थापाखोलाको १० प्रतिशत सेयर स्थानीयलाई दिने

    2653

    मुस्ताङको टुकुचे गाविसमा निर्माणाधीन ११.२ मेगावाटको थापाखोला विद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । करिब १ अर्ब ६० करोड रुपैयाँ लागत रहेको आयोजामा स्थानीयले समेत लगानी गर्ने इच्छा गरेको माउन्ट कैलास इनर्जी प्रालिका प्रबन्ध निर्देशक भरत कुमार खड्काले बताए । विद्युत् उत्पादनपछि टुकुचेका स्थानीयलाई न्यूनतम २० युनिट विद्युत्समेत निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
    टुकुचेको थापा खोलामा निर्माण गर्न लागेको आयोजनामा स्वदेशी उद्यमी तथा बैंकको लगानीे छ । “स्वदेशी लगानीलाई प्राथमिकतामा राखेका छौं” खड्काले भने, “आफ्नो लगानीको आयोजना भनेपछि स्थानीयमा समेत उत्पादनमुखी क्षेत्रमा लगानी गर्ने प्रोत्साहन मिल्ने भएकाले १० प्रतिशत सेयर उनीहरूलाई नै दिने भएका हौं ।” आयोजनालाई आवश्यक पर्ने ४० रोपनी जग्गा खरिद गरिसकिएको छ । आयोजना स्थल  पुग्ने ६ किलोमिटर सडकमध्ये करिब एक किलोमिटर निर्माण गर्न बाँकीे छ ।
    आफ्नै क्षेत्रमा निर्माण हुन लागेको विद्युत् आयोजनामा लगानी गर्न पाएपछि स्थानीयसमेत उत्साहित भएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताए । उनले भने, “उत्पादनमुखि क्षेत्रमा स्थानीयको लगानीको वातावरण बनाउनु राम्रो हो ।” आम्दानीको क्षेत्रमा ठूला कम्पनीले मात्र लगानी हुने गरेको भन्दै स्थानीयको सहभागितालाई राज्यले अनिवार्य गर्नुपर्ने उनको माग छ ।
    टुकुचेको थापा खोला मुहानबाट ८ सय मिटर टनेल र ९ सय मिटर क्यानलबाट पानी ल्याएर करिब ३ सय २३ मिटरको हेडबाट पानी झारेर टुकुचे—३ मा पावर हाउस निर्माण गरिनेछ । सो परियोजना वि.सं.२०७१ मा पूरा गर्ने लक्ष्य छ । योजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने भएको छ । कोवाङसम्म केन्द्रिय हाइटेन्सन लाइन पुगेकाले त्यहाँसम्म करिब ४ किलोमिटर लाइन निर्माण गर्नुपर्र्नेछ । स्थानीयको मागअनुसार आयोजनाले त्यहाँका विद्यालयमा विद्यार्थीका लागि छात्रवृत्ति, एम्बुलेन्स, स्थानीय संस्थालाई सहयोग गर्ने भएको छ ।

    प्रस्तुति: कारोबार