जिएमआरले लगानी जुटाउन नसकेपछि म्याद थपको माग

    274

    काठमाडौं – बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको जिएमआरले आगामी असोज ३ भित्र लगानी जुटाउन नसक्ने भएपछि पुनः म्याद थपका लागि लगानी बोर्डमा आवेदन दिएको छ।

    जिएमआरले लगानी जुटाउन नसकेपछि पुनः म्याद थपिदिन निवेदन दिएको लगानी बोर्डका एक उच्च अधिकारीले नागरिकलाई बताए । ‘जिएमआरले दिएको समयभित्र लगानी जुटाउन नसकेपछि म्याद थपको माग गरेको छ,’ उनले भने, ‘उसले दिएको निवेदन आगामी बोर्ड बैठकमा पेस हुन्छ र बैठकले उचित निर्णय गर्नेछ।’

    बोर्डको बैठक यही महिनाभित्रै बस्ने तयारी छ । बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक बस्न सकेको छैन। ‘उहाँ (प्रधानमन्त्री) को समय मिलाएर बैठक बस्छ। जिएमआरले दिएको निवेदन तथा अन्य विषयमा निर्णय हुन्छ,’ बोर्डका ती उच्च अधिकारीले भने, ‘म्याद थप हुने, नहुने निर्णय बैठकले गर्नेछ।’

    बोर्ड बैठकले वर्तमान कानुन र आयोजना विकास सम्झौता (पिडिए) मा भएको व्यवस्था समेतलाई आधार मानेर म्याद थप गर्ने वा नगर्ने निर्णय गर्ने भएको छ । बोर्डका एक उच्च अधिकारीले भने, ‘बोर्ड बैठकले जे निर्णय गर्छ, त्यही हुन्छ। अहिले नै म्याद थप हुन्छ वा हुँदैन भनेर ठोकुवा गर्न सकिँदैन । बोर्ड बैठक नबसी टुंगो लाग्ने अवस्था छैन।’

    बोर्डले कानुन र पिडिएमा भएको प्रावधान बैठकलाई जानकारी गराउनेछ। केही महिनाअघि मात्रै सरकारले आयोजनालाई वनको जग्गा उपलब्ध गराएको थियो।

    करिब चार वर्ष हुँदा पनि जिएमआरले नौ सय मेगावाटको माथिल्लो कर्णाली बनाउन लगानी जुटाउन सकेको छैन । आगामी असोज ३ गते उसले लगानी जुटाउन पाएको थप समय सकिँदैछ। यसअघि पनि लगानी जुटाउन नसकेको भन्दै म्याद थपका लागि बोर्डमा निवेदन दिएको थियो।

    बोर्डसँग भएको आयोजना विकास सम्झौता (पिडिए) अनुसार जिएमआरले आगामी सन् २०२१ को अन्त्यमा सम्पन्न गरी सन् २०४६ मा सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ।

    जिएमआर र बोर्डबीच सन् २०१४ मा भएको पिडिए अनुसार गत असोज २ गतेसम्म माथिल्लो कर्णालीका लागि लगानी जुटाउनुपर्ने थियो। तर, त्यो अवधिसम्म लगानी जुटाउन नसकेपछि थप एक वर्षसम्म लगानी जुटाउन समय दिइएको थियो।

    जिएमआरले लगानी जुटाउन नसके पनि जग्गा अधिग्रहणका लागि रकम वितरणको काम सुरु गरेको छ। निजी जग्गा खरिदका लागि प्रतिरोपनी आठ लाख ९५ हजार रुपैयाँ मुआब्जा निर्धारण गरी वितरण थालेको हो।

    सुरुमा एक खर्ब १५ अर्ब रुपैयाँ अनुमानित लागत तय गरे पनि आयोजनाको काममा भएको ढिलाइले लागत बढेर एक खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । जिएमआरले नेपाललाई १२ प्रतिशत बिजुली (१०८ मेगावाट) निःशुल्क दिएपछि बाँकी रहेको पाँच सय मेगावाट बिजुली बेच्न बंगलादेश सरकार र तीन सय मेगावाट बिजुली बिक्रीका लागि भारतको एनभिभिएन विद्युत् व्यापार कम्पनीसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ।

    आयोजना प्रभावितका लागि पुनर्बास र पुनस्र्थापन (आरएपी) कार्यक्रम तयार भएको छ। आयोजना बनाउन ७० प्रतिशत ऋण र बाँकी ३० प्रतिशत स्वपुँजी परिचालन हुने गरी लगानी संरचना तयार गरिएको छ।

    जिएमआरले प्रतिस्पर्धाबाट सन् २००८ मा माथिल्लो कर्णाली आयोजना निर्माण गर्न ऊर्जा मन्त्रालयबाट लाइसेन्स पाएको थियो। आयोजना निर्माणबाट सुर्खेत, दैलेख र अछाम जिल्ला प्रभावित हुनेछन्। आयोजना निर्माणले गति लिए निर्माण अवधिभर पाँच हजारजनाले प्रत्यक्ष रोजगारी पाउने र चार लाख मेट्रिक टन सिमेन्ट तथा ४७ हजार मेट्रिक टन स्टिलले बजार पाउने जिएमआरको भनाइ छ।

     

    -नागरिक