तनहुँ जलविद्युतको ठेकेदार छनोट

काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ
जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनीहरु छनोट
गरेको छ । आयोजनाको नदी फर्काउने, बा“ध लगायतका पहिलो प्याकेजका संरचना
निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट
भएको छ । कम्पनीसँग रु.२० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य
अभिबृद्धि करसहित)मा खरिद सम्झौता हुने छ ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा
इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो
प्याकेजका काम गर्न सबैभन्दा कम बोलकबोल गर्ने चिनिया“ कम्पनी सिनो
हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ । कम्पनीसँग ११ करोड ४१ लाख ८९
हजार अमेरिकी डलर तथा रु ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिबृद्धि कर
बाहेक)मा खरिद सम्झौता हुने छ ।
तनहुँ हाइड्रोपावर लिमिटेडले गत ७ साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी
छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि
आउन पत्राचार गरेको छ । दुवै कम्पनीले ८ साउनमा पत्र बुझिसकेका छन् ।
पत्र बुझेको २८ दिनभित्र कम्पनीहरुले कार्यसम्पादन जमानत सहित खरिद
सम्झौताका लागि आउनु पर्ने तनहुँ हाइड्रो पावर लिमिटेडका प्रवन्ध–सञ्चालक
प्रदिप कुमार थिकेले बताउनु भयो । ‘खरिद सम्झौता भएको दुई महिनापछि काम
सुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य
लिइएको छ,’उहाँले भन्नु भयो ।
तनहुँ हाइड्रोपावर लिमिटेडले १९ माघ २०७३मा पहिलो र दोस्रो प्याकेज
निर्माणका लागि पूर्व योग्यतामा छनौट भएका कम्पनीहरुलाई बोलपत्र प्रस्ताव
पेश गर्न आहन गरेको थियो । पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा
छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व
योग्यतामा छनोट भएका ३ वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका
थिए ।
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२०
केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि
२८ असारमा बोलपत्र आहन गरिएको छ । नेपाल विद्युत प्राधिकरण र तनहुँ
हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।
आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख(प्रशारण लाईन, ग्रामिण
विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एसियाली
विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग
नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक
(ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत
प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन
गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण
सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच
सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।