विद्युत चुहावट नियन्त्रणमा कुलमान कमाल, ६ महिनामा १७ प्रतिशत चुहावट घट्यो

    1575

    काठमाडौं।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भए पछिको छ महिनामा साढे चार प्रतिशत बिन्दुले विद्युत चुहावट नियन्त्रण भएको छ। भदौमा कार्यभार सम्हालेयता चुहावट नियन्त्रणमा ‘एग्रेसिभ’ कारवाही अघि बढाएका घिसिङले माघसम्ममा उक्त उपलब्‍धि हासिल भएको जानकारी दिए।

    चालु आर्थिक बर्षको पहिलो छ महिनामा (साउन-पुष) भने चुहावट ३.६३* प्रतिशत बिन्दुले घटेको छ। गत वर्ष साउन देखि पुषसम्ममा २०.३८ प्रतिशत रहेको चुहावट अहिले १६.७५ प्रतिशतमा झरेको हो। गत बर्षसम्म प्राधिकरणको बार्षिक चुहावट २७ प्रतिशत हाराहारी थियो। साउन देखि पुषसम्म बिजुली नै कम उपलब्ध हुने हुँदा चुहावट समेत घट्ने गरेको थियो।

    यसपाली भने अटुट बिजुली दिँदा पनि चुहावट न्यूनीकरण गर्न प्राधिकरण सफल भएको हो। यसरी साउनदेखि पुषसम्मको अवधिमा चुहावट १७.८१ प्रतिशतले घटेको छ। बार्षिक आँकडा अनुसार भने साढे दुई प्रतिशत बिन्दुले चुहावट नियन्त्रण भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। यसरी छ महिनामा चुहावट बापतको सवा अर्ब रुपैयाँ प्राधिकरणले बचाएको छ।

    घिसिङ आएपछि जिल्ला/जिल्लामा विद्युत चुहावट नियन्त्रणमा अभियान सुरु गरेका थिए।उनले पछिल्लो समयमा वर्षोंदेखि एउटै कार्यालयमा बसेर मिटर रिडिङ गरेका २५ सय कर्मचारी समेत सरुवा गरेका थिए। विद्युत चोरी नियन्त्रणमा संलग्न रहेका कर्मचारीको ठूलो समूह पनि पक्राउ परिसकेको छ। यही अभियानले चोरी नियन्त्रणमा प्राधिकरणलार्इ सफलता मिलेको हो।
    चालु आर्थिक बर्षको पहिलो छ महिनामा सबैभन्दा धेरै विद्युत चुहावट हुने जनकपुर क्षेत्रमा करिव १४ प्रतिशत बिन्दुले चुहावट नियन्त्रण भएको छ। जनकपुर क्षेत्रमा अघिल्लो वर्ष ५२.२३ प्रतिशत रहेको चुहावट यो वर्ष ३८.६१ प्रतिशतमा झरेको हो। अझै पनि जनकपुर सबै भन्दा बढी चुहावट हुने क्षेत्रमा पर्छ।
    जनकपुरपछि धेरै चुहावट हुने विराटनगरमा पनि ३.७१ प्रतिशत बिन्दुले नियन्त्रण भएको छ। विराटनगर क्षेत्रमा अघिल्लो वर्ष १९.७८ प्रतिशत रहेको चुहावट यो वर्ष १६.७ प्रतिशतमा झरेको हो।
    तेस्रो नम्बरमा सर्वाधिक चुहावट हुने बुटवलमा २.७५ प्रतिशत बिन्दुले नियन्त्रण भएको  प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए। बुटवल क्षेत्रमा गत वर्ष १८.८७ प्रतिशत रहेको चुहावट अहिले १६.१२ प्रतिशतमा झरेको छ।
    चौथो बढी चुहावट हुने हेटौडा क्षेत्रमा पनि २.८५ प्रतिशत बिन्दुले विद्युत चुहावट नियन्त्रणमा आएको छ। गत वर्ष १७.६४ प्रतिशत रहेको चुहावट यो वर्ष १४.७९ प्रतिशतमा झरेको छ।
    नेपालगञ्ज क्षेत्रमा १ प्रतिशत बिन्दु हाराहारीमा चुहावट नियन्त्रण भएको छ। गत वर्ष १५.६३ प्रतिशत रहेको चुहावट यो वर्ष १४.८४ प्रतिशत कायमै छ।

    पोखरामा गत वर्षकै जति १४ प्रतिशत चुहावट कायमै छ।

    काठमाडौं र अत्तरिया क्षेत्रिय कार्यालय अन्तर्गतको वितरणमा भने चुहावट सामान्य बढेको छ। काठमाडौंमा गत वर्ष ११.३१ प्रतिशत रहेको चुहावट यो वर्ष ११.३७ प्रतिशत पुगेको छ। त्यस्तै अत्तरिया क्षेत्रमा पनि गत वर्ष १३.२५ प्रतिशत रहेको चुहावट यो वर्ष १३.३१ प्रतिशत पुगेको छ। काठमाडौंमा नियमित विद्युत आपूर्ति हुँदा प्राविधिक कारणले नै चुहावट सामान्य तलमाथि हुनसक्ने  अधिकारीले बताए।

    Source:bizmandu