मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट क्षमताको विद्युत् उत्पादन भइरहेको छ । तर, उत्पादनगृहछेवैका बासिन्दा भने सोलार र टुकीको भरमा छन् । ६ वर्षदेखि घरमा वायरिङसमेत गरेर विद्युत्को आसमा बसेका भोटेओडारमा बसाइँ सरेर आएका परिवारले अझै विद्युत् पाएका छैनन् ।
नेपाल विद्युत् प्राधिकरण र लमजुङ विद्युत् उपभोक्ता संस्थाले विद्युत् विस्तारमा चासो नदेखाएकाले सेवाबाट वञ्चित भएको स्थानीयको गुनासो छ । वर्षौँदेखि विद्युत्का लागि संघर्ष गरे पनि सुनुवाइ नभएपछि स्थानीय निराश भएका छन् । विभिन्न ठाउँबाट बसाइँ सरेर आएकाहरू यस्तो सेवाबाट वञ्चित भएका हुन् । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाले ०६५ बाट विद्युत् उत्पादन सुरु गरेको थियो । सुन्दरबजार नगरपालिका ८ डुँडकुलोनजिकैको मोहोरियाटोलका धेरै परिवारले यस्तो समस्या भोगिरहेका छन् ।
बिजुली प्रयोग नगरी महसुल
बिजुली आउला र बत्ती बालौँला भनेर उनीहरूले घरमा वायरिङसमेत गरेर स्विचबोर्ड, बत्ती र पंखाको होल्डरसमेत जोडेर बसेको धेरै वर्ष भइसक्यो । तर, बत्ती बाल्ने उनीहरूको सपना अहिलेसम्म पूरा भएको छैन । वर्षौँदेखि आफूहरू उदिपुरस्थित नेपाल विद्युत् प्राधिकरण, बेँसीसहरस्थित प्राधिकरणको कार्यालय र रानीकुवास्थित लमजुङ विद्युत् उपभोक्ता संस्थामा धाउँदा आफूहरू थाकिसकेको ८९ वर्षीय वृद्धा पदम गिरीले बताए । ‘विद्युत्का कर्मचारी आज आउलान्, भोलि आउलान् भन्ने आसमा बस्दाबस्दै आजसम्म आएनन्,’ गिरीले भने, ‘अब त घरमा बत्ती बलेकोसम्म देख्न नपाई मरिन्छ कि जस्तो लाग्न थालिसक्यो ।’ बलिथुम गाउँबाट बेँसीमा बसाइँ सरेर आएका गिरीले मिटरबक्सको ठाउँसारीका लागि निवेदन, आवश्यक शुल्क र अन्य कागजात विद्युत् उपभोक्ता संस्थामा बुझाएको पनि तीन वर्ष पुग्न लागिसकेको बताए । बिजुली बाल्न नपाए पनि झन्डै एक वर्षजति मासिक ८० रुपैयाँ र त्यसपछि मासिक ३० रुपैयाँ न्यूनतम शुल्क बुझाउँदै आएको गिरीले बताए ।
जिम्मेवारी लिन तयार भएनन्
स्थानीय उपभोक्ताले धेरै समयदेखि सास्ती पाएको र आफूले पटक–पटक सम्बन्धित कार्यालयका प्रमुख तथा पदाधिकारीलाई नै भेटेर समस्या समाधान गर्न आग्रह गर्दा सुनुवाइ नभएको वडाध्यक्ष कृष्णकान्त अधिकारीले बताए । नयाँ बस्तीमा विद्युत् प्राधिकरणले नै तार विस्तार गर्ने बताउँदै उपभोक्ताले सोही कार्यालयमा ताकेता गर्नुपर्ने लमजुङ विद्युत् उपभोक्ता संस्थाका प्राविधिक ओभरसियर हरिश्चन्द्र आचार्यले बताए । यता उपभोक्ता भने उपभोक्ता संस्थाले प्राधिकरण र प्राधिकरणले उपभोक्ता संस्थामा जानु भन्दै आफूलाई लुकामारी खेलाएझैँ बनाएको गुनासो गरेका छन् ।
कसैको घरमा टाढादेखि तार
कतिपय परिवारले भने टाढाबाट तार लिएर बत्ती बालेका छन् । लामो दूरीमा पर्ने बँेसीसहर–डुम्रे सडकछेउको वितरण लाइनबाट तार लगेर विद्युत् उपभोग गरेका छन् । टाढाबाट तार लैजाँदा धेरै आर्थिक भार परेको छ भने बाक्लो बस्ती भएकाले कतै छिमेकीका घरका छत, कतै बार्दली, कतै पिलरमाथिबाट तार पास गराइएकाले धेरै तनाव झेल्नुपरेको उपभोक्ता बलराम ढकालले बताए । ‘यसरी तार टाँगेर ल्याउँदा छिमेकीलाई विद्युतीय दुर्घटनाको खतरा छ भन्ने हामीले राम्ररी बुझेका छौँ,’ उनले भने, ‘कतिपयले मुखै फोरेर भने, कतिले भन्न सकेका छैनन्, तर हामीसँग विकल्पै भएन ।’ आपूmहरूको समस्याबारे धेरैपटक सम्बन्धित निकायमा पुगेको तर कहीँ कतैबाट पनि सुनुवाइ नभएको उनको गुनासो छ ।
सोलारबत्ती र टुकी बालेर एसइईको तयारी
जलविद्युत् आयोजनाछेवैको भोटेओडारका विद्यार्थीले सोलार र टुकी बालेर माध्यमिक शिक्षा परीक्षा (एसइई) तयारी गरिरहेका छन् । भोटेओडारस्थित भक्ति नमुना मावि कक्षा १० मा अध्यनरत १६ वर्षीय सोमनाथ भुजेलले कहिले सोलारबत्ती त कहिले टुकीबत्तीको सहाराले एसइई परीक्षाको तयारी गरिरहेको बताए । दिनभरि घाममा चार्ज गरेको सोलारबत्ती एक–डेढ घन्टा बल्ने र त्यसपछि ११ बजेसम्म टुकी बालेर पढ्ने गरेको भुजेलको गुनासो छ । बिहान उठेर पनि टुकी बालेर पढ्नुपर्ने बाध्यता रहेको भुजेलको गुनासो छ । उनीजस्ता धेरै विद्यार्थीले उस्तै समस्या भोगिरहेका छन् ।
शान्ता कमली
स्रोत:नयाँपत्रीका