जेठदेखि मुलुकलाई लोडसेडिङमुक्त गर्ने घोषणा

    1159

    दोलखाः ११ वर्षअघि निर्माण सुरु भएको खिम्ती–ढल्केबर विद्युुत् प्रसारणलाइनको बिहीबार औपचारिक उद्घाटन भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले दोलखाको खिम्तीमा २२० केभीएको प्रसारणलाइन उद्घाटन गरे । प्रसारणलाइन बनेसँगै काठमाडौंमा भारतबाट विद्युत् ल्याउन र दोलखाबाट पूर्वपश्चिममा विद्युत् प्रसारणमा बाटो खुलेको छ ।

    विद्युत् प्रसारणलाइनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले देशको सबैभन्दा ठूलो क्षमताको प्रसारणलाइन ढिलै भए पनि सञ्चालनमा आउनु विद्युत् विकासका लागि कोसेढुंगा सावित हुने बताए ।

    तीन साताअघि निर्माण सम्पन्न भएको प्रशारणलाइन परीक्षणपछि बिहीबार उद्घाटन गरिएको हो । निर्माण सम्पन भएपछि भारतबाट थप ४० मेगावाट बिजुली आयात गरेर काठमाडौं पु¥याइएको छ ।

    कार्यक्रममा प्रधानमन्त्री दाहालले परीक्षणका रूपमा काठमाडौं, पोखरालगायतका सहरमा लोडसेडिङ नगरे पनि अब जेठबाट देशलाई नै लोडसेडिङमुक्त गर्ने घोषणा गरे ।

    प्रधानमन्त्री दाहालले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणमा ल्याउन निकै संघर्ष गर्नुपरेको बताए । “राम्रा मान्छे ठीक ठाउँमा पर्यो भने नतिजा पनि ठीक हुन्छ,” दाहालले भने, “कुलमानलाई यस ठाउँमा ल्याउन मलाई धेरै संघर्ष गर्नुपरेको थियो ।”

    राम्रो र मेहनत मान्छेको फल मुलुकले पाइरहेको उनले बताए ।खिम्ती–ढल्केबर विद्युुत् प्रसारणलाइनबाट ७०० मेगावाट बिजुली ल्याउन–लैजान मिल्छ ।

    अहिलेसम्म भारत निर्यात गर्न पुग्ने गरी नेपालमा विजुली उत्पादन भइनसकेकाले आयात गर्ने सर्किट मात्र निर्माण पूरा भएको छ । अर्को सर्किटको निर्माण पनि भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    प्रसारणलाइन मार्फत खिम्तीसम्म ल्याइएको भारतीय बिजुली त्यहाँबाट खिम्ती–लामोसाँघु– भक्तपुर १३२ केभी प्रसारणलाइन हुँदै काठमाडौंसम्म पुर्याइन्छ । प्रसारणलाइन निर्माणले बिजुली चुहावट १० मेगावाटसम्म कम हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

    १ अर्ब ९५ करोड रुपैयाँको लागतमा ७४ किलोमिटर लामो प्रसारणलाइन निर्माण भएको हो । जसमा विश्व बैंकले ६७ करोड ५० लाख रुपैयाँ सहुलियत ऋण र ३७ करोड ५० लाख अनुदान सहयोग गरेको छ ।

    नपुग रकममध्ये नेपाल सरकारले ६८ करोड २५ लाख ३३ हजार र प्राधिकरणले २२ करोड २० लाख ७५ हजार रुपैयाँ बेहोरेको थियो । १८८ वटा पोल गाडिएको प्रसारणलाइन निर्माणका लागि १०२ रोपनी जमिन अधिग्रहण गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

    भारतले बिजुली नकिन्ने भन्दैमा उत्पादन रोकिन्न
    प्रधानमन्त्री दाहालले भारत नकिन्ने आशंका गरेर विद्युत् उत्पादनको गति रोक्न नहुने बताएका छन् । “भारतले किन्दैन कि भनेर विद्युत् उत्पादनको गति रोक्ने अभियानमा कतिपय मान्छे लागेका छन्, त्यस्ता भ्रमको पछि नलाग्नुहोला,” प्रधानमन्त्रीले भने ।

    उनले नयाँ प्रसारणलाइन देश विकासको कोसेढुंगा सावित हुने दाबी गरे ।प्रधानमन्त्री दाहालले जलविद्युत् आयोजना सँगसँगै प्रसारणलाइन निर्माणको कामलाई पनि तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।

    “एक दिनमै हुने काम एक महिना लगाउने चलन रहेछ, ठूला आयोजनाको काम प्रभावित गर्ने प्रचलन रोक्न सरकारले काम थालेको छ,” प्रधानमन्त्रीले दाहालले भने ।

     स्रोत:कारोबार दैनिक