कार्तिक १८, २०७४-सात वर्षदेखि बन्द सुनसरीको बराहस्थित चतरा जल विद्युत् केन्द्र पुन: सञ्चालनमा आउने भएको छ । केन्द्रका अनुसार मर्मत कार्य अन्तिम चरणमा पुगेकाले कात्तिकको अन्तिम सातादेखि सञ्चालनमा आउने भएको हो ।
सप्तकोसी नदीको पानीबाट सञ्चालित यो एक मात्र विद्युत् केन्द्र यान्त्रिक गढबडीका कारण बन्द थियो । केन्द्रका १.६ मेगावाटका दरले विद्युत् उत्पादन गर्ने दुवै युनिटहरू पूर्ण रूपमा ठप्प थिए । यो केन्द्रको दुई नम्बर युनिटको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । कात्तिकको अन्तिम सातादेखि उक्त युनिट सञ्चालनमा आउने केन्द्रका सहायक इन्जिनियर हरिसुन्दर माझीले बताए । उक्त केन्द्रको दुवै युनिटबाट धरान र उदयपुरको केही भागमा समेत विद्युत् आपूर्ति हुँदै आएको थियो ।
एक जर्मन कम्पनीद्वारा निर्मित यो केन्द्रको युनिट नम्बर दुईचाहिँ रबरको सिल बिग्रेर ०६७ भदौदेखि बन्द भएको थियो । यसपछि नहरको क्षमता र किसानको मागअनुरूप सिँचाइका लागि पानी दिनलाई युनिट नम्बर एककै भर पर्नुपरेको उनले बताए । यो एक नम्बर युनिटमा पर्याप्त पार्टपुर्जा नभएकाले दुईको प्रयोग गरेर चलाएको माझीले जनाए । सम्पूर्ण यान्त्रिक सामग्री सकिएपछि ०७१ भदौदेखि युनिट नम्बर एक पनि बन्द भएको थियो ।
दुई नम्बर युनिटको सञ्चालनलगत्तै अर्कोको मर्मत प्रक्रिया अघि बढाइने केन्द्रले जानकारी दिएको छ । नहरमा पर्याप्त पानी भएको बेला एक युनिटबाट मात्रै १ हजार ६ सय र अन्य बेला करिब १ हजार २ सय किलोवाट उत्पादन हुन्छ । माझीका अनुसार ८ सय किलोवाटले स्थानीयको माग पूरा हुने र थप उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ‘राष्ट्रिय प्रसारण लाइनमा समेत जोडिने यो केन्द्रले धरानमा भोल्टेजको समस्यालाई सन्तुलन गर्छ,’ माझीले भने ।
पटकपटक टेन्डर गर्दा पनि स्वदेशमा पार्टपुर्जा फेला नपरेर सञ्चालनमा निकै ढिलाइ भएको थियो । उक्त केन्द्रले पार्टपुर्जाको खोजीमा पटकपटक टेन्डर गरे पनि ठेकेदार कम्पनीले ल्याउन सकेनन् । त्यसपछि उक्त केन्द्रले अन्तत: जर्मन कम्पनी एन्ड्रिज हाइड्रोलाई गुहार्यो । भारतमा सम्पर्क कार्यालय रहेको उक्त कम्पनीका प्राविधिक टोलीको निरीक्षणपश्चात् केन्द्र र कम्पनीबीच ४ करोड ८० लाख रुपैयाँमा युनिट नम्बर दुईलाई बनाएर सञ्चालनमा ल्याउने सहमति भएको हो । यन्त्रको पार्ट खोल्ने, नाप लिने र सामान ल्याउनेलगायतको काम सकिएको माझीले बताए । ‘हाल दुई नम्बर युनिटमा जडान काम सुरु भइसकेको छ, यो महिनाको अन्त्यसम्म सञ्चालनमा आउँछ,’ उनले भने । सुनसरी मोरङ सिँचाइ आयोजनाले ०५४ सालमा चतरा नहरमा ३.२ मेगावाट विद्युत् उत्पादन गर्न यो केन्द्र स्थापना गरेको थियो । कोसीको पानी ल्याएर उक्त नहरको निर्माण भएको हो । आयोजनाले ०५६ सालमा सरकारलाई हस्तान्तरण गरेपछि यो विद्युत् प्राधिकरणको स्वामित्वमा गएको हो ।
स्रोत : कान्तिपुर