दूधकोसीको लागत पौने दुई खर्ब, वार्षिक ऊर्जा बूढीगण्डकीको हाराहारी

1111

असार १२, २०७६

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले अद्यावधिक गरेको विस्तृत डिजाइन प्रतिवेदनका अनुसार दूधकोसी जलायशयुक्त विद्युत् आयोजनाको लागत पौने दुई खर्ब हुने अनुमान गरिएको छ । कर र निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १ अर्ब ५२ करोड ३३ लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

आयोजनाको डिजाइन प्रतिवेदन अद्यावधिक गर्न छनोट गरिएको कम्पनीले प्रतिवेदनको मस्यौदा बुझाएको प्राधिकरणले जनाएको छ । प्रतिवेदनको मस्यौदामा आयोजना ६ सय ३५ मेगावाट जडित क्षमतामा बनाउन सकिने उल्लेख छ ।

आयोजनाले वार्षिक ३ हजार ४ सय ४३ गिगावाट आवर ऊर्जा उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ । वार्षिक उत्पादन हुने कुल ऊर्जामध्ये १ हजार ३ सय ५८ गिगावाट आवर हिउँद र २ हजार ८४ गिगावाट आवर ऊर्जा वर्षायाममा उत्पादन हुनेछ । आयोजनाले दिने ऊर्जा गोरखा र धादिङको सीमानामा निर्माण गर्ने भनिएको १२ सय मेगावाटको बूढीगण्डकी आयोजनाको हाराहारीमा हुनेछ ।

सरकारले बजेटमार्फत दूधकोसीको लगानी मोडालिटी तय गरी निर्माण अघि बढाउने घोषणा गरेको छ । अद्यावधिक गरिएको विस्तृत परियोजना प्रतिवेदनका अनुसार आयोजनाको लागि ६ सय मेगावाट उत्पादन गर्ने गरी एउटा अन्डरग्राउन्ड पावरहाउस र ३५ मेगावाट उत्पादन हुने गरी बाहिर अर्को पावरहाउस राख्न सकिन्छ ।

१३ किलोमिटर लामो सुरुङमार्फत जलाशयको पानी पावरहाउसमा लैजानुपर्ने प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा अन्य निकायलाई समेटेर संयुक्त लगानीमा कम्पनी स्थापना गरी प्राधिकरणले आयोजना निर्माण गर्न सक्ने सुझाव दिइइएको छ । प्रतिवेदनका अनुसार आयोजना निर्माण सुरु भएको ७ वर्षमा उत्पदन थाल्न सकिन्छ । आयोजनाको बाँध र अन्य भौतिक संरचना निर्माणको लागि मात्रै करिब ६ वर्ष लाग्न सक्ने प्रतिवेदनको अनुमान छ । हेडरेस टनेल निर्माणको लागि मात्रै ५ वर्षभन्दा बढी समय लाग्नेअनुमान छ ।

ओखलढुंगा र खोटाङ जिल्लाको सिमानामा निर्माण हुने आयोजनाबाट उत्पादित विद्युत् ४ सय केभी प्रसारण लाइनमार्फत ढल्केबर सबसस्टेसनमा ल्याउने योजना छ । दूधकोसीबाट उत्पादित विद्युत् २२ किलोमिटर परको सुनकोसीस्थित स्विचयार्ड हुँदै ढल्केबर आइपुग्नेछ । सुनकोसीदेखि ढल्केबरसम्म प्रसारण लाइनको लम्बाइ करिब ९१ किलोमिटर हुनेछ ।

दूधकोसी आयोजना निर्माण गर्दा वातावरणीय र सामाजिक प्रभाव पनि नगण्य मात्रै हुने अध्ययन प्रतिवेदनमा जनाइएको छ । आयोजनाका कारण १ सय ६२ घरधुरी प्रत्यक्ष प्रभावित हुने र वातावरणीय हिसाबले भने नगण्य क्षति हुने प्रतिवेदनमा जनाइएको छ । आयोजनाको वातावरणीय र सामाजिक प्रभाव प्रतिवेदन तयार हुने क्रममा छ । आयोजनामो अनुमानित लागतमा सामाजिक र वातावरणीय प्रभाव न्यूनीकरणको लागि करिब ११ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

वार्षिक रूपमा प्राप्त हुने ऊर्जा धेरै, वातावरणीय र सामाजिक प्रभाव कम हुने भएकाले दूधकोसी आयोजना आर्थिक रूपमा आकर्षक आयोजना रहेको प्रतिवेदनमा भनिएको छ । ‘यो आयोजनाले ऊर्जा मिश्रणको हिसाबले पनि उपयुक्त छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्राधिकरणले सन् १९९८ मै आयोजनामो सम्भाव्यता अध्ययन गरेको थियो । सुरुवाती अध्ययनमा आयोजना ३ सय मेगावाटको बनाउन सकिने देखिएको थियो । सम्भाव्यता अध्ययनले नै आयोजनालाई आकर्षित हुने उल्लेख गरेको छ ।

सरकारले बजेटमार्फत प्रत्येक प्रदेशमा दुई ठूला ऊर्जा आयोजना निर्माण गर्ने घोषणा गरेको थियो । यो आयोजनालाई प्रदेश १ मा विकास गर्न सकिने ठूलो विद्युत् आयोजनामा मानिएको छ ।

प्राधिकरण स्रोतका अनुसार लागत र ऊर्जा उत्पादनका हिसाबले यो आयोजना बूढीगण्डकीभन्दा पनि आकर्षक छ । बूढीगण्डकीको लागत करिब ३ खर्ब हुने अनुमान छ । बूढीगण्डकीमा मुआब्जासहित सामाजिक र वातावरणीय प्रभाव पनि बढी हुने अध्ययनले देखाएको छ । लोड सेन्टरबाट नजिक रहेको र तत्काल निर्माण सुरु गर्न सकिने अवस्थामा भए पनि बूढीगण्डकी आयोजना लगानीको स्रोत, आयोजना निर्माणको मोडलजस्ता विषयमा रुमल्लिएको छ ।

बूढीगण्डकीको परामर्शदाता ट्र्याक्टेवेले गरेको अध्ययनअनुसार बूढीगण्डकीलाई वार्षिक ऊर्जा उत्पादनका हिसाबले फरकफरक डिजाइनमा बनाउन सकिन्छ । बूढीगण्डकीबाट वार्षिक ३ हजार ८ सय ३१ गिगावाट आवर र ४२ हजार ५ सय १ गिगावाट ऊर्जा प्राप्त गर्न सकिन्छ ।

स्रोत:कान्तिपुर