अनुप र कुलमानलाई सुप्रबल जनसेवाश्री पदक

    2185
    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुप्रबल जनसेवाश्री पदक पाएका छन् । 
    सरकारले गणतन्त्र दिवस–२०७४को अवसरामा उपाध्याय र घिसिङलाई पदक दिने निर्णय गरेको थियो ।  राष्ट्रपति कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदक प्रदान गरेकी छन् । उपाध्याय प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुन् । उनीहरुको नेतृत्वमा मुलुकले भोगिरहेको १३ वर्षको यो कहालिलाग्दो लोडसेडिङ हटेको थियो भने समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना अगाडि बढेको छ । 
    यसमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जा मन्त्री जनार्दन शर्माले राजनीतिकरुपमा नेतृत्व गरेका थिए । अहिलका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले पनि उज्यालो नेपाल अभियान अन्तर्गत जनताको लगानीमा आकर्षक जलविद्युत आयोजनाको निर्माण गर्ने,ऊर्जा क्षेत्रको पुर्नसंरचना गर्ने लगायतका महत्वपूर्ण काम अगाडि सारेका छन् ।  
    उपाध्यायले लोडसेडिङ अन्त्य, निर्माणाधीन आयोजनाको कामलाई तिब्रता दिने, प्राधिकरणको प्रशासनिक तथा वित्तीय पुर्नसंरचनाका लागि प्राधिकरण सञ्चालक समिति अध्यक्षको रुपमा रहेर नीतिगत निर्णय गरेका थिए । 
    कार्यकारी निर्देशक घिसिङले बोर्डको निर्णय कार्यान्वयमा लगेका थिए । घिसिङले मुलुकलाई लोडसेडिङमुक्त मात्रै गरेनन् घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान, विद्युत चुहावट ५ प्रतिशतभन्दा बढी घटाउन लगायतका काम गर्न सफल भएका छन् ।