त्रिशूली थ्री एको सडक खुलाउन सेनाका दुई सर्त

    1334

    काठमाडौं, ११ कात्तिक
    भूकम्प र पहिरोले क्षति पुयाएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रवेश सडक मर्मत गर्न नेपाली सेनाले दुईवटा सर्त राखेको छ । सेनाको विकास निर्माण निर्देशनालयले रक्षा मन्त्रालयमार्फत मंगलबार ऊर्जा मन्त्रायलयलाई पत्र पठाउँदै कामलाई मन्त्रिपरिषद्बाट ‘विशेष परिस्थितिको कार्यक्रम’मा राख्नुपर्नेसहितका सर्त राखेको हो । ‘पहिरो रोकथाम लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले उक्त निर्माण इलाकाको यथाशीघ्र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) ऊर्जा मन्त्रालयबाट गर्नुपर्ने’, सेनाले उल्लेख गरेको छ।

    सडक मर्मत नहुँदा करिब ६५ प्रतिशत सकिएको ६० मेगावाटको आयोजनाको काम गत वर्षको वैशाखबाट ठप्प छ । गत वर्षको भूकम्पपछि रोकिएको आयोजनाको काम अझै सुरु हुन सकेको छैन । सेनाको यस्तो निर्णय आएपछि आयोजनाको काम सुरु हुन अझै समय लाग्ने देखिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले बाँधस्थलको दायाँ–बायाँ र प्रवेशमार्गको विभिन्न स्थानमा गएको पहिरोको रोकथाम र सडक मर्मत सेनामार्फत गराउने निर्णय गरेको थियो । नुवाकोटको सिम्लेमा रहेको पावर हाउसदेखि रसुवाको फालेटारमा रहेको हेडवक्र्स पुग्ने करिब ५ किलोमिटर सडक अघिल्लो वर्षको भूकम्प र बाढी पहिरोका कारण भत्किएको थियो । गल्छी–रसुवागढी सडक खण्डमा पर्ने सडकलाई सेनाले यसअघि नै मर्मत गरेको भए पनि यस वर्षको वर्षात्का कारण फेरि क्षति पुगेको थियो । केही ठाउँमा ट्र्याकसमेत नभेटिने गरी सडक क्षतिग्रस्त भएको छ ।

    सडक निर्माणसँगै सेनाले बाँधको दायाँ–बायाँको पहिरो रोकथाम गर्न सुरक्षा पर्खाल (प्रोटेक्सन वाल) पनि लगाउनेछ । इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (इपिसी) ठेक्कामा भेरिएसनमार्फत ठेकेदारलाई काम गर्न दिँदा विवाद हुने सम्भावना भएकाले प्राधिकरणले सेनालाई दिने निर्णय गरेको थियो ।

    अर्थद्वारा सहमति दिन अस्वीकार
    अर्थ मन्त्रालयले आयोजनाको बाँधस्थलको दायाँ–बायाँ र प्रवेशमार्गको विभिन्न स्थानमा गएको पहिरोको रोकथाम र सडक मर्मतको नयाँ कार्यक्रमलाई सहमति दिन अस्वीकार गरेको छ । ऊर्जा मन्त्रालयले पहिरोको रोकथाम र सडक मर्मतका लागि ६१ करोड १८ लाख ३० हजार रुपैयाँको नयाँ कार्यक्रम बनाएर सहमतिका लागि अर्थमा पेस गरेको थियो । तर, अर्थले सहमति नदिएको ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले जानकारी दिए ।

    नयाँ पत्रिका