पर्वत, ११ जेठ-बिद्युत, सिंचाइ र जलयातयात समेत सञ्चालन गर्न सकिने जलासययुक्त कालीगण्डकी बहुद्देश्यीय परियोजना अघि बढाउन सरकार र लगानीबोर्ड संग लबिङ्ग तीब्र पारिएको छ । परियोजनाबाट प्रत्यक्ष लाभ लिने पर्वत, बागलुङ्ग र गुल्मीका जनप्रतिनिधी र स्थानिय तहका प्रमुहरुले यो परियोजना अघि बढाउन सरकार र लगानीबोर्ड संग लबिङ्ग तीब्र बनाएका हुन । सबैभन्दा गहिरो खाँेच भएर बग्ने कालीगण्डकी नदीमा जलासय युक्त परियोजना बनाउन सस्तो पर्ने र बहुउपयोग गर्न सकिन्छ । पर्वतको फलेबास नगरपालिकाको संयोजनमा कालीगण्डकी किनारमा रहेका पर्वतको फलेबास र कुस्मा नगरपालिका, बिहादी गाउँपालिका, बागलुङ्गको जैमिनी नगरपालिका र गुल्मीका कालीगण्डकी गाउँपालिकाले संस्थागत निर्णय गरेर परियोजना अघि बढाउन उर्जा मन्त्रालय र लगानी बोर्डमा प्रस्ताब पेश गरेका छन्भने पर्वत र बागलुङ्गबाट प्रतिनिधीसभामा निर्वाचित साँसदहरुले अर्थमन्त्रीलाई भेटेर परियोजना अघि बढाउन निबेदन दिएका छन् । पर्वतबाट निर्वाचित साँसद पदम गिरी, बागलुङ्गबाट निर्वाचित साँसदहरु देबेन्द्र पौडेल र डा. सुर्य पाठकले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर परियोजना अघि बढाउन माग गरेका छन्भने फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले उर्जा मन्त्री बर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीलाई स्थानिय तहका निर्णयहरु प्रस्ताबको रुपमा पेश गरेर परियोजना अघि बढाउन आग्रह गरेका छन् ।
कालीगण्डकी बहुउद्देश्यीय परियोजनाबाट कालीगण्डकीको तटिय क्षेत्रको विकास हुनुको यस क्षेत्रको आर्थिक विकासमा सबैभन्दा महत्वपुर्ण भूमिका खेल्ने भएकाले परियोजना अघि बढाउन उपयुक्त भएको जलस्रोत बिज्ञ इश्वरीप्रसाद तिवारीले बताए । नेपाल बिद्युत प्राधिकरणले २०५२ सालमा गरेको प्रारम्भिक अध्ययनका क्रममा कालीगण्डकी बहुउद्देश्यीय परियोजनाबाट १ हजार मेघावाट बिद्युत उत्पादन गर्न सकिन्छ भने कालीगण्डकी किनारका हजारौ हेक्टर फाँटहरुमा सिंचाई सुबिधा दिन सकिन्छ । यसबाहेक जलासयमा झण्डै ७० किलोमिटर क्षेत्रमा जलयातयात सञ्चालन गर्न पनि सकिने अध्ययनबाट देखिएको प्राधिकरणका पुर्ब निर्देशक समेत रहेका तिवारीले जानकारी दिए । ‘यो परियोजना अघि बढाउने हो भने प्रदेश नं ४ र ५ को सम्बृद्धिको पहिलो आधार तयार हुन्छ’ उनले भने ‘सबैभन्दा सस्तो लागत र बहुउपयोगी यो परियोजना सरकारले प्राथमिकतामा राखेर अघि बढाउन जरुरी छ ।’ कालीगण्डकी नदीमा पर्वतको बिहादी गाउँपालिका १ बाच्छा र बिहादी तथा बाग्लुङ्गको जैमुनी नगरपालिका वडा नं. ८ छिस्तीको बिचमा कालीगण्डकी नदीमा १ सय ४५ मिटर अग्लो उच्च बाँध बाँधेर ८ किलोमिटर सुरुङ्गबाट बिहादी गाउँपालिकाको वडा नं ६ गोलाङ्गमा बिद्युत गृह बनाउन सकिन्छ । यसरी जलासययुक्त आयोजनाबाट १ हजार मेघावाट बिद्युत उत्पादन गर्न सकिन्छ । कालीगण्डकी गहिरो खोँच भएर बगेका कारण जलासय ६० किलोमिटर माथि मालढुंगासम्म आइपुगेपनि धेरै जमिन अधिग्रहण गर्नु पर्दैन भने ठुला बस्ती समेत उठाउन पर्दैन । ६० किलोमिटरमा जलयात्रा गराउँदै पर्यटन विकास गर्न सकिन्छ ।
कालीगण्डकीको गहिराईका कारण यसका किनारका फाँटहरुमा सिंचाई पुग्न सकेको छैन । यो परियोजना कार्यान्वयनमा आउँदा सबै फाँटहरुमा सिंचाई पनि उपलब्ध गराउन सकिन्छ । एउटै आयोजनाबाट बिद्युत र सिंचाई आयोजना बनाउँदा लागत मुल्य समेत असाध्यै कम पर्ने हुन्छ । ‘दुई वटा परियोजनाको छुट्टाछुट्टै लागतलाई गणना गर्दा एउटा परियोजना शुन्य लागतमा तयार हुन्छ’ तिवारीले भने ‘बुढी गण्डकीमा धेरै जमिन अधिग्रहण गर्नुपर्ने र अन्य लागत समेत बढी छ तर कालीगण्डकी धेरै सस्तो परियोजना बन्छ’ गण्डकी नदीमा आउने बाढीको ठुलो हिस्सा कालीगण्डकी नदी रहेका कारण यो परियोजनाले नेपाल र भारतमा समेत बाढी नियन्त्रणमा ठुलो सहयोग पु¥याउँछ । कालीगण्डकी बहुउद्देश्यीय परियोजना अघि बढाउन लगानी बोर्डसंग गरिएको छलफलमा यसको सम्भाव्यता अध्यनको लागि वोर्ड तयार रहेको फलेवास नगरकार्यपालिका प्रमुख पदमपाणी शर्माले बताए । फलेबास नगरपालिकामा जनप्रतिनिधी आएपछि पहिलो परिषदबाट परियोजना अघि बढाउने, संभाब्यता अध्ययनका लागि बजेट समेत बिनियोजन गर्ने निर्णय गरेको थियो । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षामान पुनले अहिले सञ्चालन भएका आयोजना भन्दा कम लागतमा बढी विद्युत उत्पादन गर्न सकिने र सिंचाई सुबिधा बहुउद्देश्यि परियोजना भएकोले सरकार समेत यो परियोजना अघि बढाउन सहमत भएको प्रमुख शर्माले जानकारी दिए । प्रतिनिधीसभाका सदस्य पदम गिरीले ठूलो जलविद्युत सञ्चालन गर्दा देशको उर्जा संकट पनि न्यून हुने भएकाले आफूहरुले उक्त आयोजना कार्यान्वयनको महत्वका बारेमा अर्थ मन्त्रालयमा बिफ्रिङ गरेको बताउँदै मन्त्री आगामी बजेटमा परियोजनाको संभाब्यता अध्ययनका लागि बजेट बिनियोजन गर्न तयार रहेको जानकारी दिए ।
-जन मंच