खानीखोला १ बाट यही वर्ष २५ मेगावाट विद्युत् उत्पादन

    1969

    ४० मेगावाट क्षेमताको खानीखोला १ जलविद्युत् आयोजनाले यही चैत महिनाभित्र पहिलो चरणको २५ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । हाल आयोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका जनसम्पर्क अधिकृत विकास कार्कीले जानकारी दिए । ‘दोलखाको उच्च हिमाली भेगमा निर्माणाधीन आयोजनास्थलमा वर्षको ६ महिना पनि काम गर्न सकिन्न,’ उनले भने, ‘तैपनि, हालसम्म ९० प्रतिशत काम पूरा भएको छ ।’

    आयोजना दोलखाको गौरीशंकर गाउँपालिकाको खानीखोला र हनबु खोलाको दोभानमा पर्छ । त्यहाँ भूमिगत रूपमा पावरहाउसको काम भइरहेको छ । अधिकृत कार्कीका अनुसार खानीखोलालाई फर्काएर साढे २ किलोमिटर हेडरेस सुरुङ निर्माण गरी पावरहाउससम्म ल्याउने काम झन्डै ८८ प्रतिशत सम्पन्न भइसकेको छ । अब केही दिनभित्रै पेनस्टकको काम सुरु हुनेछ । आयोजनाको गे्रस हेड ९ सय ६३ मिटर छ । हेडरेस र ठाडो सुरुङको काम पूरा भएको उनले बताए । सिभिलतर्फ हेडबक्सको काम भने केही बाँकी छ । अहिले पावरहाउसमा उपकरण जडान, ठाडो सुरुङमा पेनस्टक पाइप जडान र सबस्टेसनको केही काम भइरहेको कार्कीले बताए ।

    गौरीशंकर गाउँपालिकाको उच्च भूभागमा रहेको आयोजनामा मंसिर लागेपछि सुरुङभित्र बाहेक बाहिरी सतहमा चिसोका कारण काम गर्न नसकिने स्थानीयहरूले बताएका छन् । सुरुङभित्र तापक्रम पुग्ने भएकाले मेसिन जडानलगायतको काम गर्न सके पनि बाहिरका कामहरू गर्न नसकिने आयोजना प्रमुख सुवास बरालले जानकारी दिए । आयोजनाको हेडबक्स (बाँध, इन्टेक, पानी थिग्र्याउने पोखरी)को काम गर्ने ठाउँमा मंसिरदेखि मध्य फागुनसम्म हिउँ तुसारो र हिउँ जम्ने हुनाले काम गर्न नसकिने प्रमुख बरालको भनाइ छ ।

    ५ वर्षअघि सुरु भएको आयोजनाको प्रवद्र्धक कम्पनी ग्रिनलाइफ इनर्जी प्रालिले भोर्लेदेखि पावरहाउस कोप्लाङसम्म ३० किलोमिटर सडक निर्माण गरी प्रयोग गरिरहेको छ । त्यस्तै, त्यहाँबाट सामान ढुवानीका लागि हेडबक्ससम्म रोप वे मेसिनको प्रयोग गरी काम गरिरहेको छ । रोप वे प्रयोग गर्ने जलविद्युत् आयोजनामध्ये नेपालमा यो पहिलो आयोजना हो । सरकारले निर्माण गर्न लागेको लादुक र सुरी जोड्ने तामाकोसी नदीमा पुलको काम ढिला भएपछि आयोजना आफैँले बेलिब्रिज हालेको छ ।

    आयोजनाले तामाकोसीसहित, गुरुम्फी, घट्टेखोलालगायत ४ ठाउँमा बेलिब्रिज राखेर नियमित सडक सञ्चालन गरेपछि स्थानीयलाई समेत सहज भएको छ । आयोजना प्रमुख बरालका अनुसार पहिलो चरणमा खानीखोलाको पानी फर्काएर २५ मेगावाट विद्युत् उत्पादन गरिनेछ । दोस्रो चरणमा हनबु खोलाको पानी फर्काएर हेडबक्समा खसालेपछि थप १५ मेगावाट थप हुनेछ । तर, आयोजनाको हेडबक्स, सुरुङ, पावरहाउस सबै ४० मेगावाटकै लागि तयार भएका छन् ।
    आयोजनामा प्राइम, नबिल, सिटिजन्सलगायत ९ वटा बैंकले ऋण लगानी गरेका छन् । कुल ४ अर्बको अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत संस्थापक लगानी रहेको छ । आयोजनाबाट उत्पादित विद्युत् ३९ किलोमिटर लामो प्रसारण लाइन बनाएर सिंगटी सबस्टेसनमा जोडिनेछ ।

    मुख्य समस्या  नै ट्रान्समिसन लाइन
    विशेष गरी दोलखाको उत्तरी क्षेत्रअन्तर्गत तामाकोसी नदी बेसिन र खारेखोला करिडोरमा बनिरहेका जलविद्युत् आयोजनाहरूको एउटै मात्र समस्या ट्रान्समिसन लाइन हो । हतार गरी आयोजना सम्पन्न गरे पनि सरकारलाई विद्युत् बिक्री गर्न आयोजनाहरूलाई अप्ठ्यारो छ ।

    स्रोत : नयापत्रिका