सिप्रिङ खोलाको विद्युत् तामाकोसीमा

    2113

    सिप्रिङ खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् माथिल्लो तामाकोसी आयोजनामा प्रयोग हुने भएको छ । सिप्रिङ खोला आयोजना सम्पन्न हुन लागे तापनि सिंगटीमा नेपाल विद्युत् प्राधिकरणले बनाउन लागेको सब स्टेसन पूरा नहुँदा १० मेगावाट क्षमताका सिप्रिङ विद्युत् माथिल्लो तामाकोसी लाने तयारी गरिएको हो । सिप्रिङको विद्युत् माथिल्लो तामाकोसीमा पनि पूरै खपत हुन सक्दैन । माथिल्लो तामाकोसीमा अधिकतम ७ मेगावाट विद्युत् आवश्यक पर्छ ।
    विद्युत् खपत गर्ने विषयमा नेपाल विद्युत् प्राधिकरण र सिप्रिङको प्रवद्र्धक सिनर्जी हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको छ । सम्झौताअनुसार सिप्रिङको विद्युत् लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र मकैबारीस्थित नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनमा जोड्निेछ । सम्झौतामा विद्युत् प्राधिकरणका व्यापार विभाग प्रमुख शेरसिं भाट र सिनर्जी डेभलपमेन्ट प्रालिका अध्यक्ष विष्णुराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
    सिप्रिङ खोला आयोजनाको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख प्रह्लाद चौधरीले जानकारी दिए । गौरीशंकर र खारे गाविसबीचमा पर्ने १० मेगावाट क्षमताको आयोजनाको पेनस्टक पाइप र इलेक्ट्रोमेकानिलका सामान्य कामबाहेक सबै पूरा भएको छ । १ हजार ४ सय ५० मिटर लामो सुरुङसहित हेडवक्र्सको सबै काम पूरा भएको छ । ६ सय ६५ मिटर पेनस्टक पाइपमध्ये ५० प्रतिशत जडानको कामसमेत पूरा भएको उनले जानकारी दिए । जडान भएका मेसिनहरूको परीक्षण गर्ने तयारी भइरहेको उनले बताए । विद्युत् खरिद सम्झौता (पीपीए) मा आयोजनाबाट ७ महिना पहिले नै विद्युत् उत्पादन गरिसक्नुपर्ने भए पनि काम सकिन अझै चार महिना लाग्ने देखिएको छ ।
    खोलाको बहावमा आधारित सो आयोजनाबाट असारदेखि कात्तिकसम्म १० मेगावाट र सुख्खायाममा ३ मेगावाट मात्र विद्युत् उत्पादन हुने प्राविधिकहरू बताउँछन् ।

    प्रस्तुति: कारोबार