वार्षिक ६८ करोडको इन्धन चोरी

    1074

    काठमाडौं – विगतका वर्षमा ढुवानीका क्रममा वार्षिक कम्तीमा ६८ करोड रुपैयाँबराबरको इन्धन चुहावट (चोरी) भएको तथ्य पुष्टि भएको छ। नेपाल आयल निगमले इन्धन ढुवानीमा ‘सेक्युरिटी लकिङ सिस्टम’ प्रयोगमा ल्याउनुभन्दा अघि वार्षिक ६८ करोड रुपैयाँबराबरको इन्धन चुहावट भएको पुष्टि भएको हो।

    विगतमा इन्धन ढुवानीक्रममा ट्यांकरचालकले बीच बाटोमा तेल चोरी गरेको कारण पूरा परिणाम नआएको निगम र पम्प सञ्चालकले बताउँदै आएका थिए। निगमले ढुवानीक्रममा हुने तेल चोरी नियन्त्रण गर्न सबै ट्यांकरमा ‘सेक्युरिटी लकिङ सिस्टम’ जडान गरेपछि इन्धन चुहावट (चोरी) नियन्त्रण भएको छ। यसै आधारमा विगतमा वार्षिक ६८ करोग रुपैयाँबराबरको इन्धन चोरी भएको रहस्य खुलेको हो।

    इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ढुवानी गर्ने ट्यांकरमा ‘लकिङ सिस्टम’ जडान गरेपछि प्रतिट्यांकर करिब ५० लिटर तेल बचत भएको निगमले जनाएको छ। विगतमा भन्दा अहिले प्रतिट्यांकर ५० लिटर तेल धेरै आएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। ‘हरेक ट्यांकरमा विगतमा भन्दा धेरै तेल आएको छ,’ उनले भने, ‘एभरेजमा हरेक ट्यांकरमा ५० लिटर तेल बचत भएको हाम्रो निष्कर्ष छ।’

    आइओसीबाट दैनिक चार सय ट्यांकरले पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मटीतेल, हवाई इन्धन) ढुवानी गर्दै आएका छन्। एउटा ट्यांकरबाट ५० लिटर बचत हुँदा दैनिक २० हजार लिटर तेल चुहावट हुनबाट रोकिएको छ। यसबाट एक महिनामै ६ लाख लिटर पेट्रोलियम पदार्थ जोगिन्छ । पेट्रोल, डिजेल, मटीतेल, हवाई इन्धनको फरक–फरक मूल्य भए पनि प्रतिलिटर सरदर ९५ रुपैयाँले हिसाब गर्दा मासिक पाँच करोड ५० लाख रुपैयाँको तेल चुहावट हुनबाट रोकिएको छ। यसै आधारमा वार्षिक ६८ करोड ४० लाख रुपैयाँ निगमलाई कम व्ययभार परेको निगमले जनाएको छ। ‘सेक्युरिटी लकिङ सिस्टम जडान भएपछि एभरेजमा वार्षिक करिब ६८ करोड रुपैयाँ बचत हुने भएको छ,’ भट्टराईले भने, ‘ट्यांकरमा यो सिस्टम जडान गरेपछि ढुवानीमा रिफर्म नै भएको छ।’

    निगमले आइओसीका विभिन्न रिफाइनरीबाट इन्धन ढुवानी गर्ने करिब ९५ प्रतिशत ट्यांकरमा यो सिस्टम जडान गरेको छ । मुलुकभर करिब १९ सय ट्यांकरले इन्धन ढुवानी गर्दै आएका छन्। यो जडानसँगै डिपोमा हुने गरेको प्राविधिक नोक्सानीमा पनि कमी आएको छ।

    तेल चोरी गर्दै आएका ट्यांकरचालक सेक्युरिटी लकिङ सिस्टमको विरोधमा उत्रिएका थिए। निगम आफ्नो अडानबाट पछि नहटेपछि चालक बाध्य भएर यो प्रविधि कार्यान्वयनमा ल्याउन सहमत भएका थिए। ‘भ्रष्टाचार हुने अखडा’ को रुपमा बदनामी कमाएको निगमले इन्धन ढुवानीमा हुने चोरी नियन्त्रण गरेर सुधारको प्रयास सुरु गरेको छ । निगमले तीन महिनाअघि यो सिस्टम कार्यान्वयनमा ल्याएको हो।

    यो प्रविधिमा डिपोबाट ट्यांकरमा इन्धन भरेपछि सम्बन्धित डिपोमा पुगेपछिमात्र ताल्चा खोलिन्छ। ट्यांकरमा लगाएको ताल्चा बीच बाटोमा खोल्न मिल्दैन। ताल्चा लगाएपछि बीच बाटोमा ट्यांकरबाट तेल झिक्न नदिन निगमले यो विधि प्रयोगमा ल्याएको हो।

    पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी, मिसावट, अनधिकृत काम रोक्न यो भरपर्दो प्रविधि हो। आइओसीले डेढ दशक अघिदेखिनै यो प्रविधि प्रयोगमा ल्याएको थियो।

    अहिले आइओसीमा तेल भरेर ताल्चा लगाएपछि यहाँको डिपोमा आएर मात्र खोल्ने गरिएको छ। ‘ट्यांकर भरेपछि आइओसीका कर्मचारीले ड्राइभरकै रोबहरमा ताल्चा लगाउँछन्,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘त्यो ताला यहाँ आएपछि डिपो कर्मचारीले खोल्छन्।’

    यसमा प्रयोग हुने ताल्चा र साँचो अन्य कुनै कम्पनीले नक्कल गर्न नसक्ने उच्चस्तरीय प्रविधि भएको निगमको दाबी छ। ट्यांकरमा जडान गरिएको सिस्टममा चोरी गर्न खोजे पाइप काट्नुपर्ने भएकाले चालकले जोखिम मोल्न चाहाँदैनन्।

    आइओसीबाट निगमको डिपोमा मात्र भएर डिपोबाट पेट्रोल पम्पसम्म इन्धन ल्याउँदा पनि यो प्रविधि प्रयोगमा ल्याइए यसको फाइदा उपभोक्ताले पनि पाउने व्यवसायी बताउँछन्। ‘आइओसीबाट तेल ल्याउँदा हुने चुहावट नियन्त्रण भएको छ,’ पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने, ‘अब निगमको डिपोबाट पम्पसम्म पनि कार्यान्वयन ल्याउनुपर्छ।’ निगमका डिपोबाट पम्पसम्म प्रयोगमा ल्याए त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउने उनले बताए।

    यो प्रविधि प्रयोगमा नल्याएको भए निगमले थप क्षति व्यहोर्नुपथ्र्यो। इन्धन खपत बढेकाले आयात वृद्धि हुँदा चुहावटको मात्रा पनि बढ्थ्यो। आर्थिक वर्ष ०७४/७५ मा मात्रै करिब एक सय ५५ अर्ब रुपैयाँको इन्धन आयात भएको छ। जुन अघिल्लो वर्षको तुलनामा ४७ अर्ब रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षमा एक सय आठ अर्ब रुपैयाँको इन्धन आयात भएको थियो। इन्धन आयात बढिरहेको अवस्थामा निगमले चुहावट रोकेपछि कम व्यवभार पर्ने भएको छ।

    स्रोत: NagarikNews