कर्मचारी सञ्चय कोष जलविद्युत्मा रू. २६ अर्ब लगानी गर्दै

    3989

    कात्तिक ९, काठमाडौं ।

    epfकर्मचारी सञ्चय कोषले विभिन्न पाँच जलविद्युत् आयोजनामा रू. २६ अर्ब लगानी गर्ने भएको छ । लगानीका विभिन्न क्षेत्रमध्ये जलविद्युत् सुरक्षित क्षेत्र भएकाले लगानी गर्न लागिएको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले अभियानलाई बताए । ‘पूर्वाधार निर्माण क्षेत्रको लगानीले देशको अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्छ,’ उनले भने, ‘कोष देशको अर्थतन्त्रमा दीर्घकालीन टेवा पुर्‍याउने क्षेत्रमा लगानी गर्न चाहन्छ ।’ यस्तो क्षेत्रको लगानी सुरक्षित हुनुका साथै त्यसबाट लामो समयसम्म प्रतिफल प्राप्त भइरहने उनको भनाइ छ ।

    कोषले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी, १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्य भोटेकोशी, १४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट साञ्जेन जलविद्युत् आयोजनामा लगानी गर्न लागेको हो ।

    लगानी गर्न लागेको रकममध्ये करीब ३ अर्ब रुपैयाँ ती जलविद्युत् आयोजनाहरूमा लगानी भइसकेको कोषको लगानी तथा ट्रेजरी व्यवस्थापन विभागका प्रमुख तथा नायव मुख्य अधिकृत कैलाशभक्त कारञ्जितले जानकारी दिए । उनका अनुसार कोष सञ्चालन समितिको बैठकले ती जलविद्युत् आयोजनामा लगानी गर्न स्वीकृति दिइसकेको छ । कोषले जलविद्युत् लगानी तथा विकास कम्पनीको प्रवद्र्धनात्मक शेयर र सहवित्तीय प्रणालीमार्फत एसएल हाइड्रोपावरमा पनि लगानी गरेको छ  ।

    @ Abhiyan