खिम्ती–२को ८ अर्ब ६५ करोड लगानी जुट्यो

    1313
    काठमाडौं । ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजननाको वित्तिय व्यवस्थापन (फाइनान्सियल क्लोजर) भएको छ । सानीमा बैकको अगुवाईमा सिद्धार्थ, नबिल, नेपाल बैक,जनता,एनआईसी एसिया,एनएमबी, बैंक अफ् काठमाण्डू, सिभिल, ग्लोबल आईएमई र एनसीसी बैकले ६ अर्ब ४८ करोड ४० लाख रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।
    कूल अनुमानित लागत ८ अर्ब ६५ करोड रुपैयाँ रहेको आयोजनाको बाँकी रकम इक्विटीबाट लगानी हुने प्रवद्र्धक कम्पनी पिपल्स इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
    राजधानीमा आइतबार भएको कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष आचार्य र कन्र्सोटियम लगानीको नेतृत्व गरेको सानीमा बैकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले ऋण सम्झौता आदान प्रदान गरी आयोजनाको फाइनान्सियल क्लोजरको घोषणा गरे ।
    आचार्यले आयोजना सहकारी मोडलमा निर्माण गर्न खोजिएको भएता पनि कानुनी जटिलका कारण सम्भव नभएको बताए । ‘लगानीकर्ताले हाम्रो टिमलाई जुन किसिमले विश्वास गर्नु भएको छ, त्यसलाई धोका दिंदैनौ’,उनले भने,‘तोकिएको समय र लागतमा आयोजना निर्माण गरेरै छोड्छौं ।’ बैकका सिइओ दाहालले आयोजना तोकिएकै समय र लागतमा बन्नु पर्ने बताए ।
    दोलखा र रामेछापमा निर्माण हुने आयोजनाबाट हिउँदमा ४ करोड ५० लाख र वर्खामा २१ करोड ५० लाख गरी वार्षिक २६ करोड युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाको वार्षिक कूल अनुमानित आम्दानी एक अर्ब ४० करोड र वार्षिक ३ प्रतिशतका दरले आठ पटकसम्म मूल्यबृद्धि (स्कालेसन)  हुँदा नवौं वर्षमा एक अर्ब ७४ करोड रुपैयाँ आम्दानी पुग्गे कम्पनीले जनाएको छ । आयोजनाको विजुली प्राधिकरणले हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्खामा ४ रुपैयाँ ८० पैसा प्रतियुनिटमा किन्ने छ ।
    आयोजनाको निर्माण २०७८ असारभित्रमा सक्ने लक्ष्य राखिएको छ । आयोजनाको विद्युत किर्नेटारमा निर्माण हुने न्यू खिम्ती सवस्टेसनमा जोडिने छ ।