थपिँदै बिजुली, १४ महिनाभित्र ९५८ मेगाबाट थपिने

    1664

    electricity_addingआगामी आर्थिक वर्ष (०७४ असार) भित्र राष्ट्रिय प्रसारण लाइनमा आन्तरिक उत्पादनबाट ३ सय ५८ मेगावाट बिजुली थपिने भएको छ । यही अवधिमा भारतबाट थप ६ सय मेगावाट बिजुली आयात गर्न सकिनेछ ।  ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार आगामी एक वर्षभित्र हुने आन्तरिक उत्पादन वृद्धि र भारतबाट आयात गर्न सकिने थप बिजुलीका कारण वर्षायाममा पूर्णरूपमा लोडसेडिङ अन्त्य हुन सक्नेछ भने हिउँदमा समेत लोडसेडिङ न्यून मात्र रहनेछ । हाल बिजुलीको माग १३ सय मेगावाट छ भने उत्पादन ८ सय २९ मेगावाट (५३ मेगावाट थर्मल प्लान्टसहित) मात्र छ । नेपालले लोडसेडिङ घटाउन हाल भारतबाट ३ सय १५ मेगावाट हाराहारीमा आयात गरिरहेको छ ।

    आगामी वर्ष बिजुलीको माग बढेर १ हजार ४ सय २३ मेगावाट पुग्ने प्रक्षेपण विद्युत् प्राधिकरणको छ । त्यतिबेलासम्म मुलुकमा निर्माणाधीन जलविद्युत् आयोजनामध्ये ४० वटाको निर्माण सम्पन्न भई त्यसबाट ३ सय ५८ मेगावाट बिजुली उत्पादन सुरु भइसक्नेछ । 

    ती अधिकारीका अनुसार निजी क्षेत्रका ३८ आयोजना सम्पन्न भई ३ सय १४ मेगावाट बिजुली उत्पादन सुरु हुनेछ भने विद्युत् प्राधिकरण (सरकार) ले निर्माण गरिरहेका आयोजनाबाट ४४ मेगावाट बिजुली थपिनेछ । प्राधिकरणले निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रोले आगामी मंसिरबाटै विद्युत् उत्पादन सुरु गर्ने ऊर्जा सचिव सुमन शर्माले बताए । ती ४० आयोजना बनेपछि बिजुलीको कुल उत्पादन ८ सय २९ बाट ११ सय ८७ मेगावाट पुग्ने अनुमान ऊर्जा मन्त्रालयको छ ।

    आगामी एक वर्षभित्र भारतबाट थप ६ सय मेगावाटसम्म बिजुली आयात गर्न सकिने पनि मन्त्रालयका अधिकारीको भनाइ छ । आन्तरिक उत्पादन र भारतबाट थप आयात हुने बिजुलीबाट वर्षायाममा पूर्णरूपमा लोडसेडिङ अन्त्य हुनेछ ।

    ती अधिकारीका अनुसार ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमा ४ सय केभीको सबस्टेसन निर्माण र ढल्केबर–इनरुवा विद्युत् नाकाको स्तरोन्नति गर्ने काम एक वर्षभित्र पूरा हुनेछ । त्यसमार्फत् भारतबाट थप ६ सय मेगावाट बिजुली आयात गर्न सकिने सरकारको ऊर्जा संकट निवारण तथा विद्युत् विकास दसक कार्ययोजनामा उल्लेख छ ।

    ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गर्न प्राधिकरणले ढल्केबरमा २२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ । सबस्टेसनको निर्माण आगामी दसैंसम्म पूरा हुनेछ । त्यसमार्फत थप १ सय २० मेगावाट आयात गर्न सकिने छ । यो थप हुने बिजुलीले दसैंमा सर्वसाधारणलाई राहत पुग्नेछ । अन्तरदेशीय प्रसारण लाइनको क्षमता बढाउन २२० केभीपछि ढल्केबरमा ४ सय केभीको सबस्टेसन एक वर्षभित्र बनाइसक्ने योजना विद्युत् प्राधिकरणको छ ।

    ऊर्जा मन्त्रालयका अनुसार यस वर्षको अन्तिमसम्ममा सम्पन्न भई बिजुली उत्पादन सुरु हुने आयोजनाहरूमा अपर मस्र्याङ्दी ए ५० मेगावाट, अपर मादी २५, अपर चाकु २२.२, हेवा खोला ए १४.९, अपर माई ९.९८, फावा ४.९५, पिखुवा २.४८, झ्याङी खोला २, दरौंदी खोला ६, गेलुङ खोला ३.२, सार्दी खोला ४, सभा खोला ४, दरम खोला ए २.५०, छ्याङ्दी खोला २, टुंगुन ठोस्ने ४.३६, खानी खोला २, माई क्यास्केड ७, मङयु १३, थापा खोला ११.२०, अपर माई सी ५.१, दारी खोला ३.७५, माई साना क्यास्केड ८ मेगावाट छन् । 

    यी आयोजनाबाट २ सय ६ मेगावाट बिजुली उत्पादन हुनेछ । तर भूकम्प र नाकाबन्दीका कारण झन्डै नौ महिना काम रोकिएकाले यस वर्षको अन्तिमसम्ममा सकिने भनिएका आयोजनाहरूबाट विद्युत् उत्पादन सुरु हुन थप छ महिना लाग्न सक्नेछ । यीमध्ये अपर माईसहित तीन आयोजनाबाट बिजुली उत्पादन सुरु भइसकेको जानकारी मन्त्रालयका अधिकारीले दिए ।

    आर्थिक वर्ष २०७३/०७४ को अन्तिमसम्ममा सम्पन्न हुने आयोजनामा अपर दोर्दी ए २२ मेगावाट, तल्लो मोदी २०, फलाँखु खोला १३.७, चाके २.८३, जुम्दी १.७५, थेउले १.५, ताडी ५, अपर मैलुङ ए ५, जोगमाई ७.६, अपर पराजुली २.१५, लोहोरे ४.२, मिदिम करापु ३, रुदी ए ६.८, कपाडी गाड ३.३३, घलेम्दी खोला ४ र पुवा खोला ए ४ मेगावाट छन् । यी आयोजनाबाट १ सय ६ मेगावाट बिजुली उत्पादन हुनेछ ।

    स्रोत: कान्तिपुर