थप सय मेगावाट ल्याउन पहल

    1694

    माघ १९, २०७३- ऊर्जा मन्त्रालयले सुख्खायममा देशभर लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको प्रस्तावमा कटैया–कुसाहा र रक्सौल–परवानीपुर प्रसारण लाइन हुँदै भारतबाट ५०/५० मेगावाट बिजुली ल्याउन कूटनीतिक पहल सुरु गरेको छ । ऊर्जा मन्त्रालयले कटैया–कुसाहामा नेपाल–भारत दुवैतर्फ १३३ केभीको प्रसारण लाइन निर्माण भइसकेको र रक्सौल–परवानीपुरमा नेपालतर्फ १५ दिनभित्रै काम सकिने उल्लेख गर्दै परराष्ट्र मन्त्रालयलाई भारतबाट थप बिजुली ल्याउने प्रबन्ध गर्नका लागि कूटनीतिक पहल गरिदिन लिखित आग्रह गरेको छ ।

    ती दुवै ठाउँमा भारततर्फको प्रसारण लाइन भारतीय विदेश मन्त्रालयले निर्माण गरेको हो । परराष्ट्र मन्त्रालयले पत्राचार गरी कूटनीतिक पहल गरेपछि नेपाल–भारतबीचको विद्युत् व्यापार सम्झौता (पीटीए) अन्तर्गतको दुवै देशका ऊर्जा सचिव र सहसचिव रहेको ज्वाइन्ट स्टेरिङ कमिटी र ज्वाइन्ट वर्किङ कमिटीको बैठक बोलाइने भएको छ । ‘ती दुई ठाउँबाट विद्युत् खरिद गर्न छिट्टै दुवै कमिटीको बैठक बस्छ । बैठकमा सहमति भएपछि प्राधिकरणले ती दुई ठाउँ हुँदै भारतबाट ५०/५० मेगावाट बिजुली ल्याउनेछ,’ प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले कान्तिपुरसित भने । स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले ऊर्जाको आग्रहमा भारतीय विदेश मन्त्रालयलाई पीटीएअन्तर्गतको संयुक्त समितिको बैठक बोलाउन कूटनीतिक आग्रह गरिदिइसकेको छ । सम्भवत: मार्चको दोस्रो सातामा ज्वाइन्ट कमिटीको बैठक बस्ने सम्भावना छ । दुवै देशका ऊर्जा मन्त्रालयको थप कूटनीतिक पहलबाट बैठकको मिति तय हुनेछ ।

    ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले ती दुई विद्युत् नाकाबाट नेपालले भारतको केन्द्रीय विद्युत् प्रणालीबाट सोझै बिजुली आयात गर्न चाहेको छ । भारतले भने नेपाललाई बिहार स्टेटबाट बिजुली खरिद गर्न भनिरहेको छ । ‘भारतको केन्द्रीय विद्युत् प्रणालीबाट किन्दा प्रतिस्पर्धी (सस्तो) मूल्यमा बिजुली पाइन्छ, बिहार स्टेटसित किन्दा महँगो पर्छ । त्यही कारण ज्वाइन्ट कमिटीको बैठकमा नेपालले भारतसित उसको केन्द्रीय विद्युत् प्रणालीबाट विद्युत् दिन आग्रह गर्छौं । त्यसमा सहमति हुने सम्भावना छ,’ घिमिरले भने । उनका अनुसार ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै प्राधिकरणले भारतबाट प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३.६० भारु) विद्युत् खरिद गरिरहेको छ । यदि भारतको केन्द्रीय विद्युत् प्रणालीबाट ल्याउने सहमति भएमा थप सय मेगावाट बिजुलीसमेत सोही मूल्यमा खरिद गर्न पाइनेछ । बिहार स्टेटबाट बिजुली ल्याउँदा भने प्रतियुनिट ८ रुपैयाँभन्दा बढी पर्छ ।

    यसैबीच प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै मंगलबार रातिदेखि थप २५ मेगावाट बिजुली आयात गर्न थालेको छ । प्राधिकरण र भारतीय विद्युत् व्यापार निगम (एनबीबीएन) बीच उक्त प्रसारण लाइनबाट मंगलबार रातिदेखि थप ४० मेगावाट बिजुली ल्याउने सहमति भएको थियो । मुलुकमा लोडसेडिङ घटाउन हाललाई २५ मेगावाट मात्र थप बिजुली ल्याउन थालिएको जानकारी अधिकारीले दिए । ‘एनबीबीएनसित प्राधिकरणले पत्राचार गरी हाललाई थप २५ मेगावाट मात्र बिजुली ल्याउन थालिएको हो । आवश्यक परेमा त्यहाँबाट थप १५ मेगावाट बिजुली ल्याउन सकिन्छ,’ अधिकारीले भने ।

    अधिकारीका अनुसार भारतबाट थप आयात भएको बिजुली लाहान र वीरगन्जतर्फ पठाइएको छ । मागबराबरको विद्युत् नपुगेकाले वीरगन्जमा भोल्टेजको समस्या थियो । भारतबाट थप बिजुली आएपछि वीरगन्जको भोल्टेजको समस्या समाधान भएको छ ।

    ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट प्राधिकरणले १ सय २० मेगावाट बिजुली आयात गरिरहेको थियो । मंगलबार रातिदेखि उक्त प्रसारण लाइनबाट आयातित बिजुली १ सय ४५ मेगावाट पुगेको छ । अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतबाट आयात गरिएको बिजुलीमध्ये राजधानीलाई लोडसेडिङमुक्त गराउन आवश्यक २५ देखि ४० मेगावाटसम्म ढल्केबर–खिम्ती–खिम्ती–भक्तपुर प्रसारण लाइनबाट काठमाडौं ल्याइएको छ । ‘राजधानीलाई लोडसेडिङमुक्त गर्न आवश्यक परेमा भारतबाट आयातित थप बिजुली काठमाडौं ल्याइनेछ,’ अधिकारीले भने । प्राधिकरणले भारतबाट थप आयात भएको बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३.६० भारु) खरिद गरेको हो । ढल्केबर–मुजफ्फरपुरबाट बिजुली ल्याउन नेपालले भारतलाई प्रसारण लाइनको ह्वीलिङ चार्जबापत वर्षेनि १ अर्ब ७ करोड रुपैयाँ तिनुपर्छ । उक्त प्रसारण लाइनबाट अघिल्लो वर्ष फागुन दोस्रो सातादेखि भारतबाट ८० मेगावाट बिजुली ल्याउन थालेदेखि नै उक्त ह्वीलिङ शुल्क सुरु भइसकेको छ ।

    मुलुकमा हाल ५ सय १२ मेगावाट बिजुली उत्पादन भइरहेको छ । लोडसेडिङमुक्त गर्न र घटाउन प्राधिकरणले कटैया–कुसाहा, टनकपुर, ढल्केबरलगायतका विद्युत् नाकाबाट भारतबाट ३ सय ५० मेगावाट विद्युत् आयात गर्दै आएको थियो । मंगलबार रातिदेखि भारतबाट आयाति बिजुली ३ सय ७५ मेगावाटसम्म पुगेको छ । भारतबाट अघिल्लो वर्ष सुख्खायाममा ३ सय ४७ मेगावाट बिजुली आयात गरेको थियो भने यस वर्ष फागुन–चैत–वैशाख र जेठमा ५ सय ५० मेगावाटसम्म बिजुली आयात गर्ने योजना प्राधिकरणको छ । अधिकारीका अनुसार बढी माग हुने साँझको समयमा मुलुकमा विद्युत्को माग १ हजार २ सय ६७ मेगावाट छ । अहिले मुलुकमा उत्पादित र भारतबाट आयातित गरी ८ सय ६२ मेगावाट बिजुली उपलब्ध भएकाले ४ सय ५ मेगावाट विद्युत् अपुग रहेको जानकारी अधिकारीले दिए । उनका अनुसार विद्युत् अपुग भएकाले सबै औद्योगिक कोरिडोर र राजधानीबाहिर कतिपय ठाउँमा दैनिक ३/४ घण्टाको हाराहारीमा लोडसेडिङ छ ।

    स्रोत:कान्तिपुर