दुई प्रसारण लाइन प्रधानमन्त्री देउवाको भारत भ्रमणमा उद्घाटन हुने

    5368
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा कटैया–कुशहवा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनको उद्घाटन हुने भएको छ । नेपालका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रसारण लाइनको संयुक्तरुमा उद्घाटन गर्ने तयारी भइरहेको ऊर्जा मन्त्रालय स्रोतले बतायो ।
    यस अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई मुलुकका प्रधानमन्त्रीले ढल्केवर–मुजफफ्पुर ४०० केभी क्रस बोर्डर प्रसारण लाइनको स्रयुक्तरुमा उद्घाटन गरेका थिए ।
    नेपालको हिउँदको लोडसेडिङ अन्त्य र दुई मुलुकबीचको प्रसारण पूर्वाधारको सुदृढीकरणका लागि भारतले अनुदानमा कटैया–कुशहवा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन निर्माण गरिदिएको हो । कटैया–कुशहवा र रक्सौल–परवानीपुरबाट ५०।५० मेगावाट विद्युत आयात गर्न सकिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गरिएको विद्युतको मूल्यभन्दा १३२ केभीबाट आउनेको मूल्य सस्तो छ ।
    केही दिन अघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र भारतीय अधिकारीहरु सम्मिलित पावर एक्सचेन्च कमिटि (पिइसी)को नयाँ दिल्लीमा सम्पन्न बैठकले १३२ केभीबाट आयात गरिने विद्युतको प्रति युनिट रेट ५.५५भारु (८.८८ नेरु) तोकेको छ । जबकी  ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गर्ने विद्युतको प्रतियुनिट मूल्य क्रमश ः भारु ६ (९.६ नेरु) र ६.४५ (१०.३२ नेरु) छ ।
    कटैया–कुशहवा र रक्सौल–परवानीपुर प्रसारण लाइनलाई आवश्यक पर्ने जग्गा नेपाल सरकार तथा प्रधिकरणले व्यहोरेका थिए भने अन्य सम्पूर्ण खर्च भारतले व्यहोरेको हो । दुवै प्रसारण लाइनको कटैया–कुशहवाको निर्माण गत फेब्रुअरीमा सकिएको थियो ।