जलविद्युत्मा चिनियाँ कम्पनीको बदमासी

    1109

    काठमाडौ:  भारतबाट थप विद्युत् ल्याउन सबैभन्दा महत्वपूर्ण मानिएको ढल्केबर २२० केभी सबस्टेसन निर्माण गत मंसिरमै सम्पन्न हुनुपथ्र्यो । ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनलका प्रतिनिधि फाङले तत्कालीन ऊर्जामन्त्रीसमक्ष बाचा गरे पनि ७ महिना बितिसक्दासमेत पूरा भएको छैन ।

    पटक–पटक समय र लागत थपिँदै गएको १४ मेगावाटको कुलेखानी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलको काम चिनियाँ कम्पनीले सम्पन्न नगर्दा निर्माण सुरु भएको १० बर्ष वित्न सक्दा पनि पूरा हुन सकेको छैन ।

    चिनियाँ एक्जिम बैंकले आयोजनाको ऋण अवधि नथप्दा निर्माणाधीन ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए जलविद्युत्् आयोजनाको निर्माणमै अन्योलमा परेको छ ।यस्तै, समयमै काम पूरा गर्न नसकेपछि नेपालको विद्युत्् व्यापारका लागि महत्वपूर्ण मानिएको २२० केभीको भरतपुर–बर्दघाट प्रसारण लाइनको सेन्टर चाइना पावर ग्रीडसँगको ठेक्का पनि तोडिएको छ ।

    १६ बर्षसम्म स्मेकले होल्ड गरेको पश्चिम सेती आयोजनाको लाइसेन्स साढे ५ वर्षअघि चिनियाँ कम्पनीले लिए पनि निर्माण सुरु नगरी अनेकौं शर्त राख्दै आएको छ । जलविद्युत् आयोजना निर्माणको ठेक्का लिएर समयमै काम नगर्ने तर मन्त्री, सचिव र प्राधिकरणका उच्च अधिकारीलाई दबाब र प्रभावमा पारेर भेरिएसनको नाममा करोडौ लैजाने काम आम ठेकेदारको प्रवृत्ति नै बनेको छ ।

    यस्तो आरोप विगतमा भारतीय कम्पनीमाथि लाग्ने गरेकोमा अहिले चिनियाँ कम्पनीमा पनि रोग सरेको छ । विद्युत् प्राधिकरणले निर्माण गरिरहेका अधिकांश जलविद्युत् आयोजना र प्रसारण लाइनको ठेक्का लिएका चिनियाँ कम्पनीहरूले आयोजना निर्माणमा बदमासी गरेका उदाहरण छन् । प्राधिकरणका अनुसार, निर्माणाधीन जलविद्युत् र प्रसारणलाइनमध्ये ५० प्रतिशतभन्दा बढी ठेकेदार चिनियाँ कम्पनीनै छन् ।

    “समयमै काम नगर्ने, विवाद गराउने, मध्यस्थकर्तामा गएर मुद्दा जितेर मिलिभगतमा करोडौं हात पार्ने प्रवृत्ति चिनियाँमा देखिएको छ,” प्राधिकरणका एक उच्च अधिकारी भन्छन्, “मन्त्री, प्रधानमन्त्रीदेखि ठूला नेताहरूबीच नै दलालको प्रभावमा पर्ने र काम नगरेर नेता गुहार्दै पहुँचको भरमा आयोजनाहरूको काम विचल्लीमा पार्ने काम भईरहेको छ ।”

    विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी ठेकेदार कम्पनीहरूको कारण प्राधिकरणद्वारा निर्माणाधीन आयोजनाहरू समयमै निर्माणमा समस्या देखिएको बताउँछन् । “ठेकेदार कम्पनीहरूको कारण आयोजनाहरूको निर्माणमा ढिलाइ भएको सही हो, ठेकेदार ठिक ढंगले छनोट नहुँदा समस्या छ,” उनले भने, “एउटा आयोजनामा राम्रो कार्य सम्पादन नगरे पनि अन्यमा ठेक्का दिनु परेको बिडम्बनापूर्ण अवस्था छ ।”

    तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मासहित राज्यमन्त्री सत्यनारायण भगत, कार्यकारी निर्देशक मुकेश काफ्ले र हालका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको उपस्थितिमा हस्ताक्षर गरे पनि चिनियाँ कम्पनीले हालसम्म ढल्केबर सबस्टेशन निर्माण पूरा गरेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङ समयमै सक्न केही प्राविधिक समस्या देखिएको र अब छिट्टै समाधान हुने बताउँछन् ।

    सिभिलको काम पूरा भए पनि चिनियाँ इलेक्ट्रो मेकानिकल ठेकेदार झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल कम्पनीकै कारण आयोजना निर्माणमा ढिलाई भएको हो । माथिल्लो त्रिशुली ३ ए मा भने पहिला चिनियाँ ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले निर्माण ६० मेगावाटको क्षमतालाई ९० मेगावाट पु¥याउनुपर्ने भन्दै वकालत गरेपछि निर्माणमा ढिलाई भएको थियो । हाल भनेआयोजनाका लागि काठमाडौसम्म जोड्ने प्रसारण लाइनतर्फको ठेकेदार चिनियाँ कम्पनी सीडब्ल्यूले पनि निर्माणमा ढिलाइ गरेको छ ।

    ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनामा २०६४ सालमा निर्माण सुरु गरेर २०६८ सालमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाको निर्माण कार्य अझै पूरा भएको छैन भने जलविद्युत् आयोजनाको लागत दोब्बर हुन लागेको छ । प्रतिमेगावाट ५५ करोड लागत पुगेको आयोजनाको ठेकेदार कम्पनी सीजीजीसीले आयोजना निर्माणमा ढिलाई गर्दा यस्तो यस्तो अवस्था आएको हो ।

    २२० केभीको भरतपुर–बर्दघाट प्रसारणलाइन चार वर्षअघि नै सम्पन्न भइसक्नुपर्नेमा निर्माण पूरा नै नभइ हाल ठेक्का तोडिएको छ । ७५ किलोमिटरको प्रसारणलाइन अब कहिले पूरा हुन्छ भन्ने अन्योल बढेको छ । सन् २०१० को डिसेम्बरमा निर्माण सुरु भएको उक्त प्रसारणलाइन सन् २०१३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

    प्रसारणलाइनको ठेक्का लिएको सेन्टर चाइना पावर ग्रीड (सीसीपीजी)ले काम नगरेपछि ठेक्का तोडेको र अब नयाँ प्रक्रिया अघि बढ्ने कार्यकारी निर्देशक घिसिङ बताउँछन् । विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि यसविरुद्ध ठेकेदार कम्पनी अदालत गएको छ ।

    स्रोत : कारोबार