अरुणभ्यालीले ३ वर्षभित्र विद्युत् उत्पादन ५० मेवा पुर्‍याउँदै

    3010

    साउन २१, काठमाडौं ।

    Arun_Valleyअरुणभ्याली हाइड्रोपावर कम्पनीले आगामी ३ वर्षमा कुल ५० मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । तीनओटा आयोजनामार्फत ५ दशमलव ९ मेगावाट विद्युत् उत्पादन गरिसकेको कम्पनीले थप तीन आयोजना निर्माण गरिरहेको कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले अभियानलाई बताए । उनले भने, ‘कम्पनीले थप आयोजना निर्माण गर्दै जाने लक्ष्य लिएको छ ।’

    आर्थिक वर्ष २०५४/५५ मा स्थापना भएको सो कम्पनीले ३ मेगावाटको पिलुवाखोला, २ दशमलव ४ मेगावाटको रिडीखोला र शून्य दशमलव ५ मेगावाटको रैराङ जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । ‘ती आयोजना मुलुक चरम द्वन्द्वको चपेटाबाट गुज्रिरहेको समयमा निर्माण भएका आयोजना हुन्, ’उनले भने, ‘हाल आयोजना निर्माणमा केही सहजता आएकाले थप निर्माण गर्न लागिएको हो ।’

    पिलुवाखोला निजीक्षेत्रबाट निर्माण भएको पहिलो आयोजना भएको पनि उनले बताए । न्यौपानेका अनुसार अरुणभ्यालीकै सहायक कम्पनी अपि पावर (प्रा) लिद्वारा प्रवर्द्धन गरिएको ८ दशमलव ५ मेगावाटको नौगडगाढ जलविद्युत् आयोजना आगामी वर्ष पूरा हुनेछ ।

    ‘दार्चुला–बैतडी जिल्लामा निर्माणाधीन सो आयोजनाबाट २०७१ साल भित्रमा विद्युत् उत्पादन हुँदै छ । ’नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच विद्युत् खरीद सम्झौता (पीपीए) पनि भइसकेको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनसमेत जुटाइसकिएको न्यौपानेले बताए । यसैगरी अरुण भ्यालीकै सहायक कम्पनी अरुण कावेली पावर लिमिटेडले पाँचथर र ताप्लेजुङको सिमानामा रहेको २५ मेगावाटको काबेली बी–१ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजना २०७२ सालको अन्त्यसम्ममा पूरा गरिने पनि उनले बताए । सो आयोजनाको पनि पीपीएलगायतको काम पूरा भइसकेको पनि कम्पनीले बताएको छ । यसैगरी अरुण भ्यालीकै सहायक कम्पनी रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले  ९ दशमलव ९ मेगावाटको इवाखोला जलविद्युत् आयोजना पनि २०७३ को अन्त्यसम्ममा निर्माण पूरा गर्ने लक्ष्य लिएको छ ।

    Source : Abhiyan