तमोर ७६२ मेगावाटमै बनाउन जोड

    1290

    काठमाडौं :  तमोर जलाशय जलविद्युत् आयोजना ७६२ मेगावाट क्षमतामै बनाउनका लागि विभिन्न राजनीति दल र आयोजना प्रभावित स्थानीयवासीले जोड दिएका छन् । ७६२ मेगाट पहिचान भए पनि ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई २५२ मेगावाटको मात्र अनुमतिपत्र (लाइसेन्स) दिएकोमा स्थानीयवासी तथा सरोकारवालाले ७६२ मेगावाटमै बनाउन जोड दिएका हुन् ।

    विद्युत् प्राधिकरणको अध्ययनले  २५२ मेगावाटमा आयोजना बन्न उपयुक्त नहुने देखाइसकेको छ भने कम्पनी बनाएर आयोजनाअघि बढाउने भन्दै ७६२ मेगावाटकै लाइसेन्सका लागि विद्युत् विकास विभागमा निवेदन दिइसकेको छ ।

    तमोर जलाशय क्षेत्रमा ३७.६ मेगावाटको कोबेली ‘ए’ र २१.६ मेगावाटको हेवा खोलालाई ऊर्जा मन्त्रालयले लाइसेन्स दिइसकेकाले तमोरलाई पूर्ण क्षमतामा लाइसेन्स दिन मन्त्रालयले सकेको छैन ।

    स्थानीय सरोकार समिति र जलस्रोत तथा ऊर्जा पत्रकार समाजले काठमाडांैमा संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रियामा अधिकांशले क्षमता घटाएर जलाशययुक्त आयोजनाको क्षमता मार्न नहुने बताए । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले तमोर पूर्ण क्षमता बनाउनुपर्ने बताउँदै निर्माण भइरहेका आयोजनालाई क्षतिपूर्ति दिएर समाधान गर्न सकिने बताए ।

    कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्र रिजाललगायतले प्राकृतिक स्रोतको अधिकत्तम रूपमा उपयोग गर्नुपर्ने बताए । कार्यक्रममा ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले लाइसेन्स दिइसकेका आयोजनाहरूलाई व्यवस्थापन गर्ने गरी प्रस्ताव आए मन्त्रालय तोकिएकै क्षमतामा जलविद्युत् आयोजना बनाउन तयार रहेको बताए ।

    विद्युत् ऐन, २०४९ अनुसार पहिला आवेदन दिने व्यक्ति वा समूहलाई अनुमतिपत्र दिने व्यवस्थाको आधारमा दुई आयोजनाले लाइसेन्स पाएको मन्त्रालयले जनाएको छ ।

    विद्युत् प्राधिकरण इन्जिनियरिङ निर्देशनालयका उपकार्यकारी निर्देशक मोहनरत्न शाक्यले ७६२ मेगावाटमै आयोजना बनाउन निवेदन दिएको जानकारी दिए । कार्यक्रममा     स्थानीय सरोकार समितिका वसन्तकुमार नेम्वाङले क्षमता घटाएर निर्माण गर्न नहुने बताए ।

    स्रोत:कारोबार