जलविद्युत्ले उकास्यो जीवनस्तर

    195

    फाल्गुन २१, २०७३- मुलुककै ठूलो जलविद्युत् आयोजना कालीगण्डकी ‘ए’ निर्माणका लागि २०४५ मा सर्भे हुँदा श्रीकृष्णगण्डकी ३ का दयाराम पाण्डे ४१ वर्षका थिए । हेर्दै डरलाग्दो, कोप्चे र साँघुरो ठाउँमा आयोजना बन्ला भन्ने उनलाई रत्ति विश्वास थिएन । नेपाली कर्मचारीसँगै विदेशी प्राविधिक भीरपाखा छिचोल्दै आयोजनास्थलमा पुगेको देख्दा उनी अचेल दंग पर्छन् ।

    ‘त्यतिबेला न सडक थियो न अन्य कुनै सुविधा । भीरको बाटो हुँदै यात्रा गर्नुपथ्र्यो,’ उनले सम्झिए । कालीगण्डकीको छाल देखेका उनलाई अहिले पनि उक्त दृश्यको झल्को आउँछ । जिल्लाको विकट गाविसमा पर्ने श्रीकृष्णगण्डकीका स्थानीयले कुनै सुविधा उपयोग गर्न पाएका थिएनन् । ‘निकै पछाडि परेको गाउँमा यति छिट्टै विकासले फड्को मार्ला भन्ने सोचेको थिइनँ,’ उनले भने ।

    विश्व बैंकको ऋण सहयोगमा विद्युत् प्राधिकरणलगायत हाइड्रोविज्ञहरूले मिर्मीदेखि सेतीवेणीसम्म सर्भे गरेर आयोजनाका लागि उपयुक्त ठहर गरेपछि क्रमिक परिवर्तन देखा पर्न थालेको हो । सर्भेपछि सरकारले २०४८ मा भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो । श्रीकृष्णगण्डकी ८ मिर्मीमा कालीगण्डकी नदी थुनेर ड्याम बनाउने र उक्त गाविसको वडा ३ को बेलटारीमा विद्युत् उत्पादन गृह बनाउन सर्भे भएको थियो । यसलगत्तै निर्माण कार्य सुरु भएको थियो ।

    कालीगण्डकीकै त्रासमा बाँच्नुपर्ने पीडा र भारतमा मजदुरी गर्न नगए बिहान–बेलुका हातमुख जोर्न पनि धौ–धौ हुने यहाँका बासिन्दाको कहालीलाग्दो दैनिकीमा बिस्तारै परिवर्तन आउन थाल्यो । स्थानीय आयोजनाको काममा व्यस्त भए । ‘आयोजना निर्माण सुरु हुँदा मैले पनि मजदुरी गरें,’ पाण्डेले भने, ‘खेतीपाती गर्ने ठाउँ थिएन । आयआर्जनका लागि भारत पलायन हुनुपथ्र्याे ।’ त्यतिबेला जायजेथा बिक्री होला र राम्रो मुआब्जा आउला भन्ने विश्वास थिएन । घाँस काट्न जान पनि अप्ठ्यारो भीरको जग्गा अधिग्रहण गरेबापत आयोजनाले उनलाई साढे १७ लाख रुपैयाँ मुआब्जा दियो । निर्माणपछि पनि उनी त्यहाँ काम गर्दै आएका छन् ।

    आयोजनाकै कारण यहाँका स्थानीयले रोजगारी पाएका छन् । आयोजनाको निर्माणसँगै गाउँमा बिजुली, मोटरबाटो, शिक्षा, स्वास्थ्य, व्यापार–व्यवसायमा प्रगति भएको मिर्मी आँधीमुहानका चन्द्रबहादुर रानाले बताए । ‘विकास, व्यापार व्यवसाय, शिक्षा, रोजगारी भन्ने केही थाहा थिएन,’ उनले भने, ‘जिल्ला सदरमुकाम पुग्न नै सात दिन लाग्थ्यो ।’ आयोजनाका कारण बाटो र खानेपानी सहज भएपछि निजी तथा सरकारी विद्यालय, क्याम्पस र वित्तीय संघसंस्था बिस्तारै खुल्दै गए । आन्तरिक तथा बाह्य पर्यटक पनि आउन थाले । स्थानीय लोकेन्द्र थापामगर आयोजना निर्माण हुने भएपछि स्थानीयले नसोचेको मुआब्जा पाएको बताउँछन् । पहाडको झिटिझाम्टो आयोजनाले किनेपछि तराईमा जग्गा, घर किन्ने र बसाइँ सर्ने क्रम पनि बढेको छ ।

    कालीगण्डकीको ड्यामले गुल्मीको हर्मीचौर गाविसको पाखो पनि ओगटेको छ । श्रीकृष्णगण्डकी, जगत्रदेवी, मालुंगा, हुनीबोट, निबुवाखर्क, पिंडीखोला, पाल्पाको यमगाउँ, गुल्मीको अर्वेनी, हर्मिचौर र पर्वतको शालिग्राम गाविस आयोजना प्रभावित क्षेत्रमा पर्छन् । आयोजनामा कुल रोजगारीमध्ये ९० प्रतिशत स्थानीयले पाएका छन् । आयोजनाका प्रमुख राजेश पाण्डेका अनुसार १ सय २३ जना कर्मचारीमध्ये १ सय १ स्थानीय नै छन् । कालीगण्डकी आयोजनाबाट उत्पादित विद्युत् सीधै लेखनाथ र बुटवल आयोजनामा पठाइने उनले बताए । फुल फेजमा १ सय ४४ मेगावाट विद्युत् उत्पादन हुने कालीगण्डकी आयोजना मुलुककै ठूलो आयोजना हो ।

    २०५८ चैत २ देखि विद्युत् उत्पादन सुरु गरेको यो आयोजनाले ३ हजार रोपनी क्षेत्रफल ओगटेको छ । आयोजनाको ड्याम वरपर बसोबास जोखिमपूर्ण ठहर भएकाले स्थानीय बोटे समुदायलाई स्थानान्तरण गरी नयाँ ठाउँमा घर बनाइदिन १ करोड रुपैयाँको टेन्डर हालिएको जानकारी प्रमुख पाण्डेले दिए । ‘पहिले माछा मारेर जीविकोपार्जन गर्ने बोटे समुदायका धेरै जना आयोजनामा नै कार्यरत छन्,’ उनले भने ।

    स्रोत:कान्तिपुर