चीनले ऋण नथप्दा त्रिशुली ३ ए अन्योलमा

    1195

    काठमाडौंः चीनको आयात–निर्यात (एक्जिम) बैंकले निर्माणाधीन माथिल्लो त्रिशुली ३ ए जलविद्युत् आयोजनाको ऋण अवधि नथप्दा आयोजना निर्माणमा अन्योल बढेको छ ।

    नेपाल विद्युत् प्राधिकरणले एक्जिम बंैकको सहयोगमा निर्माण गरिरहेको ६० मेगावाटको यो आयोजनाका लागि ऋणको अवधि नाघ्दा आयोजना निर्माणमा अन्योल बढेको हो ।

    झण्डै एक वर्षअघि (जुन २०१६) एक्जिम बैकको ऋण अवधि सकिएको थियो । ऋण अवधि सकिनुअघि नै नेपाल विद्युत् प्राधिकरणले ऊर्जा र अर्थ मन्त्रालयलय हुँदै ऋणको म्याद थप्नका लागि अनुरोध गरेको थियो । तर, एक्जिम बैंकले अझै थपेको भने छैन ।

    “ऋणको अवधि विस्तार नगर्दा आयोजना निर्माणमा अन्योलता बढेको छ,” आयोजना प्रमुख फणिन्द्र जोशीले भने, “यसकै कारणले ठेकेदार कम्पनीहरूलाई समयमै भुक्तानी दिन नसक्दा आयोजना निर्माण सुस्त रूपमा अघि बढेको छ ।”

    भूकम्प लगायतका कारणले आयोजना निर्माणमा ढिलाइ भएको भन्दै विद्युत् प्राधिकरणले ऋणको अवधि समेत थप्नका लागि अनुरोध गरेको छ । अर्थ मन्त्रालयले एक्जिम बैंकलाई पाँच वर्षका लागि म्याद थप्न अनुरोध गरेको छ ।

    तर, अर्थ मन्त्रालयले पटकपटक यसबारे प्रत्रिया अघि बढाएर चिनियाँ पक्षलाई आग्रह गर्दा पनि म्याद थप नभएपछि समस्या भएको छ । समयमै भुक्तानी गर्न नसक्दा चिनियाँ ठेकेदार कम्पनी सीडब्ल्यूले निर्माण गरिरहेको प्रसारण लाइनको काम सुस्त गतिमा अघि बढेको छ ।

    आयोजनाका अनुसार, करिब १५ करोड रूपैयाँ ठेकेदार कम्पनीलाई दिन बाँकी छ । काठमाडौसँग जोड्ने ४५ किलोमिटर लामो प्रसाारण लाइनका लागि आवश्यक सामान र उपकरणहरू ल्याउनका लागि भन्दै ठेकेदार कम्पनीले पटकपटक भुक्तानी मागे पनि आयोजनाले दिन सकेको छैन भने सिभिलतर्फको ठेकेदार कम्पनीले आयोजनाको निर्माण कार्यमा सुस्तता ल्याएको छ ।

    प्राधिकरणले सिभिल ठेकेदारको म्याद २० अप्रिल २०१९ सम्म थपिसकेको छ । आयोजना प्रमुख जोशी छिट्टै बर्षा सुरु हुने र वर्षाअघि नै आयोजना अघि बढाउनका लागि क्याम्पको निर्माण गरिसक्नुपर्ने, सिमेन्ट र छड वर्षालाई समेत पुग्नेगरी ल्याउनुपर्ने भए पनि भुक्तानी गर्न नसक्दा समस्या परेको बताउँछन् ।

    “आयोजनाको निर्माण कार्यले नै सुस्तता लिन थालेको छ, चाँडै लगानीको व्यवस्था भएन भने आयोजनाको सम्पन्न गर्ने विधि अझै ढिलाइ हुनेछ,” उनले भने । पटकपटक म्याद थप्दै आएको आयोजनाले अप्रिल २०१९ भित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

    ७ सय ९४ आरएमबी अर्थात करिब साढे १२ अर्ब लगानीको प्रतिवद्धता गरेको एक्जिम बैकले आयोजना र प्रसाारण लाइनका लागि करिब ५० प्रतिशत ऋण दिईसकेको छ भने ५० प्रतिशत अझै लगानी गर्न बाँकी छ ।

    भूकम्पले आयोजनाको पहुँच सडकका साथै बाँधमा ठुलो क्षति पु-याएपछि आयोजनाको काम झण्डै डेढ बर्ष ढिला भएको थियो ।  आयोजनाको प्रवेशमार्ग खुलाउन र बाँधको दायाँ र बाँया दुवैतर्फको ठूलो पहिरो व्यवस्थापनको जिम्मा सरकारले नेपाली सेनलााई दिएको थियो ।

    २०७३ असार १५ गतेसम्म अर्थात २०१६ को जुन ३० सम्म सम्पन्न हुनेगरी आयोजनाको दोस्रो पटक म्याद थपिएकोमा फेरि तेस्रोपटक थपिएको छ तर फेरि आयोजनाको काममा सुस्त भएको आयोजनाका अधिकारीहरू नै बताउँछन् ।

     चीनको आर्थिक सहयोगमा तथा सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माणको ठेकेदार चिनियाँ कम्पनीनै संलग्न भएपनि चीनको एक्जिम बैकले अर्थ मन्त्रालयले गरेको अनुरोधलाई बेवास्ता गर्दै म्याद नथपेपछि आयोजना निर्माणमा समस्या थपिएको हो ।

    सन् २०११ मा ३५ महिनामा काम सम्पन्न गर्ने गरी चाइना गेजुवासँग इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्र्याक्ट (ईपीसी) प्रारूपमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

    पछि २६ महिना म्याद थपेर ०७३ असार १५ मा सम्पन्न गर्ने म्याद थपिएको थियो । नुवाकोट र रसुवामा रहेको सो आयोजनाबाट वार्षिक ४८ करोड ९७ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

    स्रोत: कारोबार