बजेट जति सुरुङमा, बाँधको सुरसार छैन

    1735

    काठमाडौं – राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनमा सुरुङ खन्ने काम तीव्र भइरहँदा बाँध निर्माण प्रक्रिया सुरु नहुँदा तोकिएको समयमै काम सकिनेमा शंका उत्पन्न भएको छ। आयोजनाले सुरुङ खन्ने कामलाई मात्र प्राथमिकता दिएको छ । सुरुङ खन्ने र बाँध निर्माण गर्ने काम सँगसँगै हुनुपर्ने स्थानीयको माग छ।

    उक्त आयोजनामा बाँध निर्माण प्रक्रिया सुरु नगरिएपछि समयमै काम सकिनेमा स्थानीय संशकित भएका हुन्। २०६४ देखि प्रत्येक वर्ष सरदर एक अर्ब रुपैयाँ खर्च हुँदै आएको उक्त आयोजना आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गर्ने लक्ष्य सरकारको छ। उक्त आयोजनामा सुरुङ खन्नका लागि नेपालमा पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ।

    सुर्खेत हुँदै बग्ने भेरी नदीको पानी बर्दियामा बग्ने बबई नदीमा मिसाएर बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने र ४८ मेगावाट बिजुली निकाल्ने आयोजनाको लक्ष्य छ। भेरी नदीको पानीलाई सुर्खेतको भेरीगंगा–९ चिप्लेदेखि १२ किलोमिटर सुरुङ खनेर बर्दियाको बबईमा झार्ने योजना छ।

    ‘सुरुङमा १२ अर्ब रुपैयाँ खर्च गर्नु भनेको जनताले चाँडो विकास पाऊन् भनेर हो। सुरुङमा ठूलो रकम खर्च गरेर आयोजनाको बाँकी काममा ढिलासुस्ती गर्ने हो भने राज्यलाई आर्थिक भार मात्र पर्नेछ। त्यो रकम बैंकमा राखेको भए पनि ठूलो ब्याज आउन सक्थ्यो।’

    सुरुङ खन्ने तथा भेरी नदीमा बाँध बनाउने कार्य सँगसँगै हुनुपर्नेमा आयोजनाको ध्यान सुरुङ खन्नेतिर मात्र केन्द्रित भइरहेको भन्दै सबैतिर आलोचना भइरहेको छ। प्रतिकिलोमिटर सुरुङ खन्न एक अर्ब रुपैयाँ खर्च भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतले जनाएको छ। आयोजनाको कुल लागत १६ अर्ब ४३ करोड रुपैयाँमध्ये १२ अर्ब रुपैयाँ सुरुङ खन्नका लागि मात्र खर्च हुने भएको छ।

    संसारका अन्य मुलुकमा भेरी बबई डाइभर्सन सरहको (४.६ मिटर गोलाइ) सुरुङ खन्न प्रतिकिलोमिटर ५० करोड रुपैयाँ लाग्ने मन्त्रालयका एक अधिकारीले बताए। ‘नेपालमा पहिलोपटक प्रयोग गरिएकाले होला टिबिएमको भुक्तानी बढी भइरहेको छ,’ ती अधिकारीले भने। सुरुङ खन्ने जिम्मा चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक) ले पाएको छ।

    आयोजनाका अनुसार टिबिएम कोभेकले नै खरिद गरेको हो। टिबिएमले जति सुरुङ खन्छ, त्यसैको आधारमा भुक्तानीका लागि बिल बन्छ। ६ महिना अघिदेखि सुरुङ खन्न थालिएकोमा हालसम्म ५.४ किमि सुरुङ खन्ने काम सकिएको छ। आयोजना प्रमुख शिव बस्नेत बाँकी सुरुङ खन्न पनि ६ महिनाभन्दा बढी नलाग्ने बताउँछन्। ६ महिनाजतिमा सुरुङ निर्माणको बाँकी काम सकिने भए पनि आयोजनाले त्यसपछि के काम गर्ने भन्ने टुंगो लागेको छैन। मन्त्रालय स्रोतका अुनसार भेरी नदीमा बाँध निर्माण गर्न ६ वर्षअघि गरिएको डिजाइनअनुसार काम गर्न खोजिएको छ।

    सिँचाइ र विद्युत्का लागि पुनः डिजाइन गर्न अझै केही समय लाग्ने स्रोतले बतायो । बाँध निर्माणस्थलमा जग्गा अधिग्रहणको प्रक्रिया पनि अघि बढाइएको छैन। विज्ञहरूले तोकिएको समयमा सिँचाइ सुविधा र विद्युत् निकाल्न नसक्ने हो भने सुरुङका लागि खर्च गरिएको अर्बौैैं रकमको कुनै अर्थ नहुने बताएका छन्। ‘सुरुङमा १२ अर्ब रुपैयाँ खर्च गर्नु भनेको जनताले चाँडो विकास पाऊन् भनेर हो,’ एक विज्ञले भने, ‘सुरुङमा ठूलो रकम खर्च गरेर आयोजनाको बाँकी काममा ढिलासुस्ती गर्ने हो भने राज्यलाई आर्थिक भार मात्र पर्छ। त्यो रकम बैंकमा राखेको भए पनि ठूलो ब्याज आउन सक्थ्यो।’

    आयोजनाको बाँध बनाउँदा ३० रोपनी जमिन अधिग्रहण गर्नुपर्ने देखिए पनि अधिग्रहण प्रक्रिया सुरु भएको छैन। आयोजना प्रमुख बस्नेत सुरुङ मार्ग निर्माण छिटो भएकाले बाँकी काम ढिलाइ भएजस्तो देखिएको बताउँछन्। उनले भने, ‘बाँधको निर्माण र जग्गा अधिग्रहणको काम कार्ययोजनाअनुसार हुँदैछ। सुरुङ निर्माणको काम मात्र छिटो भएको हो।’ उनले आयोजना सही तरिकाले अघि बढिरहेको दाबी गरे।

    मन्त्रालयका एक उच्च अधिकारी आयोजनाले बाँध निर्माण गर्न अझै विस्तृत अध्ययन प्रतिवेदन तयार नपारेको बताउँछन्। ‘भेरी नदी साँघुरो भएकाले नयाँ प्रविधि प्रयोग गर्नुपर्छ,’ ती अधिकारीले भने, ‘बाँध निर्माणको डिपिआर तयार पारी काम सक्न कम्तीमा चार÷पाँच वर्ष लाग्ने देखिन्छ।’ भेरी नदीको पानी बबईमा मिसाएर खेतीयोग्य जमिनका लागि सिँचाइ र विद्युत् उत्पादन गर्न सकिने भन्दै सन् १९८० मा जापानको नियोनकोई कम्पनीले सरकारलाई प्रतिवेदन दिएको थियो। तर, प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भइरहेको छ।

    नयाँ प्रविधि (टिबिएम) प्रयोग गरिएका कारण सुरुङ खन्ने काम तीव्र रूपमा भइरहे पनि अन्य काम भने ज्यादै सुस्त गतिमा भइरहेको छ। बाँध निर्माणस्थलमा रहेका रूख कटान गरिएको छैन। त्यस्तै अधिग्रहणको निर्णय पनि हुन सकेको छैन। जग्गा अधिग्रहण गर्ने र जग्गाको मूल्य मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ।

    -नागरिक