वैशाख ४, काठमाडौं । आगामी ७ वर्षमा देशको प्रतिव्यक्ति विद्युत् खपत वार्षिक २ हजार युनिट पुर्याइने भएको छ । उक्त अवधिमा १७ हजार मेगावाट विद्युत् उत्पादन गरी प्रतिव्यक्ति खपत वृद्धि गरिने भएको हो । ऊर्जा मन्त्रालयद्वारा सोमवार राजधानीमा आयोजित अन्तरक्रियामा ऊर्जामन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
‘सरकारको प्रत्यक्ष नेतृत्वमा ८ हजार मेगावाट र अन्य गरी कुल १७ हजार मेगावाट विद्युत् उत्पादन हुनेछ,’ उनले भने, ‘त्यसका लागि लाग्ने ७ वर्षको अवधिको गणना आजकै मितिबाट शुरू हुन्छ ।’ हाल देशको ऊर्जा उत्पादन करीब ५ सय ६ मेगावाट रहेको छ । त्यस्तै भारतबाट आयात गरिएको करीब ३ सय ६९ मेगावाटसमेत गर्दा हालको प्रतिव्यक्ति विद्युत् खपत १ सय ६० युनिट मात्र हुन आउँछ ।
आफूले मन्त्रीको पदभार सँभाल्दा देश लोडशेडिङको चरम मारमा रहेको स्मरण गर्दै यसको अन्त्यका लागि सहयोग पुर्याउने सबैलाई मन्त्री शर्माले धन्यवाद दिए । ‘पछिल्लो दशकमा लोडशेडिङले औद्योगिक, व्यापारिक क्षेत्रमा ठूलो असर पारेको थियो भने जनताले ठूलो यातना भोगेका थिए,’ उनले भने, ‘लोडशेडिङ अन्त्यले आर्थिक वृद्धिदरमा हालसम्मकै उच्च वृद्धि हुनुका साथै दैनिक जनजीवनदेखि शान्तिसुरक्षामा समेत सकारात्मक प्रभाव पारेको छ ।’ सामूहिक म्याराथुनझैं काम गरेका कारण यो परिवर्तन ल्याउन सकिएको मन्त्री शर्माको भनाइ थियो । यसैगरी काम हुँदै गए केही वर्षभित्रै छिमेकी देशहरू नेपालको विद्युत् आयातका केन्द्रबाट विद्युत् तथा विद्युत्बाट उत्पादित वस्तुको निर्यात गर्ने बजार बन्ने उनले बताए ।
लोडशेडिङको व्यवस्थापन पनि कला
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडशेडिङको व्यवस्थापन एक कला भएको उल्लेख गरे । ‘उपलब्ध विद्युत्बाट डिमाण्ड साइड म्यानेजमेण्ट तथा चुहावट नियन्त्रण गर्दै जाँदा आजको परिणाम आएको हो,’ उनले भने, ‘नयाँ गर्नुपर्ने साथै भएकैको सुधार र व्यवस्थापनका अझै धेरै काम बाँकी छन् ।’ उनले मन्त्रालयका साथै प्राधिकरण विद्युत् उत्पादनसँगै प्रसारण र वितरण प्रणाली सुदृढीकरणमा समेत सक्रिय भएर लागेको बताए ।
कार्यक्रममा उपस्थित उद्योग, व्यवसाय, अस्पताल लगायत अन्य संस्थाका प्रतिनिधिहरूले हालको व्यवस्थापनले विद्युत् आपूर्तिमा अकल्पनीय परिवर्तन ल्याएको उल्लेख गरे । ‘हिजोका दिनमा अस्पतालहरूमा भेण्टिलेटरमा राखिएका बिरामीसमेत लोडशेडिङ हुनासाथ म्यानुअल भेण्टिलेटरमा राख्नुपर्ने अवस्था थियो,’ कार्यक्रममा डा. भोला रिजालले भने, ‘आजका दिनमा अविच्छिन्न रूपमा विद्युत् पाएका छौं, सेवा सहज भएको छ ।’ कार्यक्रमका सहभागीहरूले विद्युत्का कारण आआफ्ना क्षेत्रमा परेका समस्या राख्नुका साथै तिनको समाधानका लागि सुझावसमेत दिएका थिए । उनीहरूले आफूहरू मन्त्रालय तथा प्राधिकरणले गरेका आग्रहहरूमा साथ दिँदै अघि बढेको स्मरण गराए ।
गएको कक्षा १० को वार्षिक परीक्षाका बेला प्राधिकरणको आग्रहअनुरूप होटल व्यवसायीहरूले पीक आवरमा विद्युत्का लागि आफ्नै वैकल्पिक व्यवस्था गरेका थिए । अझै पनि पीक आवरमा ठूला उपकरण प्रयोग नगरी सहयोग गर्ने होटल एशोसिएशन नेपालका महासचिव विनायक शाहले बताए । ‘प्राधिकरणले पनि अवरोधरहित विद्युत् प्रवाहको व्यवस्थाका लागि प्राविधिक सुधार गर्नुपर्छ,’ उनले भने, ‘त्यसैगरी होटलका पार्क, पार्किङलगायत स्थानमा सोलार विद्युत् जडानका लागि सहयोगको पनि अपेक्षा गर्छाैं ।’
सोलार विद्युत्को व्यवस्थाका सम्बन्धमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विशेष चासो दिदैँ यस कार्यमा अघि बढ्न होटेल व्यवसायीलगायत सम्पूर्ण क्षेत्रलार्इ आग्रह गरे । ‘यसरी तपाईंहरूले गर्ने विद्युत् उत्पादन बढी भए हामी किन्नसमते तयार छौं ’ उनले भने ।
स्रोत:अभियान