कुलेखानी दोस्रोको मर्मत सुरु, लोडसेडिङ नबढाउन डिजेल प्लान्ट

    2652

    kulekhani damaged transformersमकवानपुर, बैशाख ५ – आगलागीबाट जलेर क्षति पुगेको मकवानपुरको भैंसे गाविस-१ स्थित कुलेखानी दोस्रो जलविद्युत् आयोजनाको ३ वटा ट्रान्सफर्मर मर्मतसम्भार सुरु गरिएको छ।

    ट्रान्सफर्मर जलेपछि ३२ मेगावाट विद्युत् उत्पादन हुने दोस्रो आयोजना बन्द हुँदा लोडसेडिङमा प्रभाव पर्ने भएपछि मर्मतसम्भार बुधबारबाटै सुरु गरिएको हो। ट्रान्सफर्मरमा हाइभोल्टेजका कारण ‘ब्रसिङ ब्रस्ट’ भई आगो लाग्दा झण्डै ५ करोडको क्षति भएको थियो।

    तत्काल मुलुकको विद्युत आपूर्तिमा प्रभाव पर्ने देखिएपछि आयोजनालाई छिट्टै मर्मतसम्भार गराउन दबाब परेको हो। आगोले पुर्‍याएको नोक्सान आँकलन गरी विद्युतगृहमै एउटा ट्रान्सफर्मर मर्मत हुने भएको छ। बढी क्षति भएको अर्को उपकरण भने मर्मतसम्भारका लागि हेटौंडाको विद्युत प्राधिकरणकै केन्द्रीय वर्कसपमा ल्याइएको छ।

    ‘मर्मतसम्भार सुरु भइसकेको छ। एउटा आयोजनास्थलमै प्राविधिकले मर्मत गर्दैछन्। अर्को केन्द्रीय वर्कसपमा मर्मत हुँदैछ’ आयोजना प्रमुख कृष्णप्रसाद यादवले भने, ‘प्राधिकरणका सबै अनुभवी प्राविधिक यसैमा लागेका छन्। करिब ५० जनाले बुधबारबाटै काम सुरु गरिसकेका छन्।’ उनले द्रुतगतिमा मर्मतसम्भार गरिने बताए।

    डिजल प्लान्ट १६ घण्टा सञ्चालन

    कुलेखानी दोस्रो परियोजना बन्द भएपछि सम्भावित लोडसेडिङ कम गर्न हेटौंडाको डिजेल प्लान्ट १६ घण्टासम्म सञ्चालन गरिएको छ।

    बढीमा दैनिक ५-१० घण्टामात्र चलाउने गरिएको प्लान्ट बिहीबार १६ घण्टा चलेको डिजल केन्द्र हेटौंडाका प्रमुख राजेशकुमार पाण्डेले जानकारी गराए। उनले मर्मतसम्भारको अवधिसम्म डिजल प्लान्ट सञ्चालन अवधि नघट्ने बताए। गत मंसिरदेखि ७ वटा प्लान्ट रहेको डिजेल केन्द्र सञ्चालन भइरहेको थियो।

    हेटौंडा वितरण केन्द्र प्रमुख पाण्डेका अनुसार ७ वटै प्लान्ट सञ्चालन गर्दा प्रतिघण्टा ३ हजारदेखि ३ हजार पा”चसय लिटरसम्म डिजल खपत हुन्छ। ७ देखि ९ रुपिया” प्रतियुनिट पर्ने विद्युत डिजल प्लान्टबाट उत्पादन गर्दा प्रतियुनिट ३० देखि ३५ रुपैया पर्न जान्छ।

    प्रस्तुतिनागरिक / रामशरण पुडासै