चाइना गेजुवालाई कालोसूचीमा राख्न ६ महिना लाग्ने

    2112

    काठमाडौं, २५ पुस – सान्जेन जलविद्युत् आयोजनाको सिभिल निर्माणमा कम दर कबोल गरेको चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई कालोसूचीमा राख्न छ महिना लाग्ने भएको छ ।
    गएको डिसेम्बरसम्म पनि सिभिल निर्माणको ठेक्का समझौता गर्न नआएर ठेक्काभन्दा बाहिरको थप सर्त राखेपछि सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले ३ करोड रुपैयाँ धरौटी जफत गरेर कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यलय (पीपीएमओ) लाई पत्राचार गरेको छ । उसले ४२ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको सिभिल निर्माण गर्न डेढ अर्ब रुपैयाँ प्रस्ताव गरेको थियो ।
    चाइना गेजुवालाई सान्जेनले कालोसूचीमा राख्न पत्राचार गरेको कार्यालयका पीपीएमोका सचिव धनबहादुर तामाङले जानकारी दिए । सार्वजनिक खरिद ऐनअनुसार विभिन्न कानुनी प्रक्रिया पु¥याउन छ, महिनासम्म लाग्ने बताउँदै उनले भने, “कालोसूचीमा राख्नुअघि जानकारी लिने, सम्बद्ध कम्पनीबाट जानकारी लिनेलगायतका प्रक्रियाले ढिलाइ हुन्छ ।”
    सान्जेनले चाइना गेजुवालाई बिड सेक्युरिटी लिएर आउन गत डिसेम्बर २३ तारिखसम्मको म्याद दिएकोमा नआएपछि अघिल्लो बिहीबार उसको बिडबन्ड जफत गरेर कालोसूचीमा राख्न कार्यालयमा अनुरोधपत्र पठाएको थियो ।
    उसले दाबी गर्नका लागि १ वर्ष समय थप गर्नुका साथै ठेक्काविपरीतका मागहरु राखेपछि कालोसूचीमा राख्न अनुरोध गरिएको आयोजना प्रमुख मिलापबहादुर पाण्डेले बताए । उनका अनुसार आयोजना सन् २०१५ को अन्त्यसम्म सक्ने लक्ष्य लिइएको छ । आयोजना निर्माण ढिलाइ भए कम्पनीले विद्युत् प्राधिकरणलाई उल्टै हर्जाना तिर्नुपर्ने अवस्था आउने उनले बताए । आयोजनाको जडित क्षमता ४२ मेगावाट छ ।
    यसअघि चाइना गेजुवाले चिलिमे जलविद्युत् आयोजनाको सिभिल निर्माण गर्न नसकेपछि बीचैमा छोड्दा आयोजना निर्माण दुई वर्ष ढिला भएको थियो । यस्तै कम दर कबोल गरेर चमेलिया जलविद्युत् आयोजनाको सिभिल निर्माणको काम पाएको गेजुलाले निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
    गेजुवाले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको क्षमता ६० मेगावाटबाट बढाएर ९० मेगावाट पु¥याउन चलखेल गरेको छ, जसले गर्दा आयोजनाको भविष्य अन्योलमा परेको छ । त्रिशूलीको जस्तै उसले सान्जेनमा सौदाबाजी गर्न खोजेको छ । यस्तै भेरी बबई डाइभर्सन बहुउद्देश्यीय परियोजनामा अनुमानित लागतभन्दा बढी दर प्रस्ताव गरेपछि बोलपत्र रद्द हुने अवस्थामा छ ।

    प्रस्तुति: कारोबार