेर गरेर निर्माण गरिरहेको छ ।

    निजी क्षेत्रको समेत सहभागिता रहेकोले विद्युत् प्राधिकरणले सहायक कम्पनी गठन गरेर निर्माण अघि बढाएका माथिल्लो तामाकोसीका साथै चिलिमेका सहायक कम्पनीमार्फत निर्माणाधीन रसुवागढी, मध्यभोटेकोशी र साञ्जेन जलविद्युत् आयोजनालाई समेत निजी क्षेत्रको आयोजनाको रुपमा लिइने गरिएको छ ।

    स्रोत:कान्तिपुर